हस्तकलाका हस्ती
हस्तकला व्यवसायी हरि सिन्चुरी विकलाई कुनै समय खानलगाउनसमेत धौधौ थियो । पुर्खा नै हस्तकला व्यवसायमा संलग्न हुँदै आए पनि उनीहरूले जीवन बदल्न सकेका थिएनन् । पुर्खौदेखि मजदुरी गरेर खानलगाउनसमेत धौधौ हुदैँ आएपछि उनले पैसा जम्मा पारेर व्यवसाय सुरु गरे । उनले दुई दशकदेखि आफ्नै लगानीमा व्यवसाय सुरु गरेका छन् ।
धादिङ कल्लेरी स्थायी घर भई ललितपुर बस्दै आएका हरिले हस्तकलाका सामग्री बनाउने र विदेशमा निर्यात गर्ने काम गर्छन् । समाजले ‘दलित' भन्ने समुदायमा जन्मेका उनी अहिले सफल व्यवसायीको रुपमा परिचित हुँदा खुसी व्यक्त गर्छन् । अहिले उनी ग्लोवल सेन्चुरी प्रालिका सञ्चालक तथा महाप्रबन्धक हुन् ।
पाँच लाख रुपैयाँ लगानी गरेर सुरु गरेको व्यवसाय अहिले एक करोड भन्दा बढी पुगेको उनी बताउँछन् । ‘पुर्खादेखि काम गर्दै आए पनि मजदुरीमा मात्र सीमित हुँदा पुस्ता बदलिन सकेन तर मलाई व्यवसाय गरेर मात्र जीवन बदल्न सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेँ' उनी आफ्नो व्यवसाय कथा सुनाउँछन् ।
उनले सुनचाँदीका गहनाका साथै काष्ठकलाका विभिन्न प्रकारका सामग्री बनाउने र बिक्री गर्ने गर्छन् । मेटलक्राफ्ट, मूर्ति, स्टोनक्राप्ट, चित्रकला, बेतबास, पस्मिना, हड्डीका सामग्री उनको पसलमा पाइन्छन् ।
पुर्खौली व्यवसायलाई व्यवसायीकरण गर्न तालिमसमेत चलाएका छन् उनले । नयाँ पुस्ता यसमा आकर्षित हुन नसकेको उनी स्विकार्छन् । भन्छन्, ‘नयाँ पुस्ता हस्तकलामा आकर्षित देखिँदैन, उनीहरूलाई सीप सिकाउनु हाम्रो कर्तव्य हो ।' नेपालको कला संस्कृति जगेर्ना तथा पुख्र्यौली पेसालाई निरन्तरता दिएर व्यावसायिक सफलता हात पार्न सकेकोमा उनी सन्तुष्ट देखिन्छन् । परम्परागत सीपलाई व्यवसायीकरण गरी लाभ लिन सक्नु अहिलेको आवश्यकता भएको उनको बुझाइ छ ।
अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा आकर्षित छन् । केही बाध्यताले र धेरै रहरले विदेश जाने गरेका छन् । ‘वैदेशिक रोजगारीमा जानुको साटो नेपालमै व्यवसाय गर्न सके दीर्घकालीन लाभ लिन सकिन्छ' उनी भन्छन् । स्वदेशमा काम गरेर प्रशस्त आयआर्जन गर्न सकिने उनको बुझाइ छ । उनले सयौंलाई रोजगारी दिइसकेका छन् । उनको पसलमा अहिले २० जना भन्दा बढीले काम गर्छन् । सिजनका बेला ४० जना भन्दा पनि बढीले काम गर्ने उनी बताउँछन् । दर्जनौं नेपालीलाई रोजगारीको अवसर दिन सकेकोमा उनी आत्मसन्तुष्ट छन् । सानो कामलाई पनि निरन्तरता दिन सके सफल व्यवसायी बनिन्छ भन्ने उदाहरण दिएका छन् उनले ।
पुस्तौनी पेसालाई निरन्तरता दिएर हरि सिन्चुरी विकले ह्यान्डिक्राफ्टबाटै प्रशस्त आम्दानी गरेका छन् ।
हरि ०३६ साल साउन १५ गते धादिङको कल्लेरी १ मा सामान्य परिवारमा जन्मेका हुन् । उनले सरस्वती निमावि डुम्रीचौर विद्यालयबाट आफ्नो अध्ययन सुरु गरेका थिए । स्व. कृष्ण बहादुर कामी (सिन्चुरी) तथा माता माकुरी कामीको दुई छोरी पछिको जेठो छोराको रुपमा जन्मिएका हरि पुर्खौली पेशालाई व्यवसायीकरण गर्न सकेकोमा गौरब महसुश गर्छन् ।
नेपालमा अरनीको पालादेखि नै काष्ठकला र हस्तकलाको आकर्षण हुदैँ आएको छ । हातैले बनाउने भएकाले पनि नेपाली हस्तकलामा मौलिकपन हुन्छ । त्यसकारण पनि नेपाली हस्तकलाको माग विदेशमा अधिकमात्रामा आउने गरेको छ । अमेरिका, युरोपलगायतका क्षेत्रमा उनले आफ्ना उत्पादन बिक्री गर्ने गछन् ।
