सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा

सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा

काठमाडौं : सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक औपचारिक (लिखित) प्रस्तावसमेत पठाएका छौं ।'

चुनावक्रममा मधेसवादी दलबीच अलगाववादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले अन्नपूर्णसँग भन्नुभयो, 'हामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरू सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न ।'

एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा जन्मनुभन्दा अघि राजपासम्बद्ध ६ मधेसवादी दललाई समेत पद र पैसा त्यागी स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिनुभयो । महतोले भन्नुभयो, 'मधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरू राज्य लिएर देश लिने भन्छन्, हामी राज्य होइन, देश नै लिनुपर्छ भन्छौं ।'

राजपाका निर्णय

- निर्वाचनमा भाग नलिने
- २ नं. प्रदेशको निर्वाचन सार्ने निर्णय अपर्याप्त
- संविधान संशोधन र स्थानीय तह नबढाएसम्म आन्दोलन
- असार ३ र ४ गतेका लागि थप आन्दोलन घोषणा

राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफूहरूको राउतसँग कुनै गम्भीर र निर्णायक वार्ता नभएको बताउँदै भन्नुभयो, 'विचार नै फरक भएका शक्तिसँग हुने वार्ताको कुनै अर्थ रहँदैन ।'

चुनावमा नजाने निर्णय

शुक्रबार बसेको राजपाको बैठकले प्रदेश नं. २ को निर्वाचन असोज २ गते सार्ने सरकारको निर्णयलाई अपर्याप्त ठान्दै संविधान संशोधन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ । राजपाले यसअघिका आन्दोलन कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारी मनोनयनका लागि सारिएको मिति पनि प्रभावित पार्ने गरी थप कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार ३ गते शनिबार मधेस-थरुहटका जिल्ला सदरमुकाममा लाठी जुलुस र ४ गते बन्द-हड्ताल गरिनेछ ।

राजपाले १, ५ र ७ नं. प्रदेशको चुनाव स्थगन गरी संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, मधेस आन्दोलनक्रममा लागेको झुटा मुद्दा खारेजीलगायत माग यथावत रहेकाले चुनावमा सहभागी हुन नसक्ने निर्णय गरेको जानकारी अध्यक्षमण्डलका नेता अनिलकुमार झाले दिनुभयो ।

राजपामा महतो र यादव हावी

राजपाले प्रदेश नं. २ को मात्र होइन १, ५ र ७ को पनि चुनाव सार्नुपर्ने अडान राख्दै पुनः आन्दोलनमा जान बाध्य हुनुको कारण पार्टीमा अध्यक्षमण्डलका नेताद्वय राजेन्द्र महतो र राजकिशोर यादव हाबी हुनु हो । अध्यक्ष ठाकुर, नेतात्रय शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव र अनिलकुमार झा लचकताको नीति अख्तियार गरी अघि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ ।

शुक्रबारको बैठकमा पनि महेन्द्रप्रसाद यादवले सक्ने भए सांसदसमेत त्यागौं भन्ने प्रस्ताव गर्नुभएको थियो । स्थानीय तह निर्वाचनमा सहभागी हुने÷नहुने विषयमा नेताबीच गम्भीर मतभेद भए पनि पार्टी एकतालाई ध्यान दिँदै अन्ततः आन्दोलनमै जाने निर्णय गरिएको एक शीर्ष नेताले बताउनुभयो । अध्यक्षमण्डलका सदस्य यादव, भण्डारी र झा भने सरकारको निर्णयलाई सकारात्मक भन्दै निर्वाचनमा सहभागी हुने पक्षमा उभिनुभएको छ । अध्यक्ष मण्डलका संयोजक ठाकुर तटस्थजस्तो देखिए पनि निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।

सरकारले पनि आफूहरूसँगको वार्ताअनुसार २ नं. प्रदेशको चुनाव स्थगित नगरेको शीर्ष नेताहरूको भनाइ छ । स्रोतका अनुसार सरकारले बुधबारको बैठकमा प्रदेश नं. २ र ५ को चुनाव १० दिन सार्ने भन्दै आश्वस्त गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एकाएक असोज २ गते गर्नेगरी २ नं. प्रदेशको मात्र चुनाव सार्ने निर्णय गर्नुभएको थियो ।

'संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने, मुद्दा फिर्ता, क्षतिपूर्ति, सहिद घोषणालगायत माग पूरा भएको छैन । हाम्रो माग निर्वाचन मिति सार्ने नभई हाम्रा मुद्दा सम्बोधन गर्नुपर्ने हो । मधेसलाई 'फोरो और राज करो' भन्ने निर्णयमा हामी सहमत हुन सक्दैनौं', अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भन्नुभयो । मधेसमा दुई चरण चुनाव गर्ने पक्षमा आफूहरू सहमत हुन नसक्ने अर्का नेता राजकिशोरले बताउनुभयो । अध्यक्षमण्डलकै नेता झाले भने सरकारको निर्णयलाई सकारात्मक भए पनि आफूहरूको माग निर्वाचन मिति सार्ने नभई संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने भएको बताउनुभयो ।

मधेसलाई घेराबन्दी : उपेन्द्र

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गर्दै मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ ।

'राजपाको दिशाहीनताले त्यो योजना सफल बनायो । दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयको उद्देश्य मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले गरेको षड्यन्त्र हो', यादवले भन्नुभयो, 'कांग्रेस र माओवादी दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् भन्ने पहिलेदेखि नै चाहन्थे ।' अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि २ नं. लाई घेराबन्दी गर्न सजिलो हुने योजना रहेको आरोप उहाँले लगाउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.