हिमालका सहारा
काठमाडौं : हिमाल आरोहण गर्नेको चर्चा विश्वभर हुने गर्छ तर आरोहीलाई आरोहण गराउने पथप्रदर्शनको चर्चा भने सुनिँदैन । पर्दापछिका यी साहसी आरोहीको चर्चा नसुन्दा दक्ष पथप्रदर्शकबारे कसैले चाल पाइरहेका हुँदैनन् । त्यति मात्र होइन, रोजगारको एउटा गतिलो विकल्प बन्न सक्ने यो क्षेत्र पनि अधिकांशले थाहै पाउँदैनन् । सञ्चार माध्यमले पनि आरोहीकै चर्चा गर्छन् तर आरोहण गराउनेलाई चिन्दा पनि चिन्दैनन् ।
यी सहासी पथप्रदर्शकविना कुनै पनि हिमाल आरोहणको कल्पना गर्न सकिँदैन । बाटो बनाउने, डोरी टाँग्नेदेखि आरोहीलाई बोक्ने, ठेल्ने, तान्नेसम्मको काम गर्छन् उनीहरू । हिँड्न नसकेका आरोहीलाई बोकेर तल झार्ने, रेस्क्यु गर्नेजस्ता काम पनि पथप्रदर्शककै हो । कीर्तिमानीलाई बोकेर चुचुरो पुर्याएको उदाहरण पनि प्रशस्तै छन् । यसले पनि पथप्रदर्शकको भूमिका कति हुन्छ भन्न सकिन्छ । १५ लाखको जीवन बिमा र ४ लाखको उपचार बिमाकै भरमा पथप्रदर्शक हिमालमा यो जोखिम मोलिरहेछन् ।
हिमाल चढाउने आरोहीहरू भनेर चिनिन्छन् यी पथप्रदर्शक राज्य र अन्य निकायबाट उचित सम्मान पाउन नसक्दा दुःखी छन् । ‘पर्वतारोहण क्षेत्रको खम्बानै हामी हौ तर राज्यले दिँदै आएको आरोहण प्रमाणपत्रसमेत बन्द गरेर झन् अपमान गरेको छ', नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका महासचिव अन्तर्राष्ट्रिय पथप्रदर्शक फूर्वा नाम्गेलले दुखेसो पोख्छन् । राज्यले सम्मान र कदर नगर्दा धेरैले पेसा छोडेर बिदेसिएको उनले बताए । हाल ४५ जना अन्तर्राष्ट्रिय पथप्रदर्शक १७ जना राष्ट्रिय पथप्रदर्शक छन् । नेपाल हिमाल भएका विश्वका २३ राष्ट्रका पर्वतारोहण पथप्रदर्शकको सामूहिक संगठन अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको सदस्यसमेत बनेको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले विश्वभरका पर्वतारोहणसम्बन्धी नियम र कानुनलाई पालना गरेर आरोहण गराउने गरेका छन् ।
पर्वतारोहणलाई व्यवस्थित बनाउनेमा राज्यको भूमिका उदासीन भएको अन्तर्राष्ट्रिय पथप्रदर्शक छिरिङ पाण्डे भोटेको आरोप छ । राज्यका तर्फबाट थप सेवा-सुविधाको व्यवस्था नगर्ने हो भने अबको १० वर्षसम्ममा गाइड भेटिन छाड्ने उनको दाबी छ । हिमालै हिमालको देश भनेर चिनिने नेपालमा पर्वतारोहण क्षेत्रमा दक्ष पथप्रदर्शकको संख्या न्यून छ ।
तालिमले दक्ष
पछिल्लो समय प्रविधिको विकाससँगै पथप्रदर्शक पनि तालिम प्राप्त भएका छन् । तालिम प्राप्त पथप्रदर्शकको संख्या न्यून भए पनि परम्परागत रूपमा काम गर्दै आएका पथप्रदर्शकको संख्या भने उल्लेख्य छ । सरकारले पनि एक आरोहीले कम्तीमा एक गाइड लिनुपर्ने प्रावधान तोकेको छ । तालिमप्राप्त र परम्परागत रूपमा काम गर्दै आएका पथप्रदर्शकमा भिन्नता हुने संघका कार्यवाहक अध्यक्ष सुनारबहादुर गुरुङ बताउँछन् । आरोही समान भएकाले जुन गाइडबाट आरोहण गरे पनि उद्देश्य पूरा हुने तर सुरक्षाको हिसाबले केही भिन्नता हुने उनको तर्क छ ।
तालिमप्राप्त गाइडसँग सुरक्षा तथा नयाँ-नयाँ सामग्रीको प्रयोगबारे ज्ञान हुने तथा स्वास्थ्यबारे पनि आवश्यक जानकारी हुने हुनाले आरोहण थप सुरक्षित हुन्छ । उनीहरूसँग एक हिमालको मात्र नभई विश्वभरकै हिमालबारे जानकारी हुने हुनाले आरोहण सहज हुने गुरुङको तर्क छ ।
