बारीमै कुहियो आलु
मकवानपुर : वेमौसमी तरकारीको पकेट क्षेत्र मकवानपुरको थाहा नगरपालिका किसान आलुले मूल्य नपाउँदा मर्कामा परेका छन् । हालसम्मकै सस्तो मूल्यमा आलु बिक्री गर्नु परेपछि लगानी उठाउन पनि मुस्किल परेको किसानको गुनासो छ ।
थाहा नगरपालिका राजन कार्कीले १० रोपनी बारीमा आलु रोप्नु भएको थियो । बारीमा आलु खन्न व्यस्त उहाँ लगानी पनि नउठ्ने पिरले चिन्तित हुनुहुन्छ । ‘यस वर्ष लगानी पनि नउठ्ने भयो, आलु बारीमै कुहिएर जानथाल्यो', उहाँले भन्नुभयो । थाहा नगरका किसान सुजल रायमाझी एक बिघा बारीमा लगाएको आलु खन्न व्यस्त हुनुहुन्छ । ‘आलु बारीमै कुहिन थालिसक्यो,घरमा राख्ने ठाउँ छैन', उहाँले भन्नुभयो, ‘बिक्री गरौं मूल्य छैन ।'
४० रुपैयाँ प्रतिकेजी बिउ खरिद गरेर रोपे पनि हाल किलोको १० रुपैयाँसम्म आलु बिक्री गर्नुपर्नेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताउनुभयो । हाल सेतो आलु १० र रातो आलु १३ रुपैयाँसम्म बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष यहाँका किसानले सेतो आलु २५ र रातो आलु ३० रुपैयाँ प्रतिकेजि बिक्री गरेको संघले जनाएको छ ।
गत वर्ष यहाँका किसानले दुई अर्ब ५० करोड रुपैयाँको आलु बिक्री गरेको संघको तथ्यांक छ । गत वर्ष ५० केजिको १३ लाख बोरा आलु उत्पादन भएको संघले जनाएको छ । ‘यस वर्ष गत वर्षभन्दा थप आलु उत्पदन भएको हाम्रो अनुमान छ',थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्र प्रधानले भन्नुभयो, ‘तर मूल्य सस्तो हुँदा समस्य भएको छ ।'
शीत भण्डार अभाव
सस्तोमा आलु बिक्री गर्न बाध्य यहाँका किसान शीत भण्डारको अभावमा महँगो मूल्य तिरेर भण्डारका लागि आलु हेटौंडा र काठमाडौं पठाउन बाध्य छन् । थाहा नगर उद्योग वाणिज्य संघका अनुसार यहाँका किसानले गत वर्ष २०७३ मा ६० हजार बोरा आलु शीत भण्डारणको लागि काठमाडौं र हेटौंडा पठाएका थिए । ‘शीत भण्डरा नहुँदा आलु भण्डारको मात्र करौडौं रुपैयाँ खर्च हुने गरेको छ', थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार केसीले भन्नुभयो, ‘आर्थिक अभावमा हामीले लामो समयदेखि प्रयास गरे पनि शीत भण्डार निर्माण गर्न सकेका छैनौं ।'