महिला भलिबलमा गर्विलो सान

महिला भलिबलमा गर्विलो सान

काठमाडौंको पश्चिम भेग पुरानो नैकापमा अवस्थित न्यु डायमन्ड एकेडेमी पछिल्लो समय महिला भलिबलको क्षेत्रमा गर्विलो नाम बनेको छ । यो विद्यालयको न आलिसान महल छन् न त भव्य साजसज्जा नै । सामान्य टहरोमा कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालयले पछिल्लो समय महिला भलिबलको क्षेत्रमा लगातार सफलता हासिल गर्दै आएको छ ।

Bishnu-Thapa_1२०६२ साल वैशाख ५ गते विधिवत् रूपमा कक्षा सञ्चालन गर्दै आएको एकेडेमी २०६५ सालदेखि एसएलसी परीक्षामा सहभागी भयो । एसएलसीमा अहिलेसम्म शतप्रतिशत नतिजा ल्याएको विद्यालय पढाइका साथै भलिबल खेलमा पनि चर्चित बनेको छ ।

भलिबल खेलसँगै सम्बन्धित एकेडेमीका प्रिन्सिपल एवं भलिबल प्रशिक्षक कुमार राईकै कारण न्यु डायमन्ड सुरु भएको हो । हङकङको आईडी त्यागेर २०४७ सालदेखि शिक्षण पेसामा संलग्न राई सानैदेखि भलिबल खेलप्रति आकर्षित थिए । संखुवासभामा जन्मिएका राई बाल्यकाल सम्झन्छन्, 'भलिबल भनेपछि म हुरुक्क हुन्थेँ । फाटेको मोजामा कपडा कोचेर खेल्ने गथ्र्यौं । पछि कक्षा ६ पढ्न थालेदेखि भलिबल छुन पाएँ ।'
नैकापको ब्राइट फ्युचर स्कुलमा शिक्षण र भलिबललाई सँगै अगाडि बढाएका राईले २०५९ सालदेखि स्कुलको भलिबल टोली निर्माण गरी प्रशिक्षण दिन थाले । विद्यालयले छोटो समयमै विद्यालयस्तरका थुप्रै प्रतियोगितामा सफलता हात पार्‍यो ।

ब्राइट फ्युचरले नगद २० हजार पुरस्कार राखेर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा घाटा बेहोरेपछि त्यसका संयोजकसमेत रहेका राईको व्यवस्थापनसँग दूरी बढ्न पुग्यो र उनले विद्यालय छाड्ने निर्णय गरे । डेढ दशक लामो समय बिताएको विद्यालयबाट बिदा भएपछि निराश भएका राईलगायत अन्य केही साथी मिलेर न्यु डायमन्ड एकेडेमी सुरु गरे । सुरुमा ८० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले चार सयभन्दा बढी विद्यार्थी छन् ।

भलिबलका कारण ब्राइट फ्युचर छाडेका राईलाई आफ्नो विद्यालयमा पनि भलिबल सुरु गर्नुपर्ने ठूलै चुनौती थियो । पहिले पुरुष टिम बनाएर भलिबल सुरु गरेका राईले एथलेटिक्स खेललाई पनि अगाडि बढाए । तर, दुवैबाट सन्तोषजनक नतिजा पाएनन् । त्यसपछि उनले महिला भलिबल टिम बनाए र त्यसलाई निखार्न दिनरात कस्सिए । सुरुमा कक्षा ६ देखि ९ सम्मका नौजना विद्यार्थी जम्मा पारेर प्रशिक्षण थालेका राईले विस्तारै खेलाडीको संख्या बढाउँदै लगे । टिम बनाएको छोटो समयमै विद्यालयस्तरीय प्रतियोगितामा सफलता हासिल गर्न थाल्यो । यसबाट उत्साहित भएका राईले लगातार ट्रेनिङ गराइरहे । उनको मेहनतको प्रतिफल २०६६ सालदेखि स्कुले टोलीले राष्ट्रिय स्तरका प्रतियोगिता जित्न थाल्यो । यसपछि हौसिएका राईले राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै लगे ।

न्यु डायमन्डले नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको खुला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेपछि चौतर्फी रूपमा टोलीले वाहवाही पायो । २०६९ सालमा एनभीए कप भलिबलमा तेस्रो भएको डायमन्ड लिग च्याम्पियनसिपमा शीर्ष स्थान ओगट्दै एक लाख ५० हजार रुपैयाँको पुरस्कार जित्न सफल भयो ।

कास्कीको लामाचौरमा आयोजना हुँदै आएको खुला भलिबल प्रतियोगितामा २०७० सालदेखि सहभागिता जनाउँदै आएको डायमन्डले त्यही सालदेखि २०७३ सम्म लगातार चारपटक उपाधि जित्न सफल भएको छ । हालैमात्र सम्पन्न तेस्रो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपविजेता भए पनि चर्चा भने न्यु डायमन्डले बढी पायो । यही प्रतियोगितामा शिवम् सिमेन्टबाट प्रायोजन भएको जर्सी लगाएर मैदानमा उत्रिएको न्यु डायमन्डको हौसला बढाउन शिवम् सिमेन्टका चार दर्जनभन्दा बढी कर्मचारी पुगेका थिए ।

न्यु डायमन्डले महिला भलिबलमा थुप्रै कोसेढुंगा पार गरे पनि आर्थिक रूपमा टाट पल्टिएको प्रिन्सिपल राई बताउँछन् । आफूहरूले लाखौं रुपैयाँ खर्चिंदा पनि कहीँकतैबाट सहयोग नपाउनु र भलिबल संघमा बसेकाहरूको नजर नपुग्दा भने निराश हुनु परेको राई बताउँछन् ।

भलिबलका कारण ब्राइट फ्युचर छाडेका राईलाई आफ्नो विद्यालयमा पनि भलिबल सुरु गर्नुपर्ने ठूलै चुनौती थियो । पहिले पुरुष टिम बनाएर भलिबल सुरु गरेका राईले एथलेटिक्स खेललाई पनि अगाडि बढाए ।

भलिबल नेपालको राष्ट्रिय खेल भएपछि भने राई हौसिएका छन् । आफूले गरेको मेहनत र लगानीको मूल्यांकन हुने विश्वास गरेका छन् । 'अन्जानैमा भलिबलमा लागियो । यसमै धेरै पसिना बगाइयो । सानैमा आफूले रोजेको खेल राष्ट्रिय खेल घोषणा हुँदा खुसीको सीमा नै छैन', राईले खुसी हुँदै भने । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको भोलिपल्टै जेठ ९ गते विद्यालयमा भव्य दीपावली गरेर खुसियाली मनाइएको थियो ।

धेरैले छाडे न्यु डायमन्ड

न्यु डायमन्डको टिममा रहेका खेलाडीमध्ये कोही विदेश पलायन भएका छन् भने कोही विभागीय टोलीमा आबद्ध भएका छन् । २०६४ सालबाट एकेडेमीमा ट्रेनिङ गरेकी एक समयकी चर्चित खेलाडी रमिला तण्डुकार अमेरिका पलायन भएकी छन् भने रेश्मा भण्डारी, मनीषा तामाङ र रञ्जना खड्का विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबमा आबद्ध भएका छन् ।

लामो समय टिममा रहेका खेलाडीहरूले छाडेर गएपछि केही समय टिममा सन्तुलन मिलाउन गाह्रो परे पनि प्रतिभावान् खेलाडी र लगातारको मेहनतले उनीहरूको अभाव खड्किन नदिएको प्रशिक्षक राई बताउँछन् ।
न्यु डायमन्डकी स्टार खेलाडी हुन्, प्रतिभा माली । कक्षा २ पढ्दादेखि भलिबल खेल्दै आएकी उनी नेपालकै स्टार खेलाडी मानिन्छिन् । नेपालमा भएको साग च्याम्पियनसिप भलिबलमा श्रीलंकालाई हराउँदै दोस्रो स्थान हासिल गर्दा प्रतिभाले सबैभन्दा बढी अंक हासिल गरेकी थिइन् ।

