८० नाघेका इलामका तीन स्रष्टा
विक्रम संवत् १९९१ सालमा पूर्व इलामको कालापानी माघे बरबोटे गाउँमा तीनजना बालक केहीदिन/महिना र वर्षको फरकमा जन्मन्छन् । ती बढ्दै, पढदै, लेख्तै र साहित्य र भाषाको सेवा गरेर अहिले ८० वर्ष पार गरिसकेका छन् । यी तीनै जनाको नेपाली भाषा, साहित्य र राजनीतिमा अतुलनीय योगदान छ । अहिले बुढेसकालमा पनि यिनले भाषा, साहित्य र देशकै विकासमा काम गरी रहेको देख्ता इलामको चीसो पानीको प्रशंसा गर्नेहरू भेटिन्छन्।
२००३ सालअघि यी बालकको गाउँमा पढ्ने स्कुल थिएन । राणाशासन थियो । त्यो समयमा स्कुल खोल्न पाइँदैनथ्यो । यिनका परिवार अथवा भनौं पासाङ गोपर्मा, डा. तारानाथ शर्मा, डा. खगेन्द्रनाथ शर्माका पिताजीहरू त्यो समाजमा केही जानकारी राख्थे र अध्ययन पनि गर्थे । आफ्ना छोराछोरीलाई नजिकैको दार्जिलिङमा राखेर पढाउन सक्तैनथिए, आर्थिक कारणले । त्यसैले डा. तारानाथ शर्मालाई उनका पिता प्रजापति उपाध्यायले घरैमा ‘रुद्री' र ‘कौमुदी' पढाउन एकजना शिक्षक (पण्डित) को व्यवस्था गरेका थिए । आज आएर कल्पना गरौं, तारानाथले अंग्रेजी नपढेको भए शायद आज उनी ब्यासमा बसेर ‘नारायण प्रसाद' जस्तै मीठो स्वरमा र आकर्षक रूपमा पुराण भन्थे होलान् । भाग्यले साथ दिएर उनले अमेरिकामा त्यहीँकालगायत अन्य देशका विद्वानहरूलाई ‘भाषा शास्त्र' को ज्ञान बाँड्न पाए ।
पासाङ गोपर्मा भने घरैमा बस्थे र आफ्नो पितालाई खेतीपातीमा सहयोग गर्थे । डा.खगेन्द्रनाथ शर्मा भने पण्डित देवीदत्तका छोरा भएकोले, घरैमा भए पनि प्राथमिक शिक्षाको व्यवस्था गरिएको थियो । २००३ सालमा फिक्कल बजारमा एकजना योगी स्वोमेश्वरानन्दले आफ्नै सक्रियतामा निर्माण सामग्री जोडेर एउटा प्राथमिक आदर्श चन्द्र पाठशाला खोलेका थिए । त्यही स्कुलमा यी तीन बालकहरू तारा, पासाङ र खगेन्द्रले ज्ञान प्राप्त गर्ने अवसर पाए ।
त्यसबेला शिक्षकहरू पाइँदैनथ्यो, संयोगले काठमाडौंका चन्द्रभक्त कसजू नाउँ गरेका एक शिक्षक हङकङ गोर्खा सेनामा काम गर्दा नेपाल घुम्न आउने क्रममा पशुपतिनगरका केबी गुरुङको घरमा बसेका रहेछन् । तिनैलाई शिक्षक भइदिन आग्रह गरी फिक्कल स्कुलमा प्राथमिक शिक्षा दिने क्रम सुरु भएको पाइन्छ । त्यसबेला तारा, पासाङ र खगेन्दका साथ वीरेन्द्र खँजेली (जो पछि नेपाल सरकारका सचिवसम्म भए) र याङका देवीप्रसाद ढुंगाना पनि थिए । खुँजेली र ढुंगाना यो संसारबाट बिदा भइसकेका छन् ।
यी विद्यार्थी प्रतिभाशाली देखेपछि स्कुलको स्तरोन्नति गर्न तारानाथ शर्माका पिता (तत्कालीन मालका बैदार) रक्सौलसम्म गएर वीरगन्जबाट पैदलै हिँडेर एक महिना लगाएर काठमाडौं पुगे । त्यसबेला राणा प्रधानमन्त्री चन्द्रशमशेर थिए । केही काम गर्न तिनको स्वीकृति प्राप्त गर्नुपथ्र्यो । उनी महिना दिन काठमाडौंमा बसेर चन्द्रशमशेरको चाकडी गर्न थाले । अन्त्यमा उनको चाकडीले सफलता पायो र उनले फिक्कलमा ‘चन्द्र पाठशाला' नामको ५ कक्षासम्मको प्राथमिक स्कुल खोल्ने अनुमति लिएर फर्के ।
