स्वर्गमा पनि योग !
हिजोआज योगलाई योगा भनेको सुनिन्छ । योग हाम्रै भूमिको उत्पादन हो, तर योगा अंग्रेजको जिब्रोले गर्ने उच्चारण भए पनि त्यो योग नै हो । यहाँसम्म कसैमा विवाद छैन । असहमति र विवादको सुरुआत अंग्रेजबाट भएको होइन, उनीहरूको उच्चारणबाट पनि भएको होइन । यसको श्रीगणेशवाला त्यही हो, जसले आफ्नो योग छोडेर अंग्रेजको योगा समातेको छ ।
योगाभन्दा उसले आफूलाई स्थानीय भन्दा भिन्न देखाइरहेको, ठानिरहेको छ । यहाँ यसैलाई औंल्याउन खोजिएको मात्र हो । अंग्रेजले काठमाडौंलाई क्याटमान्डु भन्नु उसको दोष होइन, क्याटमान्डुलाई नेपालीले पनि त्यसै भन्न थाले भने कहाँ जालान्, हाम्रा शब्द, रचना र वर्ण विन्यास ? योगलाई योगा भन्ने नेपालीहरू हाइफाई योगी हुन् । हाइफाई किनभने योगा भन्नेहरू त्यसो भनेर आफूलाई आमनेपालीबाट पृथक् ठानिरहेका छन् । उनीहरू यहाँका सर्वसाधारण ऐरेगैरेले भन्ने योग होइन, त्यसभन्दा पृथक् र सुपर, अंग्रेजहरूले गर्ने उच्चारण गरेर आफूलाई हाइब्रिड सावित गराउने प्रयत्न गरिरहेका छन्।
योग योग नै हो र आज २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस हो । संयुक्त राष्ट्रसंघले ११ डिसेम्बर २०१४ मा २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइने घोषणा गर्यो । यसअघि योगलाई हिन्दु आध्यात्मिक जीवन मूल्य मात्र हो भन्थे अंग्रेजहरू । तर योग, पूर्वीय आसन मात्र होइन, यो त जीवन पद्धति नै पो रहेछ भन्ने थाहा पाएपछि उनीहरूले योगा शब्दको प्रयोग गर्दै त्यसबाट लाभ लिन थाले । फलस्वरूप योग पश्चिमी मुलुकहरूमा योगाको रूपमा चिनिन थाल्यो र संयुक्त राष्ट्रसंघ र सदस्य राष्ट्रहरूले ढिलै भए पनि योग दिवस मनाउन सुरु गरे । यो घोषणापछि योगले व्यापकता पाउन थालेको छ । योगका निम्ति सूर्यास्त हुन छोडेको छ !
योगको व्यापकता पृथ्वीमा मात्र होइन, स्वर्गमा समेत उत्तिकै रहेको एउटा कथा छ । देव-दानव युद्धमा देवताहरू पराजित हुने अवस्थामा पुगे । देवताहरूले अयोध्याका चक्रवर्ती राजा दशरथसँग मद्दत मागे । दशरथको सहयोग पाएपछि देवताहरूले युद्ध जिते । देवताहरू राजा दशरथलाई युद्धमा सहयोग गरेकोमा अभिनन्दन र पुरस्कार दिने निर्णयमा पुगे । तर के दिने ? धनदौलत, हात्तीघोडा दिएर दशरथलाई त्यसको तुक थिएन ।
दशरथलाई इन्द्रले स्वर्गमा निमन्त्रणा गरे । दशरथ स्वर्ग गए । उनको खुबै खातिरदारी भयो । पाँच-छ महिना बसेपछि एक दिन दशरथले भने, ‘महाराज इन्द्र, अब म पृथ्वी फर्कन्छु ।'
दशरथको बिदाइमा स्वर्गमा भव्य समारोह आयोजना भयो ।
इन्द्रले भने, ‘दशरथ, तिमीलाई स्वर्ग कस्तो लाग्यो ? '
दशरथ : स्वर्ग गजब रहेछ तर मैले एउटा कुरो बुझिनँ ।
इन्द्र : के कुरा ?