गत वर्ष भारतको गुहावटी र सिलोङमा सम्पन्न १२औं साग खेलकुदमा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्दा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् भने भारतसँगको दुई मैत्रीपूर्ण खेलमा पनि प्रतिभाले प्रभावशाली प्रदर्शन गरेकी थिइन् ।प्रतिभा हरेक खेलमा अलराउन्ड प्रदर्शन गर्छिन् । विशेष गरी उनले ओपन स्पाइकबाट विपक्षीलाई निराश बनाउँदै आएकी छन् ।

एकेडेमीकी कप्तान ललिता नाथ क्विक स्पाइकर र ब्लकर हुन् । उनी नेपालकै सानदार तथा एक नम्बर क्विकरमा गनिन्छिन् । घरको आर्थिक अवस्था कमजोर भए पनि उनले खेललाई निरन्तरता दिइरहेकी छन् । तर, जतिसुकै उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा भने पर्न सकेकी छैनन् । न्यु डायमन्डकी लिफ्टर कृपा अधिकारी राष्ट्रिय टोलीकी खेलाडी हुन् । अनुभवी र पुरानो खेलाडी विनीता बुढाथोकी भए पनि उनमा होल्डिङको समस्या रहेकाले कृपाले त्यो समस्यालाई पूर्ति गर्दै आएकी छन् ।

लाखौं नडुबाईकन टिम तयार हुँदैन
कुमार राई, प्रिन्सिपल एवं प्रमुख प्रशिक्षक

न्यु डायमन्डले पछिल्लो समय भलिबलमा लगातार सफलता पाइरहेको छ । यसपछाडिको रहस्य के हो ?

लामो समयको मेहनत र खेलाडीहरूको अनुशासन नै यसको राज हो । यसकै प्रतिफल हामीले उत्कृष्ट नतिजा दिइरहेका छौं ।

न्यु डायमन्डमा नियमित प्रशिक्षण भइरहन्छ ?

हामीले हरेक दिन ट्रेनिङ गरिराखेका छौं । सबैभन्दा धेरै समय ट्रेनिङ गर्ने भनेको बिदाको समय हो । लामो बिदा दसैं तिहार लगायतका मुख्य चाडबाडमा पर्छन् । दसैं बिदामा अरूले घरपरिवारसँग रमाइलो गरे पनि खेलाडीहरू भने ट्रेनिङ गरिरहेका हुन्छन् ।

आमअभिभावकमा आफ्ना छोराछोरीले पढून्, खेलबाट टाढा रहून् भन्ने चाहना हुन्छ । विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि भलिबल खेलाउँदा अभिभावकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?- खेलेपछि पढाइ बिग्रन्छ भन्ने मानसिकताले धेरै ठूलो प्रभाव पारेको थियो । सुरुका दिनमा अभिभावकलाई बुझाउन धेरै गाह्रो हुन्थ्यो । पछिल्लो समय कृपा अधिकारीले एसएलसी परीक्षामा ८९.२५ प्रतिशत ल्याएपछि केही कम भयो भने गत वर्ष सबिता लोले ३.७५ जीपीए ल्याएपछि खेलेर बिग्रिने रहेनछ भन्ने छाप परेको छ ।

खेलाडीमा खोट लगाउने ठाउँ छैन । सबैले खेलसँगै पढाईमा पनि राम्रै गरिरहेका छन् । न्यु डायमन्डबाट भलिबल खेल्दै आएका तीनजनाले साइन्स पढिरहेका छन् । यसले उनीहरू पढाइमा पनि अब्बल छन् भन्ने प्रमाणित गरेको छ ।

तपार्इंहरू स्कुले टिम भए पनि व्यावसायिक खेलाडीको बाहुल्य रहेको टोलीलाई पराजित गर्दै आउनुभएको छ । सरसर्ती हेर्दा तपाईंहरूको टोली निकै

बलियो भएर हो कि अन्य टोली कमजोर भएर हो ?

