एक विभूतिको सम्झनामा
योगी नरहरिनाथ नेपालका सपूत र सिद्ध गोरखनाथका अवतार हुन् । सिद्ध मत्स्येन्द्रनाथबाट नाथ सम्प्रदायको प्रवर्तन भएको हो । सिद्ध गोरखनाथले नाथ सम्प्रदायलाई व्यापक बनाइदिए । यसैगरी सिद्ध रतननाथले नाथ सम्प्रदायलाई अन्तर्राष्ट्रियकरण गरिदिए । सिद्ध मत्स्येन्द्रनाथको जन्म कामरूपदेश असमको मछुवाकुलमा भएको हो । कामरूपदेश सिद्ध मत्स्येन्द्रनाथको जन्मभूमि भएतापनि नेपाल उनको कर्मभूमि हो । नेपालका बौद्धहरू सिद्ध मत्स्येन्द्रनाथलाई पद्मपाणि बोधिसत्व र शैवहरू उनलाई शिवका रूपमा मान्छन् ।
सिद्ध गोरखनाथ र सिद्ध रतननाथ दुवै नेपाल माताका वरद पुत्रहरू हुन् । नेपाल गोरखाको गोरखनाथ गुफामा सिद्ध गोरखनाथको साधना स्थल हो । नेपालको गोरखाबाट नै सिद्ध गोरखनाथ भारतका विभिन्न क्षेत्रमा गएका हुन् । अहिले पनि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा माघेसंक्रान्तिका दिन खिचडी चढाउँदा सबभन्दा पहिले नेपालको गोरखा दरबारबाट लगिएको खिचडी चढाएपछि मात्र गोरखनाथ मन्दिरका महन्त र त्यसपछि अरू भक्तजनले खिचडी चढाउने परम्परा छ । गोरखाको गोरखनाथ गुफा वज्रभैरवभट्टारकको पुण्यस्थल हो । गोरखनाथ गुफा परिसरमा लिच्छविकालका प्राचीन बौद्ध चैत्यहरू भेटिएका छन् । यसले गर्दा वज्रयानी बौद्ध मत र नाथ सम्प्रदायको बीचमा अन्तरसम्बन्ध रहेको पाइन्छ ।
सिद्ध रतननाथपछि सिद्ध भगवन्तनाथ नाथ सम्प्रदायका ठूला योगी भए । आधुनिक नेपालको एकीकरणका अभियन्ता पृथ्वीनारायण शाह सिद्ध भगवन्तनाथलाई गुरु मान्दथे । सिद्ध भगवन्तनाथ पछि योगी नरहरिनाथ सम्प्रदायका ठूला योगी भए । पश्चिम नेपालको कालीकोटमा थापा क्षेत्री वंशमा जन्मिएका बलवीरसिंह थापा योगी नरहरिनाथको रूपमा प्रसिद्ध भए । उनको शिक्षा-दीक्षा भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा भएको थियो । नेपाल मृगस्थली गोरक्षपीठका महन्त क्षिप्रनाथ योगीको आग्रहमा योगी नरहरिनाथ नेपाल आए तर उनले गोरक्षपीठको मण्डलाई चलाएनन् । हिन्दुधर्म, नेपाली भाषा र नेपाल राष्ट्रको सेवामा नै उनी तल्लीन रहे । योगी नरहरिनाथ धार्मिक राजनीतिमा लागे तर उनलाई आर्थिक भ्रष्टाचार र शारीरिक व्यभिचारले छुन सकेन ।
वेदका कतिपय ऋचाहरूको रचनामा महिला वर्गको पनि योगदान रहेको छ तापनि कालान्तरमा स्त्री जातिलाई वेदमन्त्रको उच्चारण गर्ने हकबाट वञ्चित गराइयो । तर, योगी नरहरिनाथले कोटिहोम जस्तो महान् यज्ञमा महिलाहरूलाई गायत्री जपेर हवन गर्ने कार्यमा अग्रसर गराए ।