दशरथ : यहाँ न जाडो छ, न त गर्मी । न बढी पानी पर्दो रहेछ न कम । जताततै फूल फूलेका, फल फलेका । चराचुरुंगी, जीवजन्तु नाँचेका छन् । बाघबगैंचा अति नै सुन्दर रहेछन् । अप्सराहरूको नाच मोहनी लगाउनेछ । कोही न बूढा छन्, न त बूढी । सबै तन्नेरी र हृष्टपुष्ट छन् । फूल फुलेर जताततै मगमग बास्ना आइरहेछ भने फलफूलका बोटमा फल पाकेर लटरम्म छ । झरना, तलाउ, मठमन्दिर सबै छन् । तर ...।
इन्द्र : तर के दशरथ ?
दशरथ : स्वर्गको भित्री भागसम्म पुगें । सबैतिर हेरें, घुमें । झन्झन् टाढासम्म गएँ । घना जंगलमा पुगें । पुराना ठूला रुख मुनि त लामालामा दाह्रीजुंगा पालेका ऋषिमुनिहरू पो तपस्या र ध्यानमा बसिरहेको पाएँ ?
हे महाराज इन्द्र तथा देवताहरू, स्वर्गमा केको लागि योग र तपस्या ? यहाँ त पापाचार गर्नुपर्ने कारण नै छैन । पाप गर्नेहरू त नर्क पठाइन्छन् अनि स्वर्गमा केको लागि ऋषिहरूको ध्यान, तपस्या र योग ?
यस्तो ध्यान र तपस्या त स्वर्ग प्राप्ति निम्ति पृथ्वीमा पो गर्नुपर्ने होइन र ? यहाँ केको लागि ध्यान, तपस्या र योग जरुरी पर्यो ? मैले बुझ्न सकिनँ इन्द्र महाराज ?
इन्द्र : तब न तिमी चक्रवर्ती । देवताले पनि सहयोग माग्नुपर्ने राजा । तिमीले स्वर्गको गाँठी कुरा पहिल्याएछौ दशरथ !
इन्द्रले दशरथको काँध थपथपाउँदै भने, ती ऋषिहरूले योग, ध्यान र तपस्या गरेनन् भने दशरथ यो स्वर्ग पनि डग्मगाउँछ ।योगका फाइदा
स्वर्गमा त योग, ध्यान र तपस्याको जरुरत हुने रहेछ भने पृथ्वीमा तीक्ष्ण दिमाग, सकारात्मक सोच र शान्त चित्तको लागि झनै जरुरत छ ।
योग आफूले आफैंमाथि गर्ने अभ्यास हो । यो एक किसिमको व्यायाम हो, तर यो व्यायाम मात्र होइन । व्यायामले शरीरलाई एउटा निश्चित आकर्षक आकार दिन्छ, योगले शरीरलाई आनन्द दिन्छ, स्वस्थ बनाउँछ, अनुशासित राख्छ र व्यक्तिलाई निरन्तर सिर्जनशील बनाइरहन्छ किनभने योगले दिमागलाई खोलिदिन्छ र व्यायाम मात्र होइन, शरीरलाई अनुशासित पनि बनाउँछ ।
हरेक विदेशीको लागि नमस्ते जसरी नेपाली जीवनपद्धति अंग बनेको छ, त्यसैगरी योग नेपाली संस्कृति बन्न सक्छ र बनाउनुपर्छ ।
योग जुनसुकै उमेर समूहका व्यक्तिले पनि गर्न मिल्छ । सूर्योदय हुनुपूर्व गरिएको योगबाट विशेष लाभ प्राप्त हुन्छ र यसको खास महत्वव छ । योगले मानिसलाई प्रकृति नजिक लैजान्छ । योगी प्रकृतिप्रेमी र प्रकृति योगमैत्री हुन्छ । नियमित योग/ध्यान गर्ने व्यक्तिले खुला ठाउँ रुचाउँछ । ढाड सीधा पारेर बस्छ । चित्त र मन दुवै शुद्ध राख्दै ऊर्जा उत्पादन गरिरहन्छ । यसले नेपाली समाजमा शान्ति सुव्यवस्था, भ्रातृत्व र बन्धुत्व भाव जगाउँदै सुदृढ गराउँछ।
