एउटै कोठामा दुई वडा कार्यालय

एउटै कोठामा दुई वडा कार्यालय

गोरखा : खाब्दीभञ्ज्याङको कोल्टेपट्टि एउटा एकतले भवन छ । बुंकोट हेल्थपोस्टले नयाँ भवन बनाएर सरेपछि बचेको थोत्रो, पुरानो उक्त भवनमा सातवटा कार्यालय सञ्चालनमा छन् । सबैभन्दा साँघुरो एउटा कोठामा वडा सचिवको काम हुन्छ । अर्को कोठामा दुईवटा वडाका दुईजना प्राविधिक सहायक, अर्को कोठामा कृषि सेवाकेन्द्र, अर्को कोठामा पुनर्निर्माण प्राधिकरणका प्राविधिक, अर्को कोठामा वडा नागरिक मञ्च र बाँकी रहेको एउटा कोठामा दुईवटा वडाका अध्यक्ष ।

भवनलगायतका पूर्वाधार अभावका कारण सहिद लखन गाउँपालिका ७ र ८ का वडा अध्यक्षले बिगत एक महिनादेखि एउटै कोठाबाट सेवा दिइरहेका छन् । दुवै वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको वडा अध्यक्षको भनाइ छ । दुवै अध्यक्ष एउटै पार्टीबाट निर्वाचित भएकाले भावनात्मक समस्या भने नभएको उहाँहरूको भनाइ छ । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा मतदाताले अपेक्षा गरेअनुसार जोस, जाँगरका साथ काम गर्न समस्या भएको वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठ बताउनुहुन्छ ।

‘समस्याको त कुरै नगरौं', वडा नं. ८ का अध्यक्ष काशिनाथ अम्गाईँ भन्नुहुन्छ, ‘मैले वडा सचिव त पाएको छैन, कार्यालयको त अझ परको कुरा ।' दुई वडा अध्यक्ष एउटै कोठामा बसेर कार्यसम्पादन गर्दा एकले अर्कालाई अल्झाउने, डिस्टर्ब गर्ने गरेको उहाँको अनुभव छ । ‘एउटै कोठा छ । कुनैबेला सेवाग्राही धेरै हुन्छन् । कतिपय कुरा गोप्य हुन्छन्', उहाँले भन्नुभयो, ‘भीडभाड हुन्छ । एउटाको सेवाग्राहीले अर्कालाई डिस्टर्ब गर्छन् ।' शान्त वातावरणमा काम गर्न नपाउँदा सकस भएको उहाँको गुनासो छ ।

कामको मेलोमेसो नभएको वडा नं. ७ का अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ‘३७ प्रकारका सिफारिसमा सही गर्नेबाहेक अरू काम गर्न पाएको छैन', उहाँ भन्नुहुन्छ, ‘असार मसान्तको चापाचाप छ । भीड लाग्छ । के नमिल्या के नमिल्या जस्तो भइरहेको छ ।' वडा नं. ७ मा रहेको कार्यालय वडा नं. ८ का लागि धेरै टाढा पर्छ । वडा नं. ८ का लागि सचिव पनि नभएको अध्यक्ष अम्गाईँ बताउनुहुन्छ । दुवै वडाको काम तोयानाथ अम्गाईँले गर्दै आउनुभएको छ।

खाब्दीभञ्ज्याङमा साबिकको बुंकोट गाविसको कार्यालय भवन निर्माणाधीन छ । निर्माण सम्पन्न भएपछि त्यहाँ कुन वडाको कार्यालय सार्ने भन्नेमा अन्योल छ । ‘वडाले निर्णय गर्ने हो कि, गाउँपालिकाले निर्णय गर्ने हो भन्ने पनि अन्योल छ', अम्गाईं भन्नुहुन्छ, ‘अहिले सेवाग्राहीको पहिलो प्रश्न नै वडा कार्यालय कहाँ हुन्छ, भन्ने आउँछ । त्यसको निर्णय मैले गर्ने हो कि कसले भन्ने पनि थाहा छैन ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.