निर्वाचन कार्यालय घेर्न गएका १५ राजपा नेता पक्राउ
विराटनगर : विराटनगरको क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न पुगेका राष्ट्रिय जनता पार्टी नेपालका मोरङ जिल्ला संयोजकसहित पन्ध्र जना पक्राउ परेका छन ।
जिल्ला संयोजक मोहम्मद कादिरको नेतृत्वमा निर्वाचन कार्यालय पुगेको राजपा टोलीले स्थानीय निर्वाचनको विरोधमा नारावाजी गर्दै कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेका थिए । प्रहरीले हस्तक्षेप गरी संयोजक कादिरसहित पन्ध्र जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका राजपा नेता तथा कार्यकर्तालाई प्रहरी भ्यानमा राखेर निर्वाचन कार्यालयबाट लगेको थियो । राजपा जिल्ला संयोजक मोहम्मद कादिरले आफूहरुको पूर्वघोषित कार्यक्रमअनुसार आन्दोलन जारी रहेको बताउँदै भन्नुभयो,‘हाम्रो आन्दोलन जारी छ ।
केन्द्रबाट घोषित कार्यक्रमअनुसार संघर्षको मैदानमा खटिई रहने छौं ।’ पक्राउ परेका राजपा कार्यकर्ताले प्रहरी भ्यानभित्रै नारावाजी गरेका थिए ।
राजपाले आह्वान गरेको चार दिने बन्दको प्रभाव भने विराटनगरमा शुक्रबारबाट प्रभाव नै परेको छैन । बजार खुलेका छन । बन्द शैक्षिक संस्था पनि सूचारु भएका छन । तीन दिनसम्म बन्दका कारण विराटनगरको बजार बन्द रहेको थियो ।