कला, संस्कृति र परम्परा जोगाईराख्न नयाँ पुस्ता अकर्षित हुनुपर्ने र व्यवसायिकतमा जोड दिनुपर्ने अपरिहार्यता भएको उनी बताउँछन् । ‘पुस्ता हस्तान्तरण कम हुदैँ गएको छ, यस पेशामा आकर्षित गर्न सबैको ध्यान जान जरुरी छ' उनी भन्छन् । आत्मसम्मान र व्यवस्थित नभएका कारण युवा पलायन हुने गरेको उनले बताए ।
लगनले गरे यही पेसामा पनि सम्मान र पैसा भएको उनको बुझाइ छ । अहिले बजारमा कम्तीमा उनले २५ प्रतिशत हिस्सा ओगट्न सफल भएको दावी गर्छन् । ‘मागअनुसार खपत गर्न सक्छु, स्वदेश, विदेशबाटसमेत माग आइरहेको छ' उनी भन्छन् । आकर्षक डिजाइन भएको भन्दै अर्जेन्टिना, अमेरिका, युरोपबाटसमेत आफ्ना उत्पादनको खोजी हुने गरेको उनले सुनाए ।
जिन्दगी सफल या असफल हुनमा त्याग, तपस्या र इमान्दारीको भूमिका हुने बताउँछन् । काम गर्न दुःख नमाने सफल व्यक्ति बन्न धेरै समय नलाग्ने उनले बताए । ग्राहकले अर्डर गरेको तीन महिनादेखि ६ महिनासम्म आफ्ना उत्पादन दिइ सक्छन् । उनले दैनिक एक सयभन्दा बढी हस्तकलाका सामग्री बनाउने गर्छन् । औंठी, चुरालगायत हस्तकला सामग्रीको नेपालमै उपभोग बढ्दै गएको उनी बताउँछन् ।
‘आफूसँग जे छ त्यसैमा आत्मसन्तुष्टि भई काम गर्न सक्ने मानिस नै सफल हुन्छ' उनको सफलता सूत्र हो यो । सफल हुन परिवारको साथ अपरिहार्य रहेको उनको भोगाइ छ । आमाबुबा, श्रीमती तथा परिवारका सदस्यकै कारण आफू सफल भएको ठान्छन् । भन्छन्, ‘परिवारको सहयोगले जस्तोसुकै दुख कष्ट पनि सहजै अपनाएर अघि बढ्न सकिन्छ ।'
व्यवसायमा सफलतासँगै उनले दर्जनौं सम्मान पाएका छन् । दर्जनौं बिभिन्न क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाएको आफ्नो मिहिनेत र परि श्रम नै ठान्छन् । उनले हालै मात्रै ‘वर्ल्ड क्राफट्स काउन्सिल'बाट अन्तर्राष्ट्रिय स्तरको सम्मान पाएका छन् । कुबेतबाट पाएको उक्त सम्मान उनको गुणस्तरीय हस्तकला सामाग्रीकै कारण थियो ।
त्यस्तै उनी सन २००८ मा सर्वोत्कृष्ट उद्यमीलाई प्रधान गरिने ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड' र २०१० मा तेस्रो ‘स्माल इन्टरप्राइजेज एक्सलेन्स अवार्ड'बाट सम्मानित भएका थिए । त्यस्तै, अन्नपूर्ण प्रावि सम्मान, अम्बेडकर सम्मान पदक अन्तराष्ट्रिय पुरस्कार, नेपाल दलित संघ राष्ट्रिय दलित सदनबाट सम्मानलगायतका पुरस्कार पाएका छन् ।
हरि सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । उनी सामाजिक राजनीतिक रूपमा पछाडि परेका दलित समुदायको हकहित र सहयोगमा पनि उतिकै मात्रामा सक्रिय छन् । उनले दलित बस्तीमा सञ्चालित अन्नपूर्ण प्राविलाई जमिन दान गरेका थिए । उक्त विद्यालयमा विपन्न वर्गका दलित विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले उनको सहयोगको कदर गर्दै सम्मान गरेको थियो ।
उनी भन्छन्, ‘आफूले गरेको काममा जनताले मूल्यांकन गरी मलाई सम्मान गरेको धेरै खुसी भएको छु । त्यो क्षण म अहिले पनि सम्झिरहेको छु ।' विशेष गरी दलित समुदायका बच्चाहरू पढ्न पाउने बिद्यालयलाई आफु दलित समुदायकै व्यक्ति भएर सहयोग गर्न पाएकोमा निकै खुसी व्यक्त गर्छन् । सामाजिक काम गर्न पाउँदा आफूलाई आनन्द आउने उनी बताउँछन् । मानिस सफल हुन त्याग तपस्या र इमान्दारीको भूमिका हुने बताउने सिन्चुरी आफ्नो काममा दत्तचित भई लागेकाले समाजसेवा गर्न पाएको बताए ।
नेपालमा हस्तकला व्यववयमा ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । हस्तकला व्यवसायले वार्षिक १५ अर्ब बराबरको निर्यात गर्दै आएको छ ।