चुनावको विरुद्धमा नजान राजपालाई कांग्रेस नेता महतको आग्रह
धनकुटा: पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले आन्दोलनको वाहनामा मधेसका जनताको भविष्यमाथी खेलवाड नगर्न राष्ट्रिय जनता पार्टी (राजपा)लाई सुझाव दिनुभएको छ ।
नेपाल प्रेस यूनियन धनकुटाले सोमवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्नु हुँदै डा. महतले आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका डा. महतले राजपाले आफ्नो क्षेत्र दावी गरेको केही स्थानमा राजपाका स्थानीय नेताहरुले असार १४ को निर्वाचनको लागि उत्साहपूर्वक स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु त्यसैको उदाहरण भएको बताउनु भयो । राजपालाई चुनावमा सहभागी गराउनकै लागि पटक–पटक निर्वाचन मिति सारिएको उहाँले बताउँनु भयो । उहाँले भन्नुभयो ‘सरकारले अत्याधिक उदारता देखाएर यो निर्णय गरेको हो । अब फेरी पनि निर्वाचन सार्ने भन्ने कुरा हुँदैन ।’