निर्वाचनलाई उत्सवको रुपमा मनाउन गृहमन्त्रीको आह्वान
धनगढी : गृहमन्त्री जर्नादन शर्माले स्थानीय तहको निर्वाचनलाई उत्सवका रुपमा मनाउन सर्बसाधारणलाई आग्रह गर्नुभएको छ । प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीको मंगलबार धनगढीमा उद्घाटन गर्दै गृहमन्त्री शर्माले निर्वाचनलाई उत्सवकोरुपमा लिन आग्रह गर्नुभएको हो । उहाँले पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको र दोस्रो चरणको निर्वाचनमा सबैले उत्सवका रुपमा मनाउन आह्वान गर्नुभयो ।
तराईको २ नम्बर प्रदेशको निर्वाचन राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा ल्याउनका लागि उसकै सहमतिमा सारेको बताउदै गृहमन्त्री शर्माले अहिले भइरहेको निर्वाचनमा राजपाले स्वतन्त्र रुपमा उमदेवारी दिएर पनि चुनावमा भाग लिइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचन लगत्तै प्रदेशको निर्वाचन र त्यसपछि संघीय निर्वाचन सम्पन्न भएपछि मुलुकमा नयाँ विकास र आर्थिक समृद्विको युगको सुरुवात हुने बताउनुभयो । अहिले प्रशासनिक पुर्नसंरचनाको आवश्यकता परेकाले सरकार त्यसमा काम गरिरहेको बताउनुभयो ।
गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको सुरक्षा गोष्ठीमा प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरिक्षक सिहबहादुर श्रेष्ठ, नेपाली सेनाका बालाधिकृत रथी बलदेबराज महत, निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीको पनि सहभागिता रहेको छ ।
प्रदेश नम्बर ७ का सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा भएको गोष्ठीमा ९ वटै जिल्लाका सुरक्षा प्रमुखहरुले आ–आफ्नो जिल्लाको सुरक्षाको अवस्था प्रस्तुत गरेका छन ।