१० वर्षपछि आज भारत-पाकिस्तान फाइनल भिडन्त
एजेन्सी\लन्डन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) च्याम्पियन्स ट्रफीको आठौं संस्करणको उपाधिका लागि आइतबार चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनको ओभल मैदानमा साविक विजेता भारत उपाधिमाथि ह्याट्रिक गर्ने अभियानमा रहनेछ भने पाकिस्तान पहिलोपटक उपाधि उचाल्ने ध्याउन्नमा हुनेछ । पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेकै यो पहिलोपटक हो ।
यसअघिको प्रतियोगिता र जारी प्रतियोगिताको नतिजालाई हेर्ने हो भने भारत निकै अगाडि छ । आईसीसीको प्रतियोगितामा पाकिस्तानमाथि सधैं भारत हावी हुँदै आएको छ । विश्वकप क्रिकेटअन्तर्गत अहिलेसम्म एकअर्काविरुद्धको ६ खेलमध्ये ६ वटै खेल भारतले जितेको छ । यस्तै पाँच टीट्वेन्टी खेलमा पनि भारतले सबैमा जित हात पारेको छ । जारी प्रतियोगिताको समूह चरणमा भएको प्रतिस्पर्धामा पनि भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
यद्यपि च्याम्पियन्स ट्रफीको अहिलेसम्मको प्रतिस्पर्धामा भने दुवै टोली बराबर छन् । यी दुई टोली चारपटक आमुन्नेसामुन्ने हुँदा भारतले दुई तथा पाकिस्तानले दुईपटक जित हात पारेका छन् ।वर्षाले बिथोलिएको पहिलो खेलमा भारतसँग डकवर्थ लेविस नियमको आधारमा एक सय २४ रनले पराजित भए पनि पाकिस्तान त्यसपछि खेलमा लयमा फर्किएको थियो । बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई १९ रनले स्तब्ध बनाएको पाकिस्तानले अर्को खेलमा श्रीलंकालाई तीन विकेटले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनायो । सेमिफाइनलमा घरेलु प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई आठ विकेटले सहजै हराएर फाइनलमा स्थान बनाउन सफल भयो ।
समूह चरणको खेलमा भारतले पनि एक खेल गुमाएको थियो । भारत श्रीलंकासँग पराजित हुन पुगेको थियो । यद्यपि पाकिस्तानसँगै दक्षिण अफ्रिकालाई पराजित गर्दै भारत प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै भारतले पाकिस्तानसँगको फाइनल भेट तय गर्यो ।
भारत र पाकिस्तान आईसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्न लागेका यो १० वर्षपछि पहिलोपटक हो । यसअघि सन् २००७ मा यी दुई टोली टीट्वेन्टी विश्वकपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए, जसमा पाकिस्तानलाई पराजित गर्दै भारतले उपाधि उचालेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले पहिलो टीट्वेन्टी विश्वकपको उपाधि जितेको थियो । धोनी अहिले पनि भारतीय टोलीमा छन् तर कमान्ड भने विराट कोहलीले सम्हालेका छन् ।
भारत पाकिस्तानबीचको यो प्रतिस्पर्धालाई उत्कृष्ट ब्याटिङ र उत्कृष्ट बलिङबीचको प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ । जारी प्रतियोगितामा भारतीय ब्याटिङ लाइनअप निकै बलियो देखिएको छ । भारतका लागि रोहित शर्मा र शिखर धवनको प्रारम्भिक जोडीले सबै खेलमा उत्कृष्ट सुरुआत दिएका छन् भने कप्तान विराट कोहली, युवराज सिंह, महेन्द्रसिंह धोनी, हार्दिक पाण्डेय, रवीन्द्र जडेजालगायतका खेलाडी पनि उच्च फर्ममा छन् ।
च्याम्पियन्स ट्रफीमा शिखर धवनले सबैभन्दा बढी रन बनाएका छन् । उनले नौ खेलमा ८५ को औसतमा ६ सय ८० रन बनाइसकेका छन् । जारी प्रतियोगिताको चार खेलबाट तीन सय १७ रन बनाएर पहिलो स्थानमा छन् । यस्तै तीन सय चार रन बनाएका रोहित शर्मा दोस्रो स्थानमा छन् भने समान खेलबाट दुई सय ५३ रन बनाएका कप्तान विराट कोहली पाँचौं स्थानमा छन् । ब्याटिङतर्फ कुनै पनि पाकिस्तानी खेलाडी शीर्ष पाँचभित्र अटाउन सकेका छैनन् ।
बलिङतर्फ भने पाकिस्तानी खेलाडीको पकड छ । पाकिस्तानी बलर हसन अली जारी प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले अहिलेसम्म चार खेलमा १० विकेट लिइसकेका छन् । यस्तै तीन खेलबाट सात विकेट लिएका पाकिस्तानका जुन्नाइद खान चौथो स्थानमा छन् । बलिङतर्फ कुनै पनि भारतीय खेलाडी शीर्ष पाँच स्थानभित्र अटाउन सकेका छैनन् । त्यसैले भारतको उत्कृष्ट ब्याटिङ र पाकिस्तानको उत्कृष्ट बलिङले आइतबारको उपाधि भिडन्त रोमाञ्चक बन्ने पक्का छ ।