दार्जिलिङ मोडेल नै फेल भयो

दार्जिलिङ मोडेल नै फेल भयो

दार्जिलिङमा फेरि गोर्खाल्यान्डको आन्दोलन सुरु भयो । सन् १९८० को दशकमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीएनएलएफ) ले भीषण आन्दोलन सुरु गरेको थियो । लगभग तीन वर्षको आन्दोलनपछि सन् १९८८ मा भारत सरकार, पश्चिम बंगाल सरकार र जीएनएलएफबीचको त्रिपक्षीय सम्झौतापछि दार्जिलिङलाई एउटा स्वायत्त विकास संस्था 'दार्जिलिङ गोर्खा पार्वतीय परिषद्' दिइयो । त्यसपछि आन्दोलन समाप्तिको घोषणा गरियो ।

mahendra-p-lama-(2)जीएनएलएफले लगभग दुई दशक नै परिषद् चलायो । केही गतिलो विकास भएन । दार्जिलिङका संस्थाहरू एकएक गरी भत्काइए । अंग्रेजले बनाएका र छोडेर गएका विकास र प्रशासनिक प्रणालीसँगसँगै भारत स्वतन्त्र भएपछि लागू गराइएका नियम-कानुन सबै उजाड भएर गए । आन्दोलन सकेर पनि हत्या-हिंसा सकेन । अनेकौं मान्छेहरू हत्याका सिकार भए, प्रायः सबै पहाडवासी र गोर्खाहरू नै ।

बंगाल सरकारले सम्पूर्ण विकासको अभिभारा जीएनएलएफलाई दियो, तर अभिभारासँगै दिनुपर्ने विकास कोष, साधन, संस्था, प्रशासनिक स्वायत्तता र नियम-कानुनचाहिँ आफूसँगै राख्यो । सम्पूर्ण विभागहरू हस्तान्तरण गर्दै लामो सूची जारी गर्‍यो, तर विभाग नै दिएन । सरकारी विभागले गर्ने कतिपय कामकाजचाहिँ स्वायत्तताको नाममा दागोपापलाई दिइटोपल्यो । दागोपापका नेताले कहिल्यै सरकारी संस्था चलाएको थिएन । अलिकति केही पाउँदा पनि खुसी भएर केही ठूलो कुरो पाएजस्तै बाहिर देखायो र हल्ला पिट्यो । बंगाल सरकार यही चाहन्थ्यो, विकास र फोस्रो स्वायत्तताको नाममा गोर्खाल्यान्डको माग सदैवको लागि स्वाहा पार्न ।

बंगाल सरकारले अचम्मको नै काम गर्‍यो । पहिलो- गोर्खाल्यान्ड आन्दोलनलाई राष्ट्रविरोधीको नामकरण गरिदियो । दोस्रो- पहाड क्षेत्रमा सुरक्षा दलहरू पठाई भयानक रूपमा मानवअधिकार हनन गर्‍यो । तेस्रो- कसरी हुन्छ गोर्खाहरूलाई विदेशीको डोकोमा हाल्ने कोसिस गर्‍योे र अन्त्यतिर समाधानको रूपमा खोक्रो दागोपाप दिएर सबैको मुख नै बुच्चाइदियो । जीएनएलएफका नेताहरू राजासरह नै भए अनि अलिकति पाएको विकास कोष पनि दुरुपयोग गरी कमान बस्ती, भीर, पखेरा, गाउँघर, समुदाय समाजलाई उजाड बनाइदिए ।

पश्चिम बंगाल सरकार दार्जिलिङ-डुबर्सको विकासको निम्ति साँच्चै प्रतिबद्ध र कटिबद्ध छन् भने अब टुक्रे विकासको सोच राजनीतिक लुछाचुँडीको चालबाज र दिएको जस्तो मात्रै गर्ने प्रवृत्ति त्याग्नुपर्छ ।