यी तीनैजना विद्यार्थी र अन्य विद्यार्थीलाई शिक्षक कसजूले मेहनत गरेर राम्रो पढाइदिएको हुँदा पछि गएर यी तीनैजना देशकै अब्बल नागरिक भए । हुन त अरू विद्यार्थी पनि होलान्, जो पछि गएर ठूला मानिस भए । यी तीनै जना र खुँजेली जेहेनदार विद्यार्थी थिए । पासाङ गोपर्मा करफेक, आइतबारेको छेउमा पर्ने कालापानीमा तारानाथ शर्माभन्दा एक वर्ष तीन महिना पहिले जन्मेका थिए । उनले एमएड गरेका हुन् । गोपर्माले तारानाथ र खगेन्द्रनाथसँगै आदर्श चन्द्र पाठशाला, फिक्कलमा एउटै कक्षामा ३ देखि ६ सम्म पढे । ६ कक्षाभन्दा माथि पढ्ने व्यवस्था नहुँदा पासाङ र तारा दार्जिलिङ र पछि नजिकैको खर्साङमा गएर प्रवेशिकासम्म अध्ययन गरे । खगेन्द्रनाथ चाहिँ उच्च अध्ययनका लागि बनारस गए ।
तारानाथ शर्माले दार्जिलिङको नर्थ प्वाइन्ट सेन्जोसेफ कलेजमा आईएको अध्ययन गरे । त्यतिबेलैदेखि उनमा साहित्यको अभिरुचि देखिइसकेको थियो । सेन्टजोसेफ कलेजमा ‘लजिक' विषयमा त्यसबेला उनले ल्याएको नम्बरलाई अहिलेसम्म कसैले उछिनेको छैन भन्छन् कलेजका प्राध्यापकहरू । त्यसबेला दार्जिलिङको गोरखा दुःख निवारक संस्थाले यस्ता साहित्यिक प्रतियोगिताहरू गथ्र्यो । एक पटक तारानाथसँग दार्जिलिङ जाँदा त्यहाँको एउटा साहित्यिक संस्थाले तत्काल ‘काठमाडौं' को वर्तमान साहित्य विषयमा शर्माद्वारा प्रवचन गराउँदा यो पंक्तिकार पनि सँगै थियो ।
घरमा टेबुलको व्यवस्था नहुँदा घुँडामा राखेर उनिउँको कलमले मसी चोप्दै लेख्ने चलन थियो । घण्टौंसम्म यसरी लेख्ने बानीले तारानाथलाई लेखक हुन स्वाभाविक तालिम दियो । उनिउँको कलमले लेख्दालेख्तै तारानाथका अक्षर अत्यन्त खारिएर चिटिक्कका चित्रकारका चित्र जस्ता सुन्दर हुन्थे ।
तारानाथ बीएको अध्ययन गर्न भनेर बनारसतिर लागे । खगेन्द्रनाथ शर्माको सबै अध्ययन बनारसतिरै भएको हो । पछि उनले भारतको सागर विश्वविद्यालयवाट एमए र विद्यावारिधि गरेका छन् । एमएड गरेका पासाङ गोपर्मामा भने साहित्यमा जति अभिरुचि थियो, राजनीतिमा पनि उनी त्यत्तिकै सक्रिय थिए । पासाङ गोपर्माले जनक शिक्षा सामग्री केन्द्रमा पनि काम गरेका थिए । त्यसपछि साहित्यमा उनको पहिलो रचना ‘सुविउ' दार्जिलिङबाट छापिने भारतीमा १९५३ मा प्रकाशित भएको थियो ।
तारानाथबारे पासाङले लेखेका छन, ‘मेरो अड्बांगे मित्रका क्रियाकलापका बारेमा दिलै खोलेर लेख्ने हो भने महाकवि देवकोटाको मुनामदन फुच्चे ठहरिनेछ । अनि अड्बांगे मित्रसँगै गुन्यु चोले लगाई बाख्राको बर्कौलो छर्दै फिक्कल बजारमा लाखेहरूसँग घुमेको सम्झनाले गुन्यूचोलो लगाएकै भए पनि उनी मदन र म चाहिँ मुना थिएँ कि भन्ने आजको नयाँ नेपालको सन्दर्भमा अनुभव हुन्छ ।'
