कतारी टिभी अलजजिरा : सानो सलार्इ, ठूलो तनाव
मिडिया यो दुनियाँको सबैभन्दा शक्तिशाली चिज हो । यसले निर्दोषलाई दोषी र दोषीलाई निर्दोष सावित गरिदिन सक्छ र यही यसको शक्ति हो । किनभने मिडियाले मानिसहरूको मस्तिष्क नियन्त्रण गर्छ । -माल्कोम एक्स
खाडी क्षेत्रको निकै सानो तर वैभवशाली/प्रभावशाली देश कतार यतिबेला छिमेकीहरूको नाकाबन्दीमा छ । नाकाबन्दीको अन्त्य कसरी होला ? अनुमान गर्न अझै कठिन छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूका अनुसार नाकाबन्दी अन्त्यको लागि कतारी टेलिभिजन नेटवर्क अलजजिराको प्रसारण बन्द गर्नुपर्ने माग उठिरहेको छ । साउदी, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमनलगायतका देशले कतारविरुद्ध आफ्ना स्थल र हवाई क्षेत्र मात्र होइन, अलजजिराको एयरस्पेस पनि बन्द गरिदिएका छन् । आखिर एउटा टेलिभिजन स्टेसन क्षेत्रीय राजनीतिमा सौदाबाजीको हिस्सा किन बनिरहेको छ ? अनि के यो नाकाबन्दी अन्त्य हुँदा टेलिभिजनको अवशानपछि मात्र होला त ? यो लेखनमा यही प्रश्नको जवाफ खोज्ने प्रयत्न गरिएको छ ।
अरब मामिलाविज्ञ तथा टिप्पणीकार सुल्तान सुद अल-क्वासेमीले न्युजविकमा लेखेका छन्, 'अलजजिरा नेटवर्क धेरै अघिदेखि विवादको विषय रहँदै आएको थियो तर अरब विद्रोहचाहिँ 'ब्रेकिङ पोइन्ट' बन्न पुग्यो ।' उनले गरेको प्रक्षेपणअनुसार खाडी देशहरूबीच मध्यस्थता नभए अलजजिरा टेलिभिजन नेटवर्क पूर्णरूपमा बन्द गर्नुपर्ने माग जबर्जस्त बन्न सक्छ ।
त्यसैगरी बेलायतको बेडफोर्डसायर विश्वविद्यालयकी प्राध्यापक नोहा मोलरले वासिंटन पोस्ट्सँग भनेकी छिन्, 'अहिलेको तनाव अन्त्यको लागि कतारलाई सम्झौता गर्न बाध्य पारिनेछ र अलजजिरा बलिदानीमा पर्न सक्छ । अथवा अलजजिराको आवाज कमजोर पारिनेछ किनभने साउदीसँगको झगडामा यसअघि पनि यस्तो गरिएको उदाहरण छ ।'
अलजजिरा किन निशानामा ?
अरब क्रान्तिबाट सत्ताच्युत हुने अरब क्षेत्रका प्रथम शासक इजिप्टका राष्ट्रपति होस्नी मुबारकले सत्ताच्युत हुनुअघि कतारस्थित अलजजिराको हेडक्वार्टर भ्रमण गरेपछि लाक्षणिक भाषामा प्रतिक्रिया दिएका थिए, 'यति सानो सलाइको बट्टा (स्मल म्यच बक्स) ले यति ठूलो तनाव मच्चाइरहेको छ ? ' होस्नीलाई सत्ताच्युत गर्न साँच्चिकै तनाव पैदा गरेको अलजजिरा अहिले पूरै खाडी क्षेत्रमा तनावको कारण बनिरहेको छ ।
नाकाबन्दीको चेपुवामा परेको कतार आफ्नो सबैभन्दा लोकप्रिय र प्रभावशाली माध्यम बनेको टेलिभिजन नेटवर्क बन्द गर्न तयार होला कि नहोला ।
अलजजिरा नै त्यस्तो पहिलो अरबी मिडिया हो, जसले ट्युनिसियामा भएको सत्ताविरुद्धको जनआन्दोलन (जसलाई थुप्रै अरबी तानाशाहलाई विस्थापित गर्ने अरब विद्रोहको सुरुआत मानिन्छ) लाई महत्वपूर्ण स्थान दिएर कभरेज गरेको थियो । अरब आन्दोलनलाई महत्व दिन थालेपछि नै अलजजिराले उक्त क्षेत्रका अधिकांश सरकारसँग दुस्मनी कमायो । त्यति नै बेला साउदी अरेबियाले अलजजिरा नेटवर्कको लाइसेन्स खारेज गर्दै रियादस्थित ब्युरो बन्द गरिदियो । यमनका 'आतंकवादी' लाई प्रवद्र्धन गरेको र साउदी अरेबियामा विभाजन ल्याउन खोजेको आरोप लगाएर रियाद ब्युरो बन्द गरिएपछि जोर्डनले पनि अम्मानस्थित अलजजिराको कार्यालय बन्द गराउँदै लाइसेन्स खारेज गरिदियो । अहिले मध्यपूर्वमा अलजजिरा बन्द गर्ने लहर नै चलेको छ ।
आखिर मध्यपूर्व क्षेत्रमा अलजजिरा किन सबैको दुस्मन बन्न पुग्यो त ? अलजजिरामा १२ वर्ष काम गरेका रुबेन बनर्जी हिन्दुस्तान टाइम्समा लेख्छन्, 'अलजजिरा हेरेर अरब क्षेत्रमा धेरैका आँखा पाक्नु स्वाभाविक हो । किनेभने खाडी क्षेत्रमा अलजजिराले उपभोग गरिरहेको स्तरको प्रेस स्वतन्त्रताको लागि स्थान छैन र यो स्वयं कतारमा समेत लागू हुन्छ, जहाँ हालै 'दोहा न्युज' भनिने वेबसाइट बन्द गरिएको छ ।'
कतारको प्रवक्ता कि स्वतन्त्र माध्यम ?
सन् १९९६ मा अरबिक भाषाको पहिलो समाचार च्यानल सुरु गरेको कतारले त्यतिबेला प्रतिबद्धता गरेको थियो- सञ्चारकर्मीहरूलाई उनीहरूले देखेका कुरा समाचार बनाउन दिइनेछ । अलजजिराले सुरुदेखि नै धेरै कुरा फरक गरिरहेको छ र विवाद पनि जन्माएको छ । अरब र बाह्य दुनियाँका राजनीतिक विद्रोही, इस्लामिक र इजरायलीलाई समेत मिडियामा खुला स्थान दिने हिम्मत अलजजिराअघि कुनै पनि मध्यपूर्वका मिडियाले गरेका थिएनन् । सन् २००१ म अमेरिकामा भएको आक्रमणपछि अलजजिराले अलकायदाका प्रमुख ओसामा बिन लादेनको भिडियो सन्देश प्रसारण मात्र गरेन, लादेनसँग अन्तवार्ता नै लिएर प्रसारण गरेको थियो । अलजजिराका प्रशंसकहरू भन्छन्- यो टेलिभिजन नेटवर्कले मध्यपूर्वको बन्द समाजमा 'मिडिया ल्यान्डस्केप' नै बदलिदियो ।
सन् २००८-९ मा भएको गाजा युद्धका क्रममा अलजजिराले आफूलाई श्रेष्ठ सावित गर्न सफल भएको बताउँछन्, मिडिया विश्लेषकहरू । गाजा युद्धमा संसारका कुनै पनि टेलिभिजनले अलजजिराको हाराहारी कभरेज पनि गर्न सकेनन् । यो टेलिभिजन नेटवर्क खाडी देशका असन्तुष्ट आवाजको मुख्य माध्यम त बनेको छ नै, संसारभरिका फरक विचारहरू अलजजिराबाटै मुखरित हुन्छन् कि जस्तो आभास हुन थालेको छ । अलजजिराले आफ्ना दर्शकहरू नाटकीय रूपमा बढायो । किनभने उसले जुन विचार निषेधित मानिएको थियो, त्यसलाई नै प्रधानता दियो, तर यस्तो गर्दा कतारको विदेश नीतिलाई केन्द्रमा राख्ने गरेको आरोप अलजजिरामाथि लाग्ने गरेको छ ।