त्यति मात्रै कहाँ हो र, पहाडबाट त्रिस्तरीय पञ्चायती व्यवस्थासमेत जरैबाट उखेलेर फ्याँकिदिए । उता बंगाल सरकारले सिलिगुडी, एउटा जाबो महकुमालाई सम्पूर्ण जिल्ला पञ्चायतले पाउने विकास कोष र प्रशासनिक क्षमता प्रदान गर्‍यो । जीएनएलएफले अर्को ठूलो भूल के गर्‍यो भने डुबर्स र मधेस क्षेत्रलाई आन्दोलनभरि हतियार नै बनाए पनि त्रिपक्षीय सम्झौता केवल दार्जिलिङ पहाडका तीन महकुमामा दागोपाप सीमित राखिदियो । गोर्खाल्यान्डको मानचित्र यसरी एकै खेपमा घटेर आधाभन्दा पनि कम भयो । बंगाललाई भविष्यको आन्दोलन दबाउन यसरी बाटो खोलिदियो ।

दागोपापले के गर्ने ? न पैसा, न कोही ठूलो सोच्ने व्यक्ति, न संस्थाहरू, न अनुभव भएका राजनीतिज्ञ, न विकास योजना, न कुनै दूरदर्शी सोच । केही थिएन दुई दशकसम्म । बंगालले अस्पताल दियो, तर अस्पताल चलाउने प्रमुख अधिकारी आफूसँगै राख्यो । पर्यटन विभाग दियो, तर पैसा आउने पर्यटन निगम आफूसँगै राख्यो । जंगल विभाग दियो, तर बनजंगल आफूसँगै राख्यो । अधकल्चो नै बनाइदियो, दागोपाप र यसलाई चलाउने व्यक्तिहरूलाई ।

दागोपाप एउटा म्युनिसिपलिटी जस्तै भयो । पछिपछि त दागोपापको निम्ति चुनाव पनि हुन छोड्यो । गोर्खा नेताहरू आधारहीन भए । विकास पनि भएन, गोर्खाल्यान्ड पनि पाएन । अब के गर्ने ?यही सन्दर्भ र स्थितिमा गोर्खाल्यान्ड परित्याग गरी नेताहरूले संविधानको छैटौं अनुसूची दार्जिलिङमा पनि लागू गरिनुपर्छ भनी माग उठाउन थाले ।

उत्तरपूर्वी क्षेत्रका जनजाति क्षेत्रहरूमा अंग्रेज सरकारको समयदेखि नै विशेष प्रकारका प्रावधानहरू राखी एउटा छुट्टै प्रशासनिक व्यवस्था लागू गरिएको थियो । पछि भारत स्वतन्त्र भएपछि पनि यस व्यवस्थालाई कायम राखियो । यस संवैधानिक प्रावधानको सबैभन्दा आकर्षण नै यस प्रावधानभित्र पसेका जनजाति क्षेत्रहरूलाई संवैधानिक र भारत सरकारको प्रत्यक्ष रूपमा सुरक्षा र विकास कोष प्राप्त हुँदैछ ।

दागोपाप संविधानभित्र कहिल्यै पसेन । बंगाल सरकारले एउटा जाबो गेजेट नोटिफिकेसनद्वारा स्थापित गरिएको दागोपापलाई बंगाल सरकारले जहिले चाहे पनि भंग गर्नसक्ने थियो । यसैको भयले दागोपापका नेताले बंगाल सरकारसँग दुई दशकसम्म टक्कर नै लिएन । बंगाल सरकारले जे भन्यो, त्यही मान्यो । बंगाल सरकारले पनि नेतालाई खल्तीमा राखेपछि जनता त जतासुकै गए पनि भो ।

गोरामुमोका नेताले छैटौं अनुसूचीमा दागोपापलाई हाल्न बंगाल, भारत सरकार र आफू मिली अर्को सम्झौतामा हस्ताक्षर गरे । तर जनताले जब यस हस्ताक्षर गरेको दस्ताबेजको कापी पाए, जनता रिसले चुर भए । व्यापक परिचर्चा भयो यो विषयमा । कारण यस सम्झौतामा केही ठोस कुरो थिएन । दार्जिलिङलाई भीरको चिन्डो बनाउने अर्को जमर्को गरियो ।

