ओम र मनास्लु बैकको संयुक्त कारोबार
काठमाडौं : ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक मर्ज भई संयुक्त कारोबार सुरु गरेको छ । शुक्रबारबाट ओम डेभलपमेन्ट बैंक लिमिटेडको नाममा संयुक्त कारोबार सुरु भएको हो । संयुक्त कारोबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गर्नुभएको थियो । कार्यक्रममा गर्भनर डा. नेपालले नेपालको वर्तमान बैंकिङ अवस्था र नेपालको वित्तीय वातावरणबारे जानकारी दिनुभएको थियो।
बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकको विविध पक्षको जानकारी गराउनुभएको बैंकले जनाएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब एक अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१ पुगेको छ ।
बैंकको निक्षेप ग्राहक एक लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार एक सय, एटीएम ग्राहक १५ हजार र मोबाइल बैंकिङ ग्राहक ३७ हजार पाँच सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताउनुभयो । बैंकका अध्यक्ष सुशीलकुमार गोशलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्रकुमार बाटाजुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।