सलाहलाई कीर्तिमानी रकम 

सलाहलाई कीर्तिमानी रकम 

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले इजिप्टका प्रभावशाली खेलाडी मोहमद सलाहका लागि कीर्तिमानी रकम खर्चने भएको छ । सलाहका लागि लिभरपुलले करिब चार करोड ब्रिटिस पाउन्ड खर्चने भएको छ । लिभरपुलले हालसम्म कुनै पनि खेलाडीका लागि खर्च गरेको यो सर्वाधिक रकम हो । लिभरपुलमा आबद्ध हुने प्रक्रियामा रहेका २५ वर्षीय सलाहको छिट्टै स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

सलाह हाल इटालियन सिरिए क्लब एएस रोमाबाट व्यावसायिक फुटबल खेल्छन् । उनी सन् २०१५ मा रोमामा आबद्ध भएका थिए । गत वर्ष नै लिभरपुलले सलाहलाई भित्राउने प्रयास गरेको थियो । तर त्यतिबेला पैसाको विषयमा कुरा नमिलेपछि लिभरपुलको योजना अधुरै रहेको थियो । यसपटक पनि लिभरपुलले पहिलो सलाहका लागि दुई करोड ८० लाख पाउन्डको प्रस्ताव अघि सारेको थियो । तर, लिभरपुलको उक्त प्रस्तावलाई रोमाले अस्वीकार गरेको थियो ।

लिभरपुलका खेल निर्देशक माइकल एड्वार्डसले सलाहलाई भित्र्याउने विषयमा रोमासँगको छलफल अन्तिम चरणमा पुगेको जनाएका छन् । यसअघि सन् २०११ मा लिभरपुलले एन्डी क्यारोललाई सर्वाधिक तीन करोड ५० लाख पाउन्डमा क्लबका आबद्ध गरेको थियो । सलाहका लागि खर्चन लागेको वास्तविक रकम हालसम्म नखुलाइए पनि लिभरपुल करिब चार करोड पाउन्ड तिर्न सहमत भएको समाचारमा जनाइएको छ ।

लिभरपुलमा आबद्ध हुनुअघि गरिने स्वास्थ्य परीक्षणका लागि सलाह बुधबार लन्डन पुग्ने बताइएको छ । सलाहले तीन वर्षअघि पनि लिभरपुलले राखेको प्रस्ताव अस्वीकार गरेका थिए । त्यतिबेला उनी एफसी बासेलबाट इङ्लिस क्लब चेल्सीमा आबद्ध भएका थिए । उनले सन् २०१४ देखि सन् २०१६ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए । चेल्सीबाट उनी ऋणमा इटालियन क्लब फियोरेन्टिना हुँदै रोमामा पुगेका थिए ।

लिभरपुलको कीर्तिमानी सम्झौता


एन्डी क्यारोल : तीन करोड ५० लाख पाउन्ड
(सन् २०११ को जनवरीमा न्युक्यासल युनाइटेडबाट)
साडियो मेन : तीन करोड ४५ लाख पाउन्ड
(सन् २०१६ को जुनमा साउथह्याम्पटनबाट)
क्रिस्टियन बेनटेक : तीन करोड २५ लाख पाउन्ड
(सन् २०१५ को जुलाईमा एस्टन भिल्लाबाट)
रोबर्टो फर्मिन्हो : दुई करोड ९० लाख पाउन्ड
(सन् २०१५ को जुलाईमा होफेनहिमबाट)
एड्म लालना : दुई करोड ५० लाख पाउन्ड
(सन् २०१४ को जुलाईमा साउथह्याम्पटनबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.