चुनावी मैदानमा १८ हजार पाँच सय महिला
काठमाडौ : प्रदेश नम्बर १,५ र ७ मा आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ४७ हजार चार सय २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
ती मध्ये २८ हजार आठ सय २९ जना पुरुष,१८ हजार पाँच सय ८९ जना महिला र दुई जना तेस्रोलिङगी हुनुहुन्छ । नेपालका ७५ जिल्लाका तीन सय ३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार गाउँपालिका र नगरपालिकाको अध्यक्ष तथा प्रमुख पदमा एक हजार सात सय ४२ जना पुरुष,एक सय ५१ जना महिला र एक जना तेस्रो लिङगीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गाउपालिका र नगरपालिकाका उपाध्यक्ष र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउने एक हजार पाँच सय नौ जना मध्ये तीन सय १२ जना पुरुष र एक हजार एक सय ९७ महिला रहेको निर्वाचन आयोगको तथ्याङकले देखाएको छ ।
आयोगका अनुसार वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउने १० हजार चार सय ८० जना मध्ये १० हजार ६९ जना पुरुष, चार सय १० जना महिला र एक जना तेस्रो लिङगी हुनुहुन्छ ।
सदस्य पदमा १७ हजार चार सय १७ जनाले उम्मेदवारी दर्ता गराएको मध्ये १६ हजार सात सय ६ जना पुरुष र सात सय ११ जना महिला हुनुहुन्छ । महिला सदस्यमा आठ हजार चार सय ६९ जना र दलित महिला सदस्यमा सात हजार ६ सय ५१ जनालेउम्मेदवारी दर्ता गराउनु भएको छ ।