‘फटाहा ! बाहुनको छोरो भएर यसरी हिँड्ने ? ' उनकै बा, बैदार प्रजापतिको कटुवचनप्रति खिसिक्क हाँसेर टार्ने मेरा अड्बांगे मित्र घर्मारत्न यमीका पुङमोड कविता एसएलसीसम्मका कम्युनिस्ट, आईएसम्मका समाजवादी तथा बीएपछि प्रजातान्त्रिकका नजिक नरहेको भने होइन । तारानाथबारे खगेन्द्रनाथ भन्छन्- मानिसको व्यक्तित्व निर्माणमा विद्यालयका साथै आफ्नो परिवेशको महत्ववपूर्ण हात हुन्छ । स्कुलमा त तारानाथ प्रतिभाशालीमा गणना हुन थालिसकेको थियो । पिताजी फिक्कलका एउटै बाहुन परिवार त्यो पनि गैरव्यापारी ।
तर उहाँ एक सरकारी कर्मचारी भएकाले उहाँको छुट्टै परिचय थियो । उहाँको घरमा मालपोत तिर्न आउने मानिसको घुइँचो हुन्थ्यो । त्यतिबेला नेपाली कागजमा रसिद लेखेर दिने गरिन्थ्यो र तारानाथका पिताले यो काममा आफ्नै पुत्रलाई खटाउनुहुन्थ्यो । घरमा टेबुलको व्यवस्था नहुँदा घुँडामा राखेर उनिउँको कलमले मसी चोप्दै लेख्ने चलन थियो । घण्टौंसम्म यसरी लेख्ने बानीले तारानाथलाई लेखक हुन स्वाभाविक तालिम दियो । उनिउँको कलमले लेख्दालेख्तै तारानाथका अक्षर अत्यन्त खारिएर चिटिक्कका चित्रकारका चित्रजस्ता सुन्दर हुन्थे । तारानाथको औंलाको ठेला अविरल जीवन साथी बन्यो र लेख्ने बानी संगिनी बनिन् । तारानाथको लेखनीय जीवनमा त्यो मालपोत रसिद लेख्ने अभ्यास ठूलो साधना र प्रेरणा हुन पुग्यो ।
एक लेखमा उनका सहयात्री बालकृष्ण पोखरेलले लेखेका छन्- तारानाथ विद्वान, विवेचक वा तार्किक होइनन्, तर तेज मगजका धनी चाहिँ पक्कै हुन् । कमलमणि दीक्षित भन्छन्- साहित्यिक ताना शर्माका नेपालले कदर गर्न कहिल्यै छाडेन, अझ छाडेको छैन । साहित्यका कृष्णप्रसाद पराजुली लेख्छन्- नेपाली भाषा साहित्यको शिखर पुरुषलाई कहित्यै प्रज्ञा प्रतिष्ठानको कक्षा भित्र छिराइएन ।
गोपर्माको भनाइमा इलामका डा.तारानाथ शर्मा र रामेछापका क्यान्सरपीडित जगदीश घिमिरेले कविता विधालाई अँगालेको भए, भानु युग, लेखनाथ युग अनि देवकोटा युगझै तिनीहरूको पनि आफ्नै युग बन्दो हो । कवितामा विचार भंगले असर पार्दैन, बरु मिठास थप्छ । तारानाथको जीवन बन्यो निरंकुश जहानियाँ राणाशासनको अस्ताउँदो युग, शाही शासनको उदय र अस्ताउँदो युग अनि गणतन्त्रको उदयको युग, जगदीश परे शाही शासनको उत्कर्षको युगमा ।
पछि पनि बनारस या पटना, काठमाडौंबाट, घरफर्कने क्रममा दार्जिलिङ निस्कने गरेको बताउँदै पासाङ लेख्छन्- तारानाथ र म दार्जिलिङका तीन तारामध्ये एक तारा- पारसमणि प्रधानकहाँ निस्कन्थ्यौं । भारती मासिकमा रचनाहरू बराबर प्रकाशित हुन्थे । प्रधान त्यसबेला हामीलाई लेखनतिर प्रोत्साहित गर्थे । शर्मा र गोपर्मामा त्यसबेलादेखि नै साहित्यप्रति रुचि बढेको बुझ्न सकिन्छ । पासाङले, नभाग कथा संग्रह (१९५४) शारीरिक शिक्षा २०१८, पाँच कुरा (१९५४) प्रबन्ध संग्रह नौगेडी (कथासंग्रह) बुहारी, (कथासंग्रह) २००४, लोप्चा र लिम्बूको उपज-इलाम (लोकसंग्रह) ब्युल्डर अफ नेसन (अंग्रेजी लघु उपन्यास ) पुस्तक र फूलपाती (द्वैमासिक) पत्रिकाको सम्पादकलगायत प्रशस्त निबन्धहरू आजको पुस्तालाई दिएको छन् ।
डा. खगेन्द्रनाथ शर्माका पितालाई उनकै हजुरबुवाले बनारस पढ्न पठाउनु भयो । बनारसमा पिताले संस्कृत भाषा र व्याकरणकै अध्ययनका साथै पौराणिक ग्रन्थहरूको अध्ययन गरेर । पण्डितको पदवी प्राप्त गर्नुभएको थियो । छोरा खगेन्द्रले पनि बनारसबाटै एएए गरी आफ्नो परिवारमा स्नातकोत्तर गर्ने पहिलो सन्तान हुने सौभाग्य पाए । खगेन्द्रले इलाम कलेजमा प्रिन्सिपल भएर पनि धेरे वर्ष सेवा गरे । साथै उनले नेपालगन्जमा पनि प्रशिक्षण तथा तालिम केन्द्रमा काम गरी सेवा गरेका छन् ।
पासाङ गोपर्मा र खगेन्द्रनाथ दुवैले करफोक विद्या मन्दिरमा पनि शिक्षक भएर काम गरे । तारानाथ चाहिँ बिदामा घर आउँदा स्वयंसेवकका रूपमा त्यहाँ गएर पढाउँथे । खगेन्द्रनाथले राम्रा प्रबन्धहरू लेख्छन् । उनी धेरैजसो अंग्रेजी भाषामा लेख्छन् । उनका लेखहरू नेपाल र विदेशमा पनि प्रकाशित हुने गरेका छन् । काठमाडौं पोस्ट्मा उनका थुप्रै समसामयिक विषयका लेख अझै छापिन्छन् ।
पासाङ गोपर्मा पञ्चायतीकालमा पञ्चायत दर्शन तयार गर्ने समूहमा एक सदस्य थिए । त्यसबेलाको दरबारसित पनि उनको राम्रै सम्बन्ध थियो । राजालाई सल्लाह दिने पनि गर्थे उनी तारानाथ शर्माले कवि मवीवि शाहका कविताको आलोचना गर्दा स्थानीय सरकारले तीन महिना थुनामा राख्ता पासाङ गोपर्माले राजालाई भनेपछि ‘प्राध्यापकहरूलाई यसरी नथुन्नू' भन्ने आदेश दिएका थिए भन्ने कुरा गोपर्माबाटै सुनिएको हो । डा.तारानाथ शर्माको जन्म १९९१ साल असार १ गते इलामको बरबोटे गाउँमा भएको हो ।
तारानाथ शर्माको साहित्यिक नाम ताना शर्मा हो । शर्माले २०१४ सालमा काशी विश्वविद्यालयवाट स्नातक र पटना विश्वविद्यालयवाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका छन् । २०२३ मा द्वितीय भाषाका रूपमा एमए गरे उत्तर वेल्स विश्वविद्यालय, बेलायतबाट । त्यसैगरी २०३४ मा विस्कान्सिन विश्वविद्यालयवाट भाषा विज्ञानमा एमए र २०३७ मा विस्कान्सिनबाटै विद्यावारिधि (पीएचडी) गरेका हुन् उनले ।
उनले सुरुमा पद्मकन्या, त्यसपछि त्रिविलगायत अमेरिकाको मिसिगन विश्वविद्यालयमा दक्षिण एसियाली भाषा विज्ञान, अंग्रेजी सामाजिक, ऐतिहासिक तथा राजनीतिक विषयहरूको आगन्तुक प्राध्यापक भएर काम गरे । केही वर्ष उनले नेपालको अंग्रेजी राष्ट्रिय दैनिक राइजिङ नेपालको सम्पादकको जिम्मेदारी पनि वहन गरे । इलाम निबन्ध, दार्जिलिङको साथी साप्ताहिकमा प्रकाशित भएपछि अहिलेसम्म उनका दुई सय २५ वटा पुस्तक र १७ सयभन्दा बढी फुटकर लेखहरू छापिएका छन् । उनी अझै पनि विभिन्न पत्रपत्रिकामा लेखिरहेका छन् । शर्माको ‘बेलायततिर बरालिँदा' पुस्तकले २०२६ मा मदन पुरस्कार प्राप्त गरेको थियो । उनका धेरै कथा, निबन्ध पुरस्कृत भएका छन् ।