गोर्खाल्यान्ड छुट्टै राज्यको मागलाई अझै एकदुई दशक टार्ने यो एउटा खेल नै थियो । यसले गोर्खा नेतालाई नेताको रूपमा बचाइराख्ने र बंगाल सरकार पनि शान्तिमा डुबिरहन सक्ने एउटा मञ्च तयार मात्रै गर्ने थियो । घनघोर विरोध गरियो यो सम्झौताको भारतीय संसद्मा । यस विषयमा ल्याइएको बिललाई एउटा विशेष संसदीय समितिलाई फेरि जाँच गर्न दिइयो । न फेरि त्यो बिल संसद्मा वापस आयो, न नेता नै दार्जिलिङमा रहन सक्यो, न बंगाल सरकारले नै केही पाइला अघि सार्‍यो । सबै चुप बसे नेता । लगभग दुई दशकपछि दार्जिलिङबाट भाग्नुपर्‍यो ।

यही थियो दार्जिलिङ मोडेल फेल भएको पहिलो उदाहरण । अभाग्यवश दुई दशकसम्म साधारण मान्छेको भविष्यसँग खेलेपछि मात्रै यो मोडेल फेल भएको घोषणा गरियो । दागोपापको अन्त्य यसरी भयो । मान्छे मारिए, घर, सन्तान, समुदाय, समाज सबै भत्कियो । चियाबारी, कुलैनबारी सुकेर गए, युवा पुस्ता नै दिशाहीन भयो र पहाडकी रानी दार्जिलिङ लथालिंगै भए ।

दागोपाप थाप्ने, चलाउने र मुजा गर्नेहरू भाले बास्दा भूतप्रोत भागे झैं कहाँ, कता, कुनातिर उछिटिए र लुक्न गए । गोर्खाल्यान्ड आन्दोलनको निम्ति यसरी दोस्रो अध्यायको बिहानी भयो । अर्को राजनीतिक दल आयो । नेताले गोर्खाल्यान्ड ल्याउन सकिनँ भने गोली ठोकेर मर्छु भने । दिनांक र वर्षसम्म तोक्यो । गोर्खाहरू फेरि आन्दोलनमा उत्रिए । कतिपय हामीले चर्चा पनि गर्‍यौं । जीएनएलएफको गोर्खाल्यान्ड आन्दोलनले आफूले केही नपाए पनि झारखण्ड, उत्तराखण्ड र छत्तीसगढ जस्ता तीनतीनवटा राज्यहरू भारतमा जन्मिए, यो नयाँ आन्दोलनले केही पनि नल्याए पनि अर्को ठाउँमा अर्को राज्य त जन्माउला ।

नभन्दै यो नयाँ पार्टी गोर्खा जनमुक्ति मोर्चाले सन् २००७ मा आन्दोलन सुरु गरी सन् २०१२ मा फेरि अर्को त्रिपक्षीय सम्झौता गरी 'गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) थाप्यो । गोर्खाल्यान्ड राज्य फेरि पाएन तर अर्को राज्य तल दक्षिणमा तेलेंगना भने बन्न गयो । अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैं राम्रोसँग आन्दोलनलाई हातेमालो नै नगरी जीटीए थापियो । किनकि बंगाल सरकार गर्जन थाल्यो, अर्को बंगाल सरकार आउने भयो, उसले त गोर्खाल्यान्डको नामसमेत सुन्न नमान्ने भयो । बंगालमा नयाँ मुख्यमन्त्री आए । दार्जिलिङ फेरि शान्त भो ।

जीटीए त हेलिकप्टरभित्र ट्र्याक्टरको इन्जिन लगाएजस्तै भयो । सुरुमा नै चलेन । कहिल्यै जाती नै नहुने गाढेघाउ लागेको हातखुट्टा, ज्वरोले व्याप्त फोक्सो र नशाले विक्षिप्त आँखा र शिर भएको व्यक्ति र संस्था नै भयो जीटीए । दागोपापले 'गोर्खा' शब्द जोड्यो परिषद्मा र गोजुमुमोले 'गोर्खा ल्यान्ड' शब्द जोड्यो एडमिनिस्ट्रेसनअघि । एउटा पार्टीले गोर्खा ल्यायो, अर्को पार्टीले गोर्खाल्यान्ड ल्यायो । तर संविधान र भारतीय संसद्ले दिने छुट्टै राज्य भने दुवै पार्टीेले आधा बाटोमा नै माटो खनी दबाएर राखिदिए ।

