आर्मीको फुटबललाई पल्सरको साथ
काठमाडौं : त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई पल्सर मोटरसाइकलले प्रायोजन गरेको छ । हंसराज एन्ड हुलासचन्द कम्पनीको बजाज पल्सरले आर्मीको फुटबल टोलीलाई वार्षिक २५ लाख रुपैयाँबराबरको खेल सामग्री उपलब्ध गराउने गरी प्रायोजन सम्झौता गरेको हो । आर्मी क्लबमा मंगलबार आयोजित कार्यक्रमा गोल्छा समूहका उपमहाप्रबन्धक युगेन गुरुङ र सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका उपरथी देवकुमार सुवेदीले सम्झौतापत्र आदानप्रदान गरे । सम्झौताअनुसार पल्सरले आर्मीको फुटबललाई वार्षिक २५ लाख रुपैयाँका दरले तीन वर्ष खेल सामग्री उपलब्ध गराउनेछ । आर्मीका फुटबल खेलाडीले भने पल्सरको लोगो अंकित जर्सीलगायत खेल सामग्री प्रयोग गर्नेछन् ।
सम्झौता आदानप्रदान कार्यक्रममा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले आर्मीजस्तो प्रतिष्ठित फुटबल टोलीसँग जोडिन पाउनु आफ्ना लागि सौभाग्यको कुरा भएको बताए । ‘हाम्रो सानो सहयोगले नेपाली फुटबललाई केही टेवा पुगोस् भनेर आर्मीको फुटबल टोलीलाई प्रायोजन गरेका हौं । नेपालमा पछिल्लो समय विभिन्न क्षेत्र र जातीय विखण्डन भएको अवस्था छ । तर खेलकुदले सबै क्षेत्र, धर्म र जातिलाई एकै ठाउँमा समेट्ने काम गर्छ । खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्व पूरा गर्नेको मजा आफ्नै छ । कम्पनीले यसलाई फाइदा र घाटाