चालकका गुरु
काठमाडौं : बिहान पाँच नबज्दै गोपीबहादुर मगर आफ्नो गाडी लिएर अफिस आइपुग्छन् । शान्तिनगरको कारेश्वरी मन्दिरभन्दा केही पर रहेको ‘साइराम ड्राइभिङ इन्स्टिच्युट'को सफाइसँगै उनको काम सुरु हुन्छ । गाडी लिएर भीमसेनगोलास्थित चौरमा पुग्दा उनीसँग ड्राइभिङ सिक्न कोही न कोही कुरिरहेकै हुन्छन् । प्रत्येकलाई आधा घन्टाभित्र उनले गाडीलाई चौर वरिपरी घुमाउने मात्रै होइन, अगाडि पछाडि लैजानेसम्मको सीप सिकाउँछन् । चौरमा गुडाएर अलि सिपालु भएपछि बायाँपट्टिको सिटमा आफैं बसेर सिकारुलाई सडकमै लैजान्छन् ।
३५ वर्षअगाडि एक फ्याक्ट्रीमा काम गर्न धादिङको सुनौलो बजारबाट काठमाडौं आएका मगर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । कमाइ राम्रै भए पनि घरपरिवारबाट टाढा भइराख्नुपर्ने भएपछि १५ वर्षको परदेशी जीवन छाडेर फर्किएका थिए उनी । त्यसपछि स्वरोजगारका रूपमा उनले ड्राइभिङ इन्स्टिच्युट खोलेका हुन् करिब सात वर्षअगाडि । सुरु-सुरुमा उनी आफैं सिकारु थिए । अरूकै गाडी चलाएर सिके ।
पछि आफैं प्रशिक्षक बने । अहिले उनी बिहान पाँच बजेदेखि बेलुका ६/७ बजेसम्म ड्राइभिङ सिकाउँछन् । दैनिक १७, १८ प्रशिक्षार्थीलाई सिकाउँछन् उनले । महिनाको ३० देखि ६० हजारसम्म कमाइ हुने उनले बताए । उनको इन्स्टिच्युटबाट चारपांग्रे मात्र नभई दुईपांग्रे मोटरसाइकल र स्कुटर चलाउन पनि प्रशिक्षण दिइन्छ । वर्षायामको एक दुई महिनाबाहेक वर्षभरि नै उत्तिकै कमाइ हुने उनी बताउँछन् । जीवनको डेढ दशक वैदेशिक रोजगरामा बिताएका गोपी मगर अहिले स्वदेशमै प्रसन्न छन् ।
भन्छन्, ‘दुई चार रुपैयाँ बढी कमाउने लोभले विदेशीनुभन्दा यहीँ बसेर साथीहरूसँग हँसीमजाक गर्दै काम गर्नु रमाइलो छ।' करिब एक सातादेखि गोपीसँग ड्राइभिङ सिकिरहेका वैदेशिक रोजगार व्यवसायी मिलन रम्तेल अहिले कच्ची सडकमा गाडी कुदाउन सक्ने भइसकेका छन् । हातमा सीप भए जहाँ गएपनि काम पाइन्छ भन्ने सोचले उनले सवारीसाधन चलाउन सिक्न थालेका हुन् । यहाँ म्यानपावर कम्पनीको अवस्था त्यति राम्रो नभएकाले बन्द भइहाले विदेशीने उनको सोच छ । देशको अस्थिरता देखेर निराश मिलन दुवई वा कतार गएर चालकको काम गर्ने योजना बुनिरहेछन् ।
बानेश्वरका देवेन्द्र श्रेष्ठले पनि ड्राइभिङ सिकाउन थालेको करिब १५ वर्ष भयो । ‘अग्नि मोटर ड्राइभिङ इन्स्टिच्युट'का सञ्चालक श्रेष्ठ दाजुहरूको गाडी चलाउँदा चलाउँदै यो क्षेत्रमा लागेका हुन् । सुरु-सुरुमा पार्ट टाइम पेसाका रूपमा सिकाउने उनी अहिले दिनभर प्रशिक्षणमै व्यस्त हुन्छन् । तीनवटा चारपांग्रे र दुईवटा स्कुटर सहितको इन्स्टिच्युटले उनलाई सन्तुष्टि दिइरहेको छ । काम गर्दा केही दुःख भएपनि आम्दानी पनि राम्रै हुने भएकाले दिनभरी जाँगर चल्ने बताउँछन् उनी । ‘महिनामा ५० हजारदेखि डेढलाखसम्म कमाई हुन्छ, स्टाफलाई दिएर र गाडीहरु मर्मत गरेर पचास हजार जति बच्छ', आम्दानी अनुभव सुनाए उनले।
सवारीसाधन अहिले दैनिक जीवनसँगै जोडिन थालेकाले विद्यालय शिक्षाको पाठ्यक्रममै ड्राइभिङ कोर्ष राख्नुपर्ने मान्यता छ उनको । त्यसमाथि विदेशीने ट्रेन्ड बढ्दै गएकाले यो कोर्ष अनिवार्यजस्तै भइसकेको छ । भन्छन्, ‘सुरुमा ड्राइभिङ नभई जागिर पनि नपाइने हुनाले विदेशीनेमध्ये धेरै यो सिक्न आउँछन् ।' उनको इन्स्टिच्युटमा स्टुडेन्ट भिजामा र डिभी परेर जानेहरूले बढी सिक्न आउने गरेका छन् ।
दिनमा करिब ३५ देखि ४० जनासम्मलाई पनि उनले सिकाएका छन् । अहिले अफिसका स्टाफले मात्रै नभ्याएर उनी आफैं पनि सिकाउन चौरमा आउँछन् । काम गर्ने क्रममा उनले धेरै चुनौती पनि भोगेका छन् । सिकाउने ठाउँको अभाबले गाह्रो हुने गरेको उनको गुनासो छ । ‘सडकमा सिकाउन पाइँदैन । तर, सडकमा ननिकाली चालक बन्न सकिन्न,' उनले भने, ‘त्यसैले बरु कुन समयमा दिने हो, कुन सडकमा नदिने हो भनेर सरकारले स्पष्ट रुपमा तोकिदिनुपर्यो ।' गाडी ठोक्किने, मान्छेलाई हान्ने र कहिलेकाहीँ लडेर हातखुट्टा भाँचिनु स्वाभाविक नै भए तापनि त्यस्तो सिरियस घटना अहिलेसम्म नभएको उनको दाबी छ ।
जीवनको डेढ दशक वैदेशिक रोजगारमा बिताएका गोपीबहादुर मगर अहिले स्वदेशमै ड्राइभिङ प्रशिक्षकका रूपमा आफ्नै व्यवसाय चलाउँछन् ।
ताप्लेजुङ फुङ्लिङका अम्बर खड्का काठमाडौं आएको १८ वर्ष भयो । अध्ययनको सिलसिलामा परिवारसँगै यहाँ आएका थिए उनी । होटलमा काम गर्न चीन र दुबइसम्म पुगेर फर्किएपछि ड्राइभिङ गुरु बनेको पनि अब त सात वर्ष पुगिसकेछ । संघर्ष गरे विदेशमा कमाइने पैसा यही कमाइने हुनाले फेरि विदेश जान मन नलागेको सुनाउँछन् उनी । १५/१६ देखि ४०/५० वर्षसम्मका ब्यक्तिलाई स्कुटर र बाइक सिकाउने उनी अचेल प्रायः विदेशीने सोच राखेका युवा नै आउने बताउँछन् । साइकल चलाउने ब्यक्तिलाई १५ दिनमा लाइसेन्स दिलाएको बताउने उनी एक महिनामा जोकोहीलाई पनि दुई पांग्रे सवारीको चालक बनाउनसक्ने बताउँछन् । सिकाउने बेलामा धुवाँ धुलो खान परेपनि कसैको अधिनमा बसेर काम गर्न नपर्ने भएकाले काम गर्न सहज भएको अनुभव छ उनको।
करिव चार वर्ष पहिले एसएलसी दिएर काठमाडौं पढ्न आएका बसन्त अधिकारी पनि यही काममा रमाएका छन् । सिन्धुली दुधौलीका उनी अहिले मासिक १६ हजार तलब खान्छन् । तर पनि अझै राम्रो सुविधा पाए साउदी वा कतार गएर कमाएर ल्याएको पैसाले लगानी गरेर आफ्नै गाउँमा ड्राइभिङ इन्स्टिच्युट खोल्ने सोचमा छन् । ड्राइभिङ प्रशिक्षण लिनेहरुमा विशेषगरी बिहान बेलुकी बढी चाप हुने गरेको पाइन्छ । बिहान मर्निङ वाकसँगै सीप पनि सिक्न पाइने हुँदा धेरैले यही समय सदुपयोग गरेका पनि देखिन्छ ।