ऋषिमूनिहरू अर्थात् हाम्रा पूर्खाको खोजी हो योग/ध्यान । नेपाली समाज त्यस्तो परम्पराबाट बाँधिएको छ, हरेक नागरिकका पुर्खा ऋषि थिए, जसलाई अहिले पनि हाम्रो गोत्रले प्रमाणित गर्छ । योग र ध्यान सबै ऋषिमूनिहरूको सामूहिक योगदानको विशेष फल हो । हाम्रा पूर्वज ध्यान, योग, तपस्या र अनुसन्धान गर्थे । स्वर्गमा दशरथले भेटेका ऋषि पनि हाम्रै पूर्वज हुन् ।
आजको विश्वमा योगको महत्वव राष्ट्रसंघले जसरी बुझ्यो, हामी नेपालीले आफ्नै पुर्खाको नासो भएर पनि त्यसलाई पूर्णरूपमा अपनाउन नसक्दा धेरै चुनौतीपूर्ण जीवन व्यतित गर्न बाध्य हुनुपरेको छ । योग, ध्यान र त्यसअनुकूलको जीवन पद्धतिको अहिले सख्त जरुरी छ । हामी पश्चिमी र पूर्वीय जीवनशैलीको संक्रमणकालमा रहे पनि पाश्चात्य जीवनशैलीमा डुबिरहेका छौं । जबकि हाम्रो संस्कृति, जीवनशैली र खोज-अनुसन्धानको आधार नै योग र ध्यान हो ।
हाम्रो बल यसैमा छ । हाम्रो शक्तिको स्रोत पनि यही हो । सबै नेपाली स्वस्थ बन्न, सबैको समृद्धि र विकासको लागि योग जरुरी छ ।
योग र ध्यानले कुनै एक धर्म, संस्कृति, समाज, जाति, सम्प्रदाय भन्दैन, यो सबैको लागि हो । त्यसैले नेपाल भर, के हिमाल के पहाड के तराई घरघरमा योग गर्नुपर्छ । योगले नै नेपाललाई समृद्ध पार्छ । घरघरमा योग र ध्यान गरे सभ्यता नै शालीन र सुसंस्कृत बन्न सक्छ । बिथोलिएका नेता, पार्टी र कार्यकर्ताको आचरण योगले मात्र शुद्ध र सहृदयी बनाउन सक्नेछ । दोहा, कतार, रियादमा गएर नेपालीले योग र ध्यान सिकाउन सक्छन् । मलेसिया, जापान, बेलायत, अमेरिका र अफ्रिकाका देशहरूमा नेपालीले रैथाने ज्ञान पुर्याउने मात्र होइन, योग र ध्यानको प्रचार-प्रसार प्रयोग गरेर त्यहाँको समाज र देशलाई नै गुन लगाउन सक्नेछन् ।
नेपालमा बढिरहेका नवधनाढ्यलाई योगले जाँडरक्सी र तामसी भोजनको खाडलबाट उतार्ने मात्र छैन, कहिल्यै बिसेक नहुने सुगर, मुटु, किड्नी र फोक्सोलाई रोगहरूबाट समेत जोगाउनेछ । नबधनाढ्यहरू जसले समय, समाज र जीवनशैलीमा आएको परिवर्तनलाई बिर्सेका मात्र छैनन्, तिनले योग र ध्यानलाई महत्वव दिइरहेका छैनन् । उनीहरू योगमा सहभागी भए भने आनन्द प्राप्त गर्न सक्छन् । हरेक कार्यालयको काम दश मिनेट ध्यान गरेर सुरु र दिनभरिको कामको समापन पनि ध्यान गरेर गर्ने संस्कृति बसाल्न सकियो भने व्यवस्थापन क्षेत्रमा नेपालको अनुपम योगदान सावित हुनेछ ।
नेपालको पर्यटनमा योग र ध्यान नयाँ सम्भावना बोकेर उदाएको छ । हरेक विदेशीको लागि नमस्ते जसरी नेपाली जीवनपद्धति अंग बनेको छ, त्यसैगरी योग नेपाली संस्कृति बन्न सक्छ र बनाउनुपर्छ । त्यसैले योग दिवस नेपाल र नेपालीको लागि एउटा वरदान हो । चित्त शुद्ध गरेर तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका दिनदेखि योग र ध्यान सुरु गरौं ।