शर्मा झर्रोवादका संस्थापक सदस्य पनि थिए । २०१३ साल वैशाखमा बनारसमा पढ्ने नेपाली विद्यार्थीले जनसांस्कृतिक सभाको नाममा झर्रो नेपाली कुरा, संस्कृति र साहित्यको नमुना भन्ने उद्देश्य लिएर ‘नौलो पाइलो' त्रैमासिक पत्रिका निकालेका थिए । सम्पादक मण्डलमा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, वल्लभमणि दाहाल, कोषराज रेग्मी, चूडामणि रेग्मीजस्ता साहित्यकार भएकाले त्यो पत्रिका जनआन्दोलनको गतिलो माध्यम हुन पुग्यो । हिन्दी बहुल भाषिक प्रभावबाट नेपाली भाषालाई बचाउनु नै यस आन्दोलनको मुख्य उद्देश्य पाइन्छ । यसरी उहाँहरू हुने बिरुवाको चिल्लो पातलाई चरितार्थ पार्दै सबै झर्रोवाद आन्दोलनमा सक्रिय भएर साहित्य भण्डारलाई समृद्ध तुल्याउन निरन्तर लागिरहे ।
तारानाथ शर्मालाई कसैले स्थिर विचार नभएको पनि भन्ने गर्छन् । ‘कहिले म दाम्लो बाँध्छु' त कहिले म दाम्लो बाँध्दिनँजस्ता लेख र निबन्ध, कहिले बालकृष्ण समको चीसो चुल्होलाई समको झुसिलो डकारजस्तो लेखनबाट उनी चर्चामा आए । राजा महेन्द्रको कविता ‘हिन्दी गीतको अनुवाद' का रूपमा प्रस्तुत गर्दा उनी थुनामा परे । मैले राजाको विरोध गरेको होइन, मवीवि शाहको कविताको आलोचना गरेको हुँ भनेर उनी उम्के । शर्माले चाँदनी शाहका गीतहरूको प्रशंसा गरी अंग्रेजीमा अनुवाद पनि गरेका छन् । राष्ट्रकवि माघव घिमिरेका शब्द सापट लिने हो भने उनी ‘नेपाली नियात्राका पिता' नै हुन् । उनको यो नियात्रामा हामी मानव रूपमा उनकै साथ नलागी बस्नै सक्तैनौं । जुन देशमा पुग्छौं, त्यहाँ पहिल्यैदेखि थियौं जस्तो लाग्छ ।
कसैले तारानाथ शर्माको उल्लेखनीय पक्ष उनको शैलीगत विशेषता मानेका छन् । उनका उपन्यास जीवनी नियात्रा समालोचना, निबन्ध आदि कृतिमा मौलिक शैली प्रखर रूपमा पाठकसामु उपस्थित हुन्छ । कवि कालीप्रसाद रिजालका अनुसार पढ्नेबित्तिकै यो तारानाथको लेखन हो भनेर पाठकले ठम्याइँसकेको हुन्छन् । यी स्रष्टाहरूको गाथा गाएर कहिल्यै सकिँदैन । आफ्नो उत्तरार्धकालमा पनि अझै यिनका कलम रोकिएका छैनन् । हालै मात्र पासाङ गोपर्माको बुद्धधर्मसम्बन्धी एउटा ग्रन्थ बाहिर आएको छ । नेपाली साहित्य र भाषाको क्षेत्रमा अझै केही गर्न सक्ने क्षमता राख्ने यी विद्वानहरू दीर्घायु होऊन् । नेपाली साहित्य भण्डारले केही अमूल्य ग्रन्थ प्राप्त गरोस् भन्ने कामना गर्नु उचितै हुनेछ ।
- सन्दर्भ सामग्री- अथक पौरखी हातहरू, संघर्ष र प्राप्ति