कसरी चल्ने जीटीए । दागोपाप चलाउँदा बंगाल सरकारले गोर्खा नेताहरूको आन्द्राभुँडी सबै केलाए, शिर र मुटु दुइटै खोतलेर दिसा र सोेचसम्म थाहा पायो । त जीटीएका पनि त्यस्तै नेता, त्यस्तै पार्टीले त मागेको हो भनी दागोपापले पाएको स्वायत्ततासमेत खोीयो । खुट्टा दियो, औंला कति दियो, आँखा दियो, दृष्टि बन्द गरिदियो । मुटु दियो, धड्कन रोकिदियो । बंगाल सरकारले जीटीएको अधोगति बनाइदियो, र चलाउने व्यक्तिहरूलाई देउराली डाँडामा बाँसमा अल्झिएको ध्वजा नै बनाइदियो ।

यति मात्रै कहाँ हो र, गोर्खाहरूलाई गोर्खाले नै भत्काउनुपर्छ भन्ने मन्त्र बंगाल सरकारले अघि ल्यायो । नयाँ नेता जन्माइदियो, पुरानो नेतालाई फेरि पैसाको प्रलोभनमा चुर्लम्म डुबाइदियो । 'आफ्नो जाति भत्काऊ' अभियानअन्तर्गत कहिल्यै नसोचेको जात र जातिगत विकास बोर्ड फटाफट बनाइदियो । हिजो गोर्खा थियो आज तामाङ, राई, शेर्पा, गुरुङ, क्षेत्री भए । हिजो एउटै थलोमा थिए, आज लेप्चा, भोटे बनाइदियो । सबैलाई मुछेर विकासको नाममा दक्षिणा दियो । विकासको भोक र सरसुविधा नपाएर तिर्खाएका पहाडबासीहरू केही त पाएँ भन्दै बंगाल सरकारले दिएको बोर्ड थाप्न होडबाजीमा तल्लीन भए । जीटीएको अन्त्य यसरी भयो । केही थिएन जीटीएमा, केवल पैसा थियो, त्यही पनि ढलीमली गर्नेले गाग्रोभरि लुकाए, मरीमरी खानेले एक छाक पनि जुटाउन सकेन ।

दार्जिलिङ मोडेल दोस्रोपटक फेल भयो । अब सायद तेस्रोपटक मोडेल खोजिँदैछ । यसरी समाप्त हुन्छ दुई÷तीन पुस्ता दार्जिलिङमा । यसरी दबाइन्छ छुट्टै राज्यको आवाज बंगालमा अनि यसरी घोलिन्छ गोर्खाहरूको चिनारी त्यो फोहोर राजनीतिक भुमरीमा ।अब के गर्ने ? तेस्रो मोडेलको किन कुरा र चर्चा गर्ने ? अब एकैसँग तेस्रो, चौथो, पाँचौं र छैटौं मोडेल फ्याँक्नुपर्छ दार्जिलिङमा । जनताको भविष्य बचाउन, भारतीय गोर्खाहरूको राष्ट्रिय चिनारी कायम राख्न र छुट्टै राज्यको अन्तिम मागलाई अन्तिम टुंगोमा पुर्‍याउन ।

तेस्रो मोडेल हो छुट्टै राज्य, गोर्खा, बंगाली, मारबाडी, कोचेमेचे, भोटे, लाप्चे, बिहारी, मुसलमान, क्रिस्तान, दार्जिलिङ र डुबर्समा बसोबास गरेका सबैका लागि । जिल्लाको भूभाग अझै ठूलो गर्न इस्लामपुर र चोपडासमेतलाई ल्याइनुपर्छ । कारण यी दुवै क्षेत्र दार्जिलिङ संसदीय क्षेत्रमा पर्छन् । एक सय २० वर्षभन्दा पुरानो यो छुट्टै राज्यको मागमा विकास, चिनारी, राष्ट्रिय सुरक्षा, संस्कृति, इतिहास, स्वतन्त्रता संग्राम, प्राकृतिक सम्पदा सबैसबै जोडिएका छन् । केवल मागको इतिहासको सन्दर्भमा मात्रै पनि दार्जिलिङ, डुबर्स छुट्टै राज्य हुनुपर्ने हो । तीसौं राज्य भारतीय संविधानमा यही क्षेत्र नै हुनुपर्छ । यसले एउटा सांस्कृतिक, राजनीतिक, राष्ट्रिय सुरक्षासित सम्बन्धित समस्यालाई दीर्घकालीन समाधान दिनेछ ।