- कमजोर भएको पट्टक्कै होइन । व्यक्तिगत रूपमा अन्य टिममा रहेका खेलाडीहरू निकै प्रतिभावान् छन् । भलिबल टिम गेम भएकाले सबैभन्दा पहिले त टिम समन्वय मिल्नु पर्‍यो । अर्को कुरा, कुन जोनमा कसले कस्तो खेल्ने भनेर तोकिएको हुन्छ । हाम्रा टिमका खेलाडीको एकैनासको हाइट नभएकाले कसले कुन काम गर्ने भनेर छुट्याइदिएको छु ।

अहिले कतिजनाले ट्रेनिङ गरिरहेका छन् ?

- अहिले हाम्रो टोलीमा २५ जना छन् । अबको दुईतीन वर्षमा न्यु डायमन्ड अझ सशक्त टिम बन्नेछ । पहिलेपहिले होचा र उमेर नपुगेका खेलाडीलाई खेलाउनु पर्दा असाध्यै दु:ख लाग्थ्यो । तर, अहिले धेरै प्रतिभाशाली खेलाडीहरू पाएको छु ।

०६४ सालदेखि अहिलेसम्म धेरै लगानी गरिसक्नुभएको छ । आर्थिक स्रोत कसरी जुटाइरहनुभएको छ ?

- आर्थिक हिसाबले त पत्तासाफ नै भएको अवस्था छ । करिबकरिब कमण्डलु बोकेर हिँड्नुपर्ने अवस्था भइसक्यो । हाम्रै टिमको सिको गरेर कोहीकोहीले टिम बनाउन खोजेका पनि थिए तर आर्थिक हिसाबले उनीहरूले निरन्तरता दिन सकेका छैनन् । लाखौं रुपैयाँ नडुबाईकन टिम तयार हुने अवस्था छैन । मेरै कुरा गर्नुहुन्छ भने पनि आर्थिक पाटोले निकै तनाव दिँदै आएको छ ।

अहिलेसम्म कसैबाट पनि आर्थिक सहयोग पाउनुभएको छैन ?

- बेलाबेलामा केही सहयोग पाइएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले केही सहयोग गरेको थियो । तर, पछिल्लो समय कहीँकतैबाट सहयोग पाएको छैन ।

न्यु डायमन्डले भलिबल खेल्नै बन्द गर्नुपर्ने अवस्था आउँछ कि आउँदैन ?

- भलिबल नै बन्द गर्न सकिने अवस्था अब छैन । बरु आफूसँग भएका जायजेथा बेचेर भए पनि भलिबललाई निरन्तरता दिन्छु ।

आर्थिक सहयोगबाहेक अरू के भइदियोस् भन्ने चाहनुहुन्छ ?

- एकदुईवटा उमेर समूहको अन्तर्राष्ट्रिय खेल खेल्न पाए टोलीमा निखारता आउँथ्यो भने एफआईभीबीले पनि सकारात्मक रूपमा हेर्ने अवस्था आउँथ्यो । यसले नेपाल भलिबल संघलाई पनि धेरै फाइदा पुग्थ्यो । तर, संघमा बस्नेहरूको दृष्टिकोण क्षेत्रीय हिसाबमा केन्द्रित भएको छ । न्यु डायमन्डले विदेशमा गएर खेल्यो भने न्यु डायमन्डले मात्र होइन, नेपालले खेलेको हुन्छ । यो कुरा संघका पदाधिकारीहरूले बुझिरहनुभएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.