योगी नरहरिनाथ केवल विचारकमात्र नभई सिद्ध योगी थिए । राजा महेन्द्रले २०१७ पुस १ गतेको कदम चाल्नुभन्दा अघि गोरखामा एउटा काण्ड घटाएको थियो । त्यस गोरखा काण्डका अग्रणी योगी नरहरिनाथ थिए । घटना घटेको दिन योगी नरहरिनाथ गोरखामा नै थिए । गोरखामा बडा हाकिमले योगी नरहरिनाथलाई पक्रन खोज्दा पक्रन सकेन । गोरखामा घटना घटेको पर्सिपल्ट योगी नरहरिनाथ जुम्लामा पक्राउ परे । त्यसबेला हेलिकप्टर आदि कुनै साधनको सुविधा थिएन । तीन दिनमा जुम्ला पुग्न असम्भव थियो । नाथ सम्प्रदायका अनेक विशेषतामध्ये हठयोग प्रमुख छ । अतः यही हठयोगको खेचरीमुद्रा साधन गरेर योगी नरहरिनाथ तीन दिनमा गोरखाबाट जुम्ला पुगे । यो नै योगी नरहरिनाथको योगचर्याको एउटा ज्वलन्त उदाहरण हो ।
त्यसकारण योगी नरहरिनाथ बहुमुखी प्रतिभाका धनी र नेपालको जिउँदो शार्दूल हुन् । योगी नरहरिनाथ इतिहासका लागि शोधकर्ता, धर्मका लागि प्रणेता र राजनीतिका लागि प्रेरणाका स्रोत हुन् । उनले हामीहरूलाई आफ्नो इतिहासका बारेमा जागरुक गराएका छन् । अनेकन् कष्ट सहेर नेपालका विविध क्षेत्रको अध्ययन-भ्रमण गरी बिर्सिसकेका हाम्रा गौरवगाथालाई प्रकाशमा ल्याइदिएका छन् ।प्रखर राष्ट्रवाद र समन्वयात्मक हिन्दुत्व उनको चिन्तनका दुई पक्ष हुन् । राष्ट्र, राष्ट्रियता र हिन्दुत्वबाहेक योगी नरहरिनाथको आफ्नो कुनै निजी स्वार्थ भन्ने कुरा नै केही थिएन ।
वेदका कतिपय ऋचाहरूको रचनामा महिला वर्गको पनि योगदान रहेको छ तापनि कालान्तरमा स्त्री जातिलाई वेदमन्त्रको उच्चारण गर्ने हकबाट वञ्चित गराइयो । तर, योगी नरहरिनाथले कोटिहोमजस्तो महान् यज्ञमा महिलाहरूलाई गायत्री जपेर हवन गर्ने कार्यमा अग्रसर गराए । यसैगरी लामाहरूलाई कोटिहोममा बौद्धमतअनुसार पूजा, पाठ र हवन गर्ने कार्यमा सरिक गराए । यी कुराहरू उनका उदात्त एवम् समन्वयात्मक भावनाका नमुना हुन् ।
उनी सधैं सबल एवम् सक्रिय राजतन्त्रको पक्षमा देखिए । तर, उनको निःस्वार्थ भावना र प्रखर वाणीको मर्म बुझ्न र पचाउन नसकेकाले बेलाबखतमा उनी शासनसत्ताको चपेटामा पर्ने गर्थे; आलोचित र अपमानित पनि बन्ने गर्थे । साँच्चै भन्ने हो भने उनको जीवन ज्यादै नै संघर्षमय थियो । उनले अर्कालाई दिनबाहेक आफूले लिन केही पनि जानेनन् । दुःख जति आफूले पचाएर सुख जति सबै अरूलाई भोग्न दिने भगवान् शंकरको आदर्श उनको चरित्रमा पाइन्छ ।
उनी साँच्चैका योगी थिए । त्यसैले मान र अपमानको समतलबाट माथि उठेका अनन्त श्रीविभूषित योगी नरहरिनाथ जिउँदा शार्दूलझैं आफ्नो कर्तव्यपथमा निरन्तर अघि लम्किरहन्थे, राष्ट्रको सिंहावलोकन गर्थे, किनभने उनी फट्याङ्ग्रा टिपेर खाने लुते बाघ थिएनन् । उनको जीवन चरित्रबाट मनुस्मृतिको यो सदुक्ति चरितार्थ हुन्छ, जस्तै -
एतद्देशप्रसूतस्य सकासाद् अग्रजन्मनः ।
स्वं स्वं कार्यं शिक्षेरन् पृथव्यां सर्व मानवाः ।।
अतः यस्ता महान् विभूति अनन्त श्रीविभूषित योगी नरहरिनाथको चरित्रबाट समष्टिमा हामीले सिक्नुपर्ने दुईवटा पाठ छन्, ती हुन्- राष्ट्रको गौरव र स्वाभिमान ।