इनरुवाबाट राजपाका जिल्ला नेतासहित १२ कार्यकर्ता पक्राउ
धरान : निर्वाचन विरोधी गतिविधिमा संलग्न राष्ट्रिय जनता पार्टी (राजपा)का १२ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै राजपाका नेता र कार्यकर्तालाई इनरुवाबाट शुक्रबार दिउँसो प्रकाउ गरेको हो।
पक्राउ पर्नेमा राजपाका सुनसरी अध्यक्ष डा. सिएन पाठक, राजपाको आन्दोलन परिचालन समितिका सुनसरी संयोजक रघुनाथ मेहता र केन्द्रीय सदस्य दिलिप साह, रामचन्द्र साह, देवनारायण मेहता, देवराम मधेसी, सन्तोष मेहता, सुब्बालाल मेहता, सुरेश यादव, रामनारायण मेहता, अब्दुल हकिम मियँलगायत रहेका छन्।
सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार पक्राउ परेकामाथि अनुसन्धान सुरु भएको छ। पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने पोखरेलले जानकारी दिनुभयो।
राजपाका नेता कार्यकर्ता असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेको हो।प्रहरीले यसअघि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखेको छ।