महन्थको ‘शान्ति' र हृदयेशको ‘वापस' ले काम नगर्दा ...
स्थानीय तह निर्वाचनको विरोधमा शनिबार (असार ३ गते) राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नवलपरासीले सदरमुकाम परासीमा लाठी जुलुससहित सभा आयोजना गरेको थियो । सभामा राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, हृदयेश त्रिपाठी र जितेन्द्र सोनालले सम्बोधन गर्ने कार्यक्रम थियो ।
आइतबार (असार ४ गते) हुने उम्मेदवारी दर्तालाई अवरोध गर्न अघिल्लो दिन लाठी जुलुस र सभा आयोजना गरिएको थियो । त्यसैका लागि शीर्ष नेताहरू परासी आउने कार्यक्रम थियो । लाठी जुलुस करिब साढे एक बजे राजपाको कार्यालयबाट चुनावविरोधी नाराबाजी गर्दै निस्कियो । नेताहरूले कांग्रेस कार्यकर्ताका घरमा राखिएका झन्डा निकाल्न लगाए । उत्तेजित कार्यकर्ताको भीडले सुनवल-परासी सडकमा रहेको माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय तोडफोड गरे ।
बुद्धचोकको सभास्थलमा करिब ४ बजे महन्थ ठाकुरबाहेकका नेता आइसक्नुभएको थियो । सभा सुरु गरियो । केन्द्रीय नेता सबैले सम्बोधन गर्नुभयो । राजेन्द्र महतोले सम्बोधन गर्दै गर्दा साढे पाँच बजे ठाकुर पनि आइपुग्नुभयो । त्यतिन्जेल हृदयेश त्रिपाठीबाहेक अन्य नेता भैरहवा जानु छ भन्दै गइसक्नुभएको थियो ।
राजेन्द्र महतोको भाषणपछि ठाकुरले आफ्ना भनाइ राख्न सुरु गर्नुभयो । भाषण सुरु भएको १५ मिनेटपछि राजपाका केही नेता/कार्यकर्ताले सभास्थल छेउमा रहेको मध्य नेपाल यातायात व्यवसायी समितिको कार्यालयबाट एमालेको चुनाव प्रसारका लागि तयार पारेको टिसर्ट राखिएको बोरा निकालेर हुटिङसहित सडकमा जलाउन थाले ।
उक्त दृश्य हेर्दै भाषण गरिरहनुभएका ठाकुरले भन्नुभयो, ‘अच्छा, रहने दिजिए कोही बात नही है ।' यसबीच, महतो पनि सभास्थलबाट भैरहवा जानु छ भन्दै निस्किसक्नुभएको थियो । नेता/कार्यकर्ता हुटिङ गर्दै बोराको टिसर्ट जलाएको दृश्य नजिकै रहेको प्रहरी र सशस्त्र प्रहरीले नियालिरहेका थिए । हुटिङ गरिरहेका केही नेता/कार्यकर्ताको समूहमध्ये नेपाल यातायात समितिको कार्यालयमा पुगेर टिसर्ट किन राखेको भन्दै कर्मचारीलाई गालीगलौज गर्न थाले ।
आक्रोशित केही कार्यकर्ताले कर्मचारीलाई बाहिर निकाल्दै कुर्सी र टेबुल तोडफोड गर्न थाले । सभामा सहभागी भएका कार्यकर्ता, सर्वसाधारण र मञ्चमा रहेका हृदयेश त्रिपाठी, केही केन्द्रीय सदस्य र जिल्ला नेताहरूको ध्यान त्यसतर्फ केन्द्रित भयो । कांग्रेस कार्यकर्ताले घरमा राखेका झन्डा निकालिएको दृश्य, माओवादी केन्द्रको पार्टी कार्यालयको बोर्र्ड तोडफोड र टिसर्ट जलिरहेको दृश्य हेरेर पनि मौन बसेका सशस्त्र र नेपाल प्रहरीको टोली तोडफोड हुन थालेपछि भने समितिको कार्यालयतर्फ पुगेर भीडलाई नियन्त्रण गर्न थाल्यो ।