पूर्व अलजजिराकर्मी रुबेन बनर्जी अलजजिराको श्याम पक्ष उजागर गर्दै भन्छन्, 'अलजजिराको न्यूजरुमको बनोटका कारण कहिलेकाहीं 'जर्नालिज्म र एक्टिभिज्म' को रेखा मेटिन पुग्छ । खासगरी उपल्लो दर्जाका कर्मचारीको भावनाहरूका कारण पनि यस्तो हुन पुग्छ । जतिबेला इजिप्टमा मोहम्मद मोर्सीलाई इजिप्सेली सेनाले 'कू' मार्फत हटाउँदै गर्दा अलजजिरा न्युजरुममा तनावको अवस्था थियो । किनभने न्युजरुम स्टाफहरू इजिप्सेली र मुस्लिम दुवै थिए । अर्को कुरा अलजजिराका स्टाफले इजरायलसँगको द्वन्द्वमा प्यालेस्टाइनीहरूका पीडा बढी देखाउँछन् । किनभने अलजजिरामा कतारीभन्दा बढी प्यालेस्टाइनी, जोर्डनियन र इराकी कार्यरत छन्।'
अमेरिकन युनिभर्सिटी अफ कायरोका प्राध्यापक राशा अब्दुल्लाहको टिप्पणी छ, 'जब कतारले सूचना मन्त्रालय विस्थापित गर्यो, त्यतिबेला हामीले सकारात्मक कदमको रूपमा स्वागत गर्यौं, तर जब समय बित्दै गयो, अलजजिरा कतारको सूचना मन्त्रालय मात्र होइन, विदेश मन्त्रालयको पनि भूमिकामा देखिन थाल्यो ।'
अमेरिकाको नजर
अलजजिराले अमेरिकाको ध्यान सन् २००१ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि अलजजिराबाट प्रसारण भएका अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनका अडियो र भिडियो सन्देशले तानेको थियो । अलजजिराको सुनौलो रङको अरेबिक लोगो त्यतिबेलाका सर्वाधिक खोजीमा रहेका ओसामा विन लादेनका भिडियो सन्देशको पर्यायवाची बन्न पुगेको थियो । इराक युद्धताका तत्कालीन 'बुस प्रशासन' अलजाजिराको कभरेजबाट क्रूद्ध बनेको थियो । सन् २००३ मा अमेरिकाले बगदादमा गरेको हवाई आक्रमणमा अलजजिराका कर्मचारी नै मारिएका थिए ।
विकिलिक्सले सार्वजनिक गरेको अमेरिकी विदेश मन्त्रालयको गोप्य केवलका अनुसार सन् २००९ मा तत्कालीन अमेरिकी राजदूतले कतारले अलजजिरालाई सौदाबाजीको माध्यम बनाइरहेको आरोप लगाएका थिए ।
'अमेरिकन जर्नालिज्म रिभ्यु' ले त्यतिबेला अलजाजिराले अमेरिका र अमेरिकीप्रति द्वेष फैलाउने खालका रहेको निष्कर्ष निकालेको थियो । न्युयोर्क टाइम्सले सम्पादकीय नै लेखेर अलजजिराले सेप्टेम्बर ११ को आक्रमण हुने दिन अमेरिकी यहुदीहरूलाई काममा नजान सल्लाह दिइएको भन्ने अरबी भाषाको अलजजिराले प्रसारण गरेको सामाचार सामग्रीप्रति आपत्ति जनाएको थियो ।
कतार अलजजिरा बन्द गर्न तयार होला ?