सधैं जोखिम र साहस
सन् २०१६ मा भारतीय आरोही चेतन साउ लाई सगरमाथाको आठ हजार सात सयमिटरको बालकोनी देखि पायोनियर एडभेन्चरका प्रमुख गाइड लाक्पा शेर्पाले उद्वार गरेका थिए । गाइडले गरेका यस्ता साहसी उदाहरण प्रसस्तै छन् । तर यि सहासी कामको सम्मान भने न राज्य पक्षबाट त न आरोहीबाटनै पाउन सकेका छन् । ६० वर्षीय पाकिस्तानी आरोही अव्दुल जाभार भाट्टीलाई गत जेठ ७ गते सगरमाथा चुचुरो पुर्याएर फर्कने क्रममा आरोही गाइड दावा साङ्गे शेर्पाले झण्डै ज्यान गुमाउनु पर्यो । उनको दुवै हातका औंला गुमेका छन् ।
सगरमाथाको आरोहण पछि बिरामी भएर फसेका यी आरोही र गाइड दावालाई बालकोनी शेर्पा खाङग्री आउटडोर कम्पनीका आरोही गाइड आङछिरिङ लामा, निमाग्याजेन र जाङबु शेर्पा बालकोनीदेखि सात हजार नौ सय मिटरको साउथकोलसम्म रेस्क्यु गरेका थिए । आरोहण मात्र नभएर रेस्क्यु र ज्यानै दिएर जस्तोसुकै पहल गर्न पछि पर्दैनन् तैपनि यी समाचारभन्दा पर हुन्छन् ।
यसै वर्ष सगरमाथा आरोहणका लागि पर्वतारोही सञ्चालक संघले बाटो नबनाएपछि बेलायती सेनाको टोलीसँगै क्याम्प दुईदेखि माथि बाटो बनाउन पायोनियर एडभेन्चर प्रालिका गाइड लाक्पा शेर्पाले नेतृत्व गरेर आरोहण सफल बनाएका थिए । उनको योगदानले यस वर्षको आरोहण सफल भएको एजेन्सी बताउँछन् । तर, लाक्पाको नाम बेलायती सेनाको आरोहणदलले कहीँ पनि उल्लेख नगरेको भन्दै लाक्पा दुखेसो गर्छन् ।
सुरक्षा र रेस्क्युको जिम्मा पनि गाइडमै भर पर्ने भएकाले आरोहीको जीवन पनि पूर्णरूपमा गाइडमै भर पर्छ । अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक नरेन शाही आरोहण सफल गर्नु नै ठूलो नभएर सुरक्षाको विषयमा बढी ध्यान दिनुपर्ने बताउँछन् । हिमाल त्यही हो त्यही रहन्छ अर्को पटक आरोहण गर्दा पनि केही बित्दैन तर चुचुरो पुग्ने लक्ष्य राख्दा मौसमको ख्याल नगर्ने, सुरक्षाको ख्याल नगर्ने, सबै सुरक्षित महसुस नभए पनि चुचुरो पुग्ने लक्ष्य राख्दा दुर्घटनासमेत बढ्ने गरेको शाही बताउँछन् ।
केही आरोही गाइडको भनाइ नमानी घमण्ड गर्दा मृत्यु हुने र आरोहीकै कारणले गाइडको पनि मृत्यु हुन्छ । मौसम, स्वास्थ्य स्थिति र प्राविधिक विषयलाई बढी ख्याल गर्नुपर्ने भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडको भूमिका जिम्मेवार बन्ने शाहीले बताए । चुचुरो पुग्नेभन्दा पनि सुरक्षालाई महत्व दिए पर्वतारोही क्षेत्र थप परिस्कृत, सुरक्षित बन्दै जाने र नेपालमा पर्वतारोहण क्षेत्र विश्वव्यापी रूपमा सकारात्मक सन्देश जाने उनी बताउँछन् ।
सगरमाथा आरोही संघका महासचिव लाक्पा रंडु शेर्पा गाइडहरूको सम्मानका लागि राज्यले विशेष कार्यक्रम नै ल्याउनुपर्ने माग गर्छन् । दुई वर्षदेखि हाइअल्टिच्युड वर्कर, शेर्पा सहयोगजस्ता नाममा दिँदै आएको आरोहणको प्रमाणपत्रसमेत बन्द गरेको भन्दै उनले तिनको तत्काल व्यवस्था गर्न माग गरे । यसरी आरोहणलाई सफल र व्यवस्थित बनाउनेको भूमिका पर्वतारोहण क्षेत्रमै महत्वपूर्ण भए पनि उचित सम्मान र सहयोग नभएको आरोप गाइडहरूको छ ।