छुट्टै राज्य हुनुमा समय नपाकेसम्म दार्जिलिङ -डुबर्सलाई केन्द्रशासित प्रदेशको (युनियन टेरिटोरी) को दर्जा दिनुपर्छ र भारत सरकारले नै यस प्रदेशलाई प्रशासित र परिचालित गर्नुपर्छ । भोटाङ, नेपाल, बंगलादेश र अलिक माथि चीनसँग सिमाना भएको यो क्षेत्र र भारतको उत्तरपूर्वी क्षेत्रसँग जोडिने साँघुरो बाटो 'चिकन नेक करिडर' मा अवस्थित यस दार्जिलिङ-डुबर्स इलाका अति नै महत्वपूर्ण भौगोलिक स्थितिमा रहिआएको छ । राष्ट्रिय सुरक्षाको दृष्टिकोणले मात्रै पनि यसलाई केन्द्रशासित प्रदेश घोषणा गरिनुपर्छ । केन्द्रले शासन गर्नु भनेको बंगालबाट छुटिनु भनेको होइन, केवल प्रशासन र कानुन केन्द्रको लागू हुनेछ यहाँ । यो चौथो मोडेल हो, त्यहाँ स्थायी शान्ति फर्काउन ।

पाँचौं मोडेल हो अबोप्रान्त दार्जिलिङ र डुबर्सको विकास सीधै भारत सरकारको नीति आयोग (पहिलेको योजना आयोग) ले गर्नुपर्ने । नीति आयोगले नै एउटा विकास बोर्ड बनाई सम्पूर्ण विकासको अभिभारा लिनेछ । यस बोर्डमा दार्जिलिङका संसद् सदस्य, विधानसभा सदस्य, राजनीतिक दलका प्रतिनिधि र विशेष विशेषज्ञ रहनेछन् ।

छैटौं मोडेलमा बंगाल अहं भूमिकामा बाँच्छ । यदि पश्चिम बंगाल सरकार दार्जिलिङ-डुबर्सको विकासको निम्ति साँच्चै प्रतिबद्ध र कटिबद्ध छन् भने अबोप्रान्त अहिलेसम्मका टुक्रे विकासको सोच राजनीतिक लुछाचुँडीको चालबाज र दिएको जस्तो मात्रै गर्ने प्रवृत्ति त्याग्नुपर्छ । बंगाल सरकारले सबैलाई अँगाल्ने, सबैसँग मिल्ने र सबैको कल्याणको लागि दार्जिलिङ-डुबर्स क्षेत्रको निम्ति एउटा अलग्गै विकास आयोग बनाउनुपर्छ ।

विकास आयोगको अध्यक्ष बंगालका मुख्यमन्त्री र उपाध्यक्ष पहाडको व्यक्ति हुनुपर्छ । उपाध्यक्षलाई उपमुख्यमन्त्रीको पद दिनुपर्छ । दार्जिलिङमा स्थापित गरिएको यो आयोगमा चारपाँचजना विकासका विशिष्ट विशेषज्ञहरू हुनुपर्छ । यससँगसँगै दार्जिलिङ, कालिम्पोङ जिल्ला र डुबर्समा त्रिस्तरीय पञ्चायत व्यवस्था हुनुपर्छ । यस आयोगले भारत र विश्वका जानेमाने संस्थाहरू वल्र्ड बैंक, एसियन डेभलपमेन्ट बैंक र विदेशी पुँजी निवेशकर्ताहरूलाई निम्त्याउन सक्नुपर्छ । चियो, बनजंगल, पानी, कुलैनबारी, कृषि, पर्यटनको लागि पर्याप्त विकास कोष अघि राख्नुपर्छ । एउटा सुनियोजित योजना र दूरगामी दृष्टिसँग यस आयोगले काम गर्नुपर्छ । कुनै कुरोको लागि पनि आयोगका सदस्य कलकत्ता जानुनपर्ने हुन्छ । जमिन आदि पनि आयोगको नै छत्रछायामा रहनेछ र रोजगार व्यवस्था पनि आयोगले नै हेर्नेछ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.