सन् २००६ मा सुरु भएको र एक सयभन्दा बढी देशमा प्रसारण हुने अलजजिरा अंग्रेजी भर्सन छोटो समयमै थुप्रै अवार्ड जित्न सफल भइसकेको छ । अलजजिराले जति छोटो समयमा आफ्नो प्रभाव विस्तार त्यो विश्वभर कार्य क्षेत्र बनाएर स्थापना भएका कुनै पनि टेलिभिजनले गर्न सकेका थिएनन् । कुनै पनि घटना हुनासाथ विश्वका जुनसुकै कुनाबाट क्षणभरमै प्रत्यक्ष कभरेज गर्न सक्ने अलजजिराको क्षमता र शैली लोभलाग्दो देखिन्छ ।
करिब-करिब विज्ञापनरहित (अलजजिरामा कतार एयरलाइन्सको बाहेक अन्य कुनै विज्ञापन प्रसारण हुँदैन) टेलिभिजन अलजजिराको आर्थिक स्रोत (कतारी राजपरिवार) यति बलियो छ कि उसलाई नाफा कमाउन आवश्यक नै छैन ।
नाफा नकमाईकन पनि अलजजिराले संसारका अधिकांश स्थानबाट चाहेकै समयमा हरेक विषयलाई उत्तिकै गहिरो गरी कभरेज गरिदिन सक्छ, जुन उसका प्रतिस्पर्धीको लागि सहज विषय होइन । अलजजिराको लागि 'स्क्रिप्ट' लेखको रूपमा काम गरिसकेका सर्माइन नर्वानीले मिन्ट प्रेससँग भनेका छन्, 'अलजजिरा अंग्रेजी छोटो समयमै निकै सफल भयो । किनभने यसले व्यावसायिक भनिने मिडियाका 'बासी सामग्री' लाई चुनौती दियो ।'
अलजजिरा सफलताको महत्वपूर्ण पाटो उसले प्रयोग गरेको अहिलेको सबैभन्दा सशक्त माध्यम सामाजिक सञ्जालको उच्चतम प्रयोग पनि हो । एजे प्लसलगायतका सामाजिक सञ्चालमा आधारित माध्यम पछिल्लो पुस्तामाझ लोकप्रिय छन् । फेसबुकले एजे प्लसमा प्रकाशित भिडियोलाई आफ्नो माध्यमको सबैभन्दा मन पराइएको कन्टेन्टको रूपमा सूचीकृत गरेको छ । त्यसैगरी अलजजिराबाट प्रसारण हुने एजे स्ट्रिमजस्ता कार्यक्रम संसारभरका सामाजिक सञ्चाल प्रयोगकर्तामाझ लोकप्रिय छन् ।
यो पृष्ठभूमिमा प्रश्न उठिरहेको छ- नाकाबन्दीको चेपुवामा परेको कतार आफ्नो सबैभन्दा लोकप्रिय र प्रभावशाली माध्यम बनेको टेलिभिजन नेटवर्क बन्द गर्न तयार होला कि नहोला । खाडी क्षेत्रका विज्ञहरूका अनुसार अलजजिरा बन्द नै गर्ने सम्झौता कतारले गर्ने छैन । अलजजिरा कतारको लागि गुमाउन कठिन पर्ने खजानामध्ये पर्छ । किनभने कतारको लागि मध्यपूर्व क्षेत्रमा प्रभाव कायम राख्न अलजजिराजस्तो शक्तिशाली माध्यम अरू केही पनि हुन सक्दैन । १० लाख अरब क्षेत्रका प्रयोगकर्तामाझ हालै गरिएको सर्वेक्षणमा के तथ्य बाहिर आएको छ भने एउटा कुरा सबै अरबी ट्वीटर प्रयोगकर्ताले फलो गर्छन्, त्यो हो- अलजजिरा ।
वासिंटन पोस्ट्सँग कुरा गर्दै इजरायलको इन्टरडिसिप्लिनरी सेन्टर हर्जलियामा इन्टरनेसनल कम्युनिकेसन प्रोग्राम हेड ताल स्यामुएल-अज्रान भन्छन्, कतारमात्र यस्तो देश हो, जुन आफैंले खर्च व्यहोर्ने टेलिभिजन नेटवर्क (अलजजिरा) भन्दा कम चर्चित छ ।
ब्रुकिङको दोहा सेन्टरका भिजिटिङ फेलो नोहा अब्बोएल्दाहाब भन्छन्- अलजजिरा बन्द भयो भने मलाई आश्चर्य लाग्नेछ किनभने अलजजिरा कतारको 'सफ्ट पावर' को केन्द्रमा छ, जुन कतार सहजै गुमाउन तयार हुने अवस्था देखिँदैन ।
गौतम एपीवान टेलिभिजनका समाचार डेस्क संयोजक हुन्