भरतपुर प्रकरणमा सर्वोच्चमा बहस शुरु

 भरतपुर प्रकरणमा सर्वोच्चमा बहस शुरु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा बहस शुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको वेन्चमा बहस शुरु भएको हो ।

पुनमतगणना गर्नु पर्ने भन्दै परेको रिट निवेदकका तर्फबाट बहस शुरु भएको हो । रिट निवेदकका वकिलहरुको बहसपछि सरकारी र निर्वाचन आयोगका वकिलहरुले बहस गर्नु हुनेछ । बहस मंगलवार नै सकिएमा फैसला हुनेछ भने बहस नसकिए फैसला बुधवार हुन सक्नेछ ।


यसअघि न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलाशले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएमा पुनमतगणना हुनेछ भने राणाको अन्तरिम आदेशलाई खारेज गरेको अवस्थामा पुनमतदान हुनेछ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो ।


भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली बीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

 काँग्रेस र माओवादी केन्द्रको चितवन जिल्ला समितिले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई स्वागत गर्ने,छिटो भन्दा छिटो मतदानको मिति तोक्न माग गर्ने, वडा नम्बर १९ मा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवारको प्यानलको पक्षमा मतदान गर्ने र काँग्रेसले आफनो सम्पूर्ण मत मेयर पदकी साझा उम्मेदवार रेणु दाहालका पक्षमा मतदान गर्ने निर्णय गरिसकेका थिए ।

 माओवादी केन्द्रका तर्फबाट १९ नम्बर वडामा उम्मेदवार रहेका वडा अध्यक्षका उम्मेदवार खडग गुरुङ,महिला सदस्य विना गुरुङ,दलित महिला सदस्य शान्ति बिश्वकर्मा,सदस्यहरु राजेन्द्र वस्ताकोटी र दुर्गा लामाको उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको थियो । माओवादी केन्द्र र काँग्रेसको गठबन्धनले मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाहलाई उम्मेदवार बनाएको थियो ।

 

सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयलाई एमालेले अस्वीकार गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.