बाढीबाट असाममा ६९ हजार प्रभावित
नयाँदिल्ली: भारतको उत्तरपूर्वी राज्य असाममा आएको बाढीको कारण ६९ हजार व्यक्ति प्रभावित हुनुको साथै अन्य ४ हजार भन्दा बढी विस्थापित भएका छन् ।
भारतीय सरकारी रेडियो अल इन्डिया रेडियो (एआइआर) ले सोमबार यस विषयमा जानकारी दिएको छ । सो रेडियोले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बाढीबाट असामको पाँच वटा जिल्ला प्रभावित भएको जानकारी दिएका छन् । पाँचवटा जिल्लाका करिब ६९ हजार व्यक्ति प्रभावित भएको एआइआरले जानकारी दिएको समाचारमा उल्लेख छ ।
बाढी प्रभावित जिल्लाहरुमा उदाल्गुरी, विश्वनाथ, सोनीतपुर, लखिमपुर र दराङ रहेका छन् प्राप्त एक अर्काे समाचारमा उदालगुरी सोनीतपुर जिल्लाका करिब ४ हजार व्यक्तिलाई शरणार्थी शिवीरमा राखिएको जनाइएको छ । अधिकारीहरुका अनुसार बाढीको प्रकोप जारी रहेको र यसका कारण १६ सय हेक्टर भन्दा बढी कृषियोग्य जमीन प्रभावित भएको जनाइएको छ । रासस÷सिन्हवा