प्रहरी र कार्यकर्ताबीच झडप हुन थालेपछि भाषण गरिरहनुभएका नेता ठाकुरले राजनीतिक प्रसंगलाई थाती राख्दै भन्नुभयो, ‘शान्ति, शान्ति' । ठाकुरको शब्दलाई कसैले वास्ता गरेनन् । तनाव बढ्न थालेपछि ठाकुरका सुरक्षाकर्मी मञ्चमा पुगेर रोस्टमबाट बाहिर निकाले । मञ्चमा रहेका नेता त्रिपाठी उठ्नुभयो । उहाँले भाषणका लागि रोस्टममा राखिएको माइक लिएर कार्यकर्तालाई संयम अपनाउन निर्देशन दिनुभयो । त्रिपाठीले पटक-पटक माइकबाट ‘वापस' ‘वापस' भन्दै फिर्ता बोलाए पनि नेता-कार्यकर्ताले उहाँको आग्रहलाई बेवास्ता गर्दै प्रहरीसँगको वादविवाद र हानाहानलाई निरन्तरता दिए ।
लाठी जुलुसदेखि त्यस दिनका सबै आन्दोलनका गतिविधिलाई क्यामेरामा कैद गरेको म अब ठूलै झडप हुने अनुमान गर्दै नेता त्रिपाठीसँगै झडप भएको स्थलको तस्बिर कैद गर्न मञ्चमा पुगेँ । एक्कासि अ श्रुग्यास प्रहार हुन थाल्यो । पटक-पटक गरी करिब १०/१२ राउन्ड फायरिङको आवाज आइरह्यो । त्यसमा गोलीको आवाज पनि थियो । म भने सुरक्षाकर्मीले गोली चलाएकोतर्फ क्यामेराले फोटो खिच्दै लम्किरहेँ । गोली र अ श्रु ग्यासको परवाह नगरी फोटो खिचेको देखेर होला सुरक्षा अधिकारीले मलाई सुरक्षित स्थानतर्फ जान संकेत गरे । एपी वान टेलिभिजन, अन्नपूर्ण एफएम र अनलाइनहरूबाट आउने फोनका कारण थप फोटो खिच्न भ्याइएन ।
राजपा कार्यकर्ताले बोराबाट एमालेको टिसर्ट निकालेर जलाएपछि परासीमा झडप भएको थियो ।
करिब १५ मिनेटसम्म बुद्धचोकमा झडप भएको थियो । करिब ४५ मिनेटपछि स्थिति शान्त भएसँगै राजपाका नेता/कार्यकर्ता पुनः झडप भएको सभास्थल नजिक आएर प्रहरी प्रशासनसँग आक्रोशित हुँदै भनाभन गर्न थाले । त्यस क्रममा राजपाका केन्द्रीय सदस्य हैदरअली मोमिनसहित तीन जनालाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि वातावरण केही मत्थर भयो । साँझको सात बज्न लागिसकेकाले म पनि समाचार तयार गरेर पठाउन अफिसतर्फ लागेँ ।
राति आठ बजे समाचार तयार गरिरहँदा रोयल परासी होटल' बाट नेताहरूसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको राजपाका जिल्ला संयोजक पुरन चौधरीले जानकारी दिनुभयो ।
घटनाबारे नेता हृदयेश त्रिपाठीसँग मोबाइलमा प्रतिक्रिया मागे । उहाँले भन्नुभयो, ‘बन्दुक र सत्ताको भरमा चुनाव गराउनु जनभावना विपरीत हो । यसले वैधानिकता पाउँदैन । दलका नेताहरूले आयोजना गरेका सभा नेतालाई राज्यले घुसपैठ गराएर बिथोल्न खोजेको छ ।' सरकारले कायरतापूर्ण निर्वाचन गराउने निर्णय गरेको परासीको घटनाले छर्लंग पारेको भन्दै उहाँले घटनाको निन्दा गर्नुभयो ।
घटना घट्नुको प्रमुख कारण एमालेको प्रचार अंकित टिसर्ट थियो । यो घटनामा आन्दोलनरत राजपाका कार्यकर्ता नेताको नियन्त्रणमा थिए कि थिएनन्, त्यो म ठोकुवासहित भन्न सक्दिनँ । तर, परासी गृहजिल्ला भएका नेता त्रिपाठीको ‘वापस' र ठाकुरको ‘शान्ति' शब्द भने त्यो दिन कार्यकर्ताले सुनेको नसुन्यै गरिदिए ।