राजपाका १२ नेतामाथि सार्वजनिक अपराध मुद्दा : एक वर्ष कैद हुन सक्ने
नवलपरासी : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष र जिल्ला संयोजकसहित १२ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले सोमबार सार्वजनिक अपराधमा मुद्दा चलाएको छ।
प्रदेश ५ मा रहेको परासी क्षेत्रको स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले शनिबार र आइतबार ३१ जनालाई पक्राउ गरेको थियो।
प्रतापपुर र परासीबाट पक्राउ परेका उनीहरुमध्ये सोमबारसम्म १९ जनालाई छाडिएको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो।
सार्वजनिक मुद्दा चलाइएकामा केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोजक पुरन चौधरी, केन्द्रीय सदस्य हैदरअली मोमिन हुनुहुन्छ। त्यसैगरी मुद्दा चलाइएका कार्यकर्तामा राजेन्द्र तिवारी, अशोककुमार गुप्ता, शेषनारायण केवट, महमद माली, राजेश्वर केवट, जयराम गुप्ता, लोकबहादुर चौधरी, मुरारी अग्रहरी र राममुरत चौधरी रहनु भएको छ।
पक्राउ परेका उपर घटना भएको मितिले ३५ दिनभित्र सार्वजनिक अपराधमा मुद्दा दायर गर्नुपर्ने प्रावधान छ। सार्वजनिक अपराध ऐन अनुसार सजायको कसुरको मात्रा हेरेर बिगो बराबरसहित २५ हजारसम्म जरिवाना गरिन सकिने छ।
जरिवानाले प्रयाप्त हुन नदेखिएमा प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ।