सय रुपैयाँ धरौटीमा छुटे राजपाका नेताकार्यकर्ता
नवलपरासीः निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा सार्वजनिक अपराधमा मुद्दा चलाइएका नवलपरासीका १२ जना राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) का नेता कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।
उनीहरुलाई एक सय रुपैयाँ धरौटीसहित तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । सोमबार राती रिहा हुनेमा केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी र जिल्ला संयोजक पुरन चौधरीसहित छन् ।
असार ४ गतेको मनोनयन दर्तामा अवरोध ल्याउने उद्देश्यले गतिविधि सञ्चालन गरेको भन्दै प्रहरीले शनिवार र आईतबार गरी ३१ जनालाई पक्राउ गरेको थियो । अन्यलाई कागज गराएर छाडेपनि उनीहरु माथि सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो ।