आर्मीलाई गोल्छाको साथ, तीन बर्षका लागि ७५ लाखको प्रायोजन
काठमाडौं: नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई गोल्छा अर्गनाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। काठमाडौंमा एक कार्यक्रमका बीच गोल्छा अर्गनाईजेसन र आर्मीबीच मंगलवार सम्झौता भएको छ । सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख योगेन गुरुङ र सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले हस्ताक्षर गरे।
सम्झौता अनुसार अब आर्मीले प्रत्येक बर्ष २५ लाख बरावरको सामग्री प्रायोजनस्वरुप तीन बर्षसम्म पाउने छ । क्लबले नगद लिने छैन भने जर्सी लगायत खेलसामग्री प्राप्त गर्नेछ। प्रायोजनबापत अब आर्मी क्लबले खेल्ने सम्पूर्ण प्रतियोगितामा बजाज पल्सर लोगो अंकित जर्सी तथा खेल सामग्रीहरु प्रयोग गर्नेछ।
प्रायोजन सम्झौता पछि हंसराज हुलासचन्द बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले आर्मीसँग जोडिन पाउनु कम्पनीको लागि सौभाग्यको कुरा रहेको बताउनुभयो । गोल्छाले भन्नुभयो, ‘यसपटक राम्रो फुटबल खेलिरहेको आर्मी जस्तो बलियो टिमसँग जोडिन पुगेको छौं ।’ उहाँले प्रायोजनलाई व्यवसायिक रुपमा मात्र नहेरेको बताउदै सेनाको टोली नेपाली खेलकुदमा उत्कृष्ट टोली रहेको र टोलीमा रहेका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा उच्च प्रदर्शन गर्दै आएको बताउनुभयो ।
सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले प्रायोजन फुटबल टोलीहरुका लागि मात्र रहेको र अन्य कुनै कम्पनिले अरु कुनै खेलमा प्रायोजन गर्न चाहेमा स्वागत गर्ने बताउनुभयो ।
कार्यक्रममा पुरुष टोलीका कप्तान भारत खवास र महिला टोलीकी कप्तान अन्चाली वाइवाले आर्मीले प्रयोग गर्ने ‘पल्सर’ अंकित नयाँ जर्सी प्रदर्शन गर्नुभएको थियो ।