धनगढीको मेयरमा कस्ले मार्ला बाजी ?
धनगढी: धनगढीमा ११ जना मेयर र ११ जना उपमेयरको उम्मेदवारी दर्ता भए पनि तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका व्यवसायी गोपाल हमालले यी मुख्य दलका उम्मेदवारलाई कडा चुनौती दिनुहुनेछ ।
कांग्रेसले धनगढी आफ्नो किल्ला बताउँदै आएको छ । ०७० सालको संविधानसभा निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले क्षेत्र नंं ६ रहेको उपमहानगरपालिकामा जितेकाले धनगढी कांग्रेसको किल्ला भएको दाबी पार्टी सभापति नरनारायण शाह मनु गर्नुहुन्छ ।
तर, टिकट वितरणमा भएको किचलोका कारण शाहले भनेजस्तै कांग्रेसलाई चुनाव जित्न सहज देखिँदैन । अहिले पनि धनगढी उपमहानगरपालिकाका चार वटा वडामा कांग्रेसका बागी वडाध्यक्षले उम्मेदवारी दिएर प्रचारप्रसार थालेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार नृप ओड धनगढी नगर सभापति हुनुहुन्छ ।
दलित समुदायका ओडमाथि लामो समय नगरपालिकाको सर्वदलीय संयन्त्रमा रहेर पनि काम नगरेको आरोप छ । फोरम लोकतान्त्रिकबाट पनि दलित समुदायकै प्रेम विसीको उम्मेदवारी परेकाले ओडमाथि चुनौती थपिएको छ ।
कांग्रेसले उपमेयरमा राना समुदायकी जीवन रानालाई टिकट नदिएको भन्दै थारू समुदाय रुष्ट भएको चर्चाले पनि कांग्रेस कमजोर देखिन थालेको छ । तर, रानाथारु समुदायलाई सहमतिमा ल्याइसकेको पार्टी सभापति शाहको दाबी छ । यस्तै, एमालेले राजनीतिमा त्यति खुलेर नलागेका व्यक्ति तथा निजी कलेज सञ्चालक दुर्गाप्रसाद जोशीलाई मेयरमा उठाएपछि एमालेको अवस्था पनि बलियो नमान्नेहरू धेरै छन् । जोशी भने धनगढीमा एमालेको बलियो र अनुशासित संगठन भएकाले आफू जित्ने दाबी गर्नुहुन्छ । जोशीका ‘पेपरलेस गभर्निङ', शैक्षिक क्रान्तिजस्ता विषयले चर्चा पाएका छन् ।
धनगढीमा डोटीबाट झरेको समुदायको बाहुल्य छ । यसलाई धनगढीमा ‘डोटी सेन्टमेन्ट' भनिन्छ । जोशी पनि डोटीबाट तराई झरेकाले क्षेत्रीय हिसाबले मतदान हुँदा उहाँले जित्न सक्ने अनुमान गर्नेहरू कम छैनन् । ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा डोटीबाट एमाले नेता महेश्वर पाठक सांसद बन्नुभएको थियो । ०५४ मा एमालेका खेमराज पाण्डे मेयर बन्नुभएको थियो ।
०४६ सालको जनआन्दोलनपछि भएका निर्वाचनको रुझान हेर्ने हो भने धनगढीले हरेक निर्वाचनमा रङ फेरेको छ ।
धनगढीको मेयरमा राना समुदायको प्रतिनिधित्व गर्दै माओवादी केन्द्रबाट रामसमझ राना मेयरमा उठ्नुभएको छ । ०७० सालको संविधानसभा निर्वाचनमा पनि चौथो र ०७१ सालको उपनिर्वाचनमा धरौटी गुमाएको माओवादी केन्द्रले यसपटक आफ्नो अवस्थामा सुधार आएको भन्दै जित्ने दाबी गरिरहेको छ । ‘यसपालि ०६४ साल फर्किन्छ' मेयर पदका उम्मेदवार रामसमझ रानाले भन्नुभयो । ०६४ सालको निर्वाचनमा धनगढी नगरपालिका, उर्मा र फूलबारी गाविस रहेको कैलाली ६ बाट माओवादीकी लीला भण्डारीले जित्नुभएको थियो । अहिले त्यही उर्मा र फूलबारी गाविस गाभेर धनगढी उपमहानगर बनाइएको छ ।
माओवादी केन्द्रका उम्मेदवार रानाले आफूलाई रानाथारु समुदायका मत आउने दाबी गर्नुभएको छ । धनगढीमा झन्डै ३७ प्रतिशत अथवा २७ हजारभन्दा बढी मत राना र थारू समुदायको छ । यदि, जातीय भोट एकलौटी गयो भने रानालाई जित्न कुनै असहज नरहेको विश्लेषकको अनुमान छ । सुन्दर सुदूरपश्चिम अभियान, सुदूरपश्चिमको विकासका लागि २१ किलोको माला र २१ बुँदे मागसहित देशका कार्यकारी प्रमुखलाई घच्घच्याउने अभियानका लागेका व्यवसायी गोपाल हमालको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दलका लागि चुनौती बनेको छ ।
‘धनगढी नगरक्षेत्रको ७० प्रतिशत मतदाता हाम्रो पक्षमा छन्, उर्मा र फूलबारीका मतदाताले पनि एक भोट विकासलाई दिने भनेपछि हाम्रो जित निश्चित छ,' हमालको प्रचार प्रसार समिति संयोजक दानबहादुर रावलले भन्नुभयो । हमालले, धनगढीको विमानस्थल पक्की बनाउन एक रुपैयाँ अभियानको अगुवाइ गर्नुभएको थियो ।
०४६ सालको जनआन्दोलनपछि भएका निर्वाचनको रुझान हेर्ने हो भने धनगढीले हरेक निर्वाचनमा रङ फेरेको छ । ०४८ सालमा भएको संसदीय निर्वाचनमा धनगढीले कांग्रेस नेता टेकबहादुर चोख्याललाई जितायो । ०५१ सालमा एमालेका पाठक । ०५६ को आमनिर्वाचनमा धनगढीले कांग्रेसकै चोख्याललाई जितायो।
त्यतिबेलाको स्थानीय निकायको निर्वाचनमा पनि धनगढीले फरक नतिजा देखाएको छ । ०४९ सालमा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा धनगढीवासीले मेयरमा कांग्रेस किशोरकुमार बमलाई निर्वाचित गरे भने ०५४ सालको स्थानीय निकाय निर्वाचनमा एमालेले बाजी मार्यो । शिक्षण पेसामा क्रियाशील खेमराज पाण्डेले मेयरको टिकट पाएपछि उहाँको प्यानल नै जितेको थियो ।
०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीबाट बाजी मार्नुभयो । झन्डै दोब्बर मतान्तरले उहाँले एमालेका महेश्वर पाठकलाई पराजित गर्नुभयो । डडेल्धुरा र कैलाली ६ (अहिलेको उपमहानगरपालिका) गरी दुई ठाउँबाट जितेका देउवाले कैलाली ६ छाडेपछि लगत्तै भएको उप-निर्वाचनमा पनि कांग्रेसका पुष्करनाथ ओझाले जित्नुभएको थियो ।
अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलनपछि मतदाताको सोचमा आएको परिवर्तनले पनि धनगढीको नतिजालाई प्रभावित पार्ने देखिन्छ । दुईवटा फरक-फरक आन्दोलनपछि मतदाताको रुझान कता जाने हो, सहजै अनुमान लगाउन गाह्रो छ ।