नेपाल-भारत नापी बैठक अर्को साता
काठमाडौं: नेपाल-भारत उपसचिवस्तरीय नापी बैठक अर्को साता काठमाडौंमा आयोजना हुने भएको छ। असार ७, ८ र ९ गते आयोजना हुने बैठकमा नेपाल—भारत सीमामा भत्किएका स्तम्भको मर्मत, पुनर्निर्माण तथा नयाँ स्तम्भ निर्माणमा गत ६ महिनायता भएका कामको समीक्षा हुनेछ।
नेपाल-भारतबीच सचिव, सहसचिव र उपसचिवस्तरमा गरी तीनवटा सीमासम्बन्धी समिति छन्। सीमामा देखिएका समस्या समाधान गर्र्नेबारे बैठकमा छलफल हुने नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार कञ्चनपुरको पुनर्वासमा उत्पन्न सीमा विवादका विषयमा अबको बैठकमा छलफल हुनेछ।
बैठकमा भाग लिन भारतीय नापी विभागको निर्देशक नेतृत्वको टोली आउँदै छ। नेपालका तर्फबाट नापीका उपमहानिर्देशकले बैठकमा नेतृत्व गर्नेछन्।
तीन महिनाअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल—भारत सीमामा कल्भर्ट निर्माणबारे उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीका तर्फबाट गोली चल्दा स्थानीय गोविन्द गौतमको निधन भएको थियो।
गत महिना पुनर्वास पुगेर सीमा विवाद समाधान गर्ने प्रयास भएको थियो। तर भारतीय पक्षले नयाँ विवाद झिकेपछि सीमा विवाद समाधान नगरी नापी विभागको टोली काठमाडौं फकिएको थियो। ‘पुनर्वासको सीमा विवादबारे पनि बैठकमा कुराकानी हुनेछ', श्रेष्ठले भन्नुभयो। बैठकमा भारतीय पक्षले सीमा नदीमा आधुनिक जीपीएस जडित सीमास्तम्भ निर्माण गर्न नसकेको विषयमा पनि छलफल हुने भएको छ।
सीमा नदीमा एक हजार चार सयवटा जीपीएसजडित सीमास्तम्भ निर्माण गर्ने र त्यसको खर्च भारतीय पक्षले बेहोर्ने सहमति भएको श्रेष्ठले बताउनुभयो। ‘भारतका तर्फबाट सीमा नदीमा जीपीएस जडित सीमास्तम्भ निर्माणको काम सुरु हुनुपर्ने हो तर भइरहेको छैन। यसबारे पनि बैठकमा कुराकानी हुनेछ', उहाँले भन्नुभयो।
सीमा विवादमा देखिएका समस्या र अवरोधबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो।
झापादेखि सुरु भएको सीमा व्यवस्थापनको काम अहिले दाङ पुगेको छ। स्थानीय तहमा नेपाल र भारतका नापी र गृह प्रशासन सम्मिलित टोलीले काम गरिरहेका छन्। सन् २०१४ जुलाईमा काठमाडौंमा सम्पन्न नेपाल—भारत विदेशमन्त्री संयुक्त आयोगको बैठकपछि कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा हराएका सीमास्तम्भको पहिचान, नयाँ सीमास्तम्भको मर्मत, पुनर्निर्माण र नयाँ स्तम्भ निर्माण तीव्र रूपमा अघि बढेको थियो।
नेपाल र भारतका सीमामा ८ हजार ५ सय ५३ सीमास्तम्भ छन्। सन् २०१४ देखि हालसम्म ४ हजार ७० स्तम्भको अनुगमन भइसकेको छ। यस अवधिमा १ सय १७ वटा सीमास्तम्भमा सेतो रङ लगाउने काम सकिएको विभागले जानकारी दिएको छ।
एक हजार तीन सय ५२ वटा सीमास्तम्भको साधारण मर्मत गरिएको थियो भने ३९ वटाको बृहत्तर मर्मत भएको विभागको भनाइ छ। त्यस्तै ६ सय नयाँ सीमास्तम्भ निर्माण गरिएको थियो। एक सय ८९ वटा सीमा नक्सा यस अवधिमा तयार पारिएको विभागको भनाइ छ। १७ वटा सीमास्तम्भको पुनर्गठन तीन वर्षयता गरिएको विभागले जानकारी दिएको छ।
सन् २०१७ भित्र हराएका सीमास्तम्भको पहिचान, नयाँको मर्मत, पुनर्निर्माण र अन्य स्तम्भ निर्माणको काम सम्पन्न गर्ने गरी नेपाल र भारतले संयुक्त कार्ययोजना बनाए पनि अपेक्षाअनुसार काम हुन सकेको छैन।
‘अब सीमा समितिको समयावधि थपेर बाँकी सीमा व्यवस्थापनाको काम अघि बढ्नेछ', उपमहानिर्देशक श्रेष्ठले भन्नुभयो। कालापानी र सुस्तामा रहेको सीमा विवाद हल गर्न परराष्ट्रसचिवस्तरीय समिति बनाइएको छ तर त्यसको बैठक एकपटक पनि बस्न सकेको छैन।
एक हजार आठ सय किलोमिटर लामो नेपाल—भारत सीमामा भारतका तर्फबाट धेरै ठाउँमा नेपाली भूभाग मिचिएको छ भने सीमास्तम्भ पनि भारतीय पक्षका तर्फबाट भत्काइएको छ। नेपालका तर्फबाट पनि केही स्थानमा सीमास्तम्भ भत्काएको पाइएको छ।