'ठूलो माछा मार्ने समय आएको छ'
हाल केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै नेपाल टुर सकेँ । जसमा करिब २० वटा सोहरू थिए । अब एक सातापछि इजरायल, बहराइन, कतार र हङकङको कन्सर्ट छ । त्यसपछि युरोपको तीनमहिने यात्रामा निस्कनेछु।
निक्कै भयो तपाईंको एल्बम नआएको ?
हो, एल्बम ननिकालेको करिब तीन वर्ष भयो । विदेशको कन्र्सटमा म व्यस्त भएकाले तयारी गर्न पाएको छैन । तर यही तीन वर्षमा घुमेको करिब १७ वटा देशबाट मलाई एउटा महत्वपूर्ण कुराको जानकारी भयो । मलाई लाग्छ, अब ठूलो माछा मार्ने समय आएको छ ।
ठूलो माछा भन्नाले ?
अहिलेसम्म हामीले हाम्रा गीतसंगीत केवल नेपाल र नेपालीलाई मात्र लक्षित गर्यौं । तर अब सांगीतिक बजार खोज्न लाग्नुपर्छ । आफ्नो कलालाई महँगो भाउमा बेच्न सक्नुपर्छ । संसारका थुप्रै पप स्टारहरू अन्तर्राष्ट्रिय बजारमा गइसके । यसले आर्थिक, सामाजिक, सांस्कृतिक अनि देशको पहिचानलाई समेत संसारभरि चिनाएको छ।
यसको लागि तपाईंको तयारी ?
म अंग्रेजी एल्बम निकाल्दैछु । बेल्जियमको “विभिविए वमन रेकर्डस्”ले मेरो एल्बमलाई युरोपमा रिलिज गर्दैछ । एल्बमको बजार व्यवस्थापन बेल्जियमबाटै हुनेछ । आशा गर्छु यो एल्बमले नेपाली पपगायकलाई ठूलो बजारमा लग्ने बाटो खुल्नेछ ।
अंग्रेजी एल्बममा कस्ताकस्ता गीतहरू छन् ?
एल्बममा हाम्रै देशका विभिन्न जातजातिका मौलिक गीतसंगीतलाई अंग्रेजी भाषामा गाएको छु । विश्वबजारमा नेपालको प्रतिनिधित्व सही रूपमा हाम्रै सांस्कृतिक पहिचानले मात्र गर्न सक्छ । यसले विश्वबजारमा स्थान पाउने सक्छ ।
र्याफ्टिङ कन्र्सटको चर्चा छ नि ?
मैले र्याफ्टिङ गर्दै कन्र्सट पूरा गरेको छु । जसमा गाउने मात्र नभई हेर्ने र सुन्ने दर्शकसमेत र्याफ्टिङ गर्दै थिए । फिस्लिङदेखि कुरिनटारसम्मको त्रिशूली नदीमा कन्सर्ट भएको थियो । ६ किलोमिटर लामो दूरीमा ४६ मिनेटसम्म भएको सो कन्र्सट विश्वमै पहिलो पटक भएकाले विश्व रेकर्ड कायम भएको छ।
पुस्तक लेखन के हुँदैछ ?
मेरो नयाँ पुस्तक “मेरो विश्व भ्रमण नेपाली पपसँगै” प्रकाशनको तयारीमा छ । यसमा मेरो ३६ वटा देशको सांगीतिक भ्रमणको अनुभव समेटेको छु । पपमा बितेको १५ वर्ष र के हो पपसंगीत ? पछि यो मेरो तेस्रो पुस्तक हो ।
गायक, आर्किटेक्ट, लेक्चरर, लेखक धेरै विधामा क्रियाशील हुनुहुन्छ कसरी समय मिलाउनुहुन्छ ?
समयलाई तालिका बनाएर चल्न सकियो भने म्यानेज गर्न सकिन्छ । बिहान कलेज पढाउँछु । दिउँसो घरको नक्सा कोर्छु । बेलुकीको समय संगीतलाई दिन्छु । पुस्तक लेखन त तीन÷चार वर्षमा हुने कुरा हो ।
बाबु बन्नु भएको छ, कस्तो अनुभव हुँदो रहेछ ?
शब्दले व्यक्त गर्न नसकिने खुसीको अनुभव भइरहेको छ । आफूलाई “म्याच्योर्ड” र “सेक्योर्ड” पनि महसुस गरेको छु । दिनभरिको थकान छोरी “धि-चुङमा” को एकै मुस्कानले भुलाइदिन्छ ।
बुद्ध बाज बोर्न इन् नेपाल अभियान के हुँदैछ ?
अंग्रेजी साहित्यमा एमए दोस्रो वर्षको पाठ्यक्रममा “हिस्ट्री अफ नलेज” पुस्तक थियो । पाना पल्टाउँदै जाँदा “बुद्धिजम्” शीषर्कमा पुगेपछि म छक्क परेँ । पुस्तकमा वुद्धको जन्म भारतको उत्तरी भेगमा भएको भनेर लेखिएको रहेछ । त्यसले मलाई आक्रोशित बनायो । मजस्तै असन्तुष्ट साथीहरूको एउटा समूह बन्यो । त्यसपछि देशभरिका क्याम्पसबाट हस्ताक्षर अभियान सुरु भयो । सुरुमा कलेजका सरहरूले झारा टार्ने काम मात्र गरे । त्यसपछि संघर्ष समिति बनाएर कीर्तिपुरस्थित केन्द्रीय विभागमा गई टेबुल ठटाएपछि मात्र उहाँहरूले गम्भीरतापूर्वक लिनु भयो । हाम्रै दबाबले गर्दा त्यसै साल देखि त्यो पुस्तक पाठ्क्रमबाट हटाइयो ।
यो विषयमा गीत पनि गाउनु भयो है ?
बुद्ध वाज वर्न इन् नेपाल बोलको गीत कम्पोज गरेर गाएँ । जुन अत्यन्त चर्चित भयो । यसलाई अभियानकै रूपमा हालसम्म १७ देशमा यो अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छु ।