सुनसरीका मतदान स्थलमा नेपाली सेनाको निगरानी
धरान : असार १४ गते हुने स्थानीयतहको निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता भएसंगै नेपाली सेनाले मतदान स्थलहरुमा निगरानी बढाएको छ । सुनसरीका १२ वटा स्थानीय तहका एक सय ६६ मतदान स्थलहरुमा नेपाली सेनाले छुट्टै सुरक्षा व्यबस्था मिलाएको छ ।
सुनसरीका मुख्य स्थानहरु धरान, इटहरी, इनरुवा, दुहबी तथा सीमावर्ती गाउपालिकाहरु कोसी, धोक्राहा, हरिनगरा, बर्जु र गडि गाउपालिकाहरुमा समेत नेपाली सेना परिचालन गरि निर्वाचनको सुरक्षा व्यबस्था मजबुत पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताउनु भयो।
आईतवार उमेद्वारी मनोनयन दर्ता भएलगतै नेपाली सेनाले सुनसरीका १२ वटै निर्वाचन अधिकृतहरुको कार्यालय, मतदान स्थल र सीमावर्ती क्षेत्रमा हुने अपराधिक घटना नियन्त्रणका लागि सेना परिचालन गरिएको प्रजिअ पराजुलीले बताउनु भयो ।
विशेषगरी भारतसंग सीमाना जोडिएका गाँउपालिकाहरुमा राजपा, सिके राउत समुह र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचन बिरोधी गतिविधि हुन सक्ने भन्दै सेनाले चौविसै घण्टा गस्ती बढाएको छ ।
जिल्ला सुरक्षा समितिले आवश्यकता अनुसार सुनसरीका जुन सुकै स्थानमा पनि सेना परिचालन गर्न सक्ने भन्दै आबश्यक परेका खण्डमा थप जनशक्ति परिचालन गरिने प्रजिअ पराजुलीले जानकारी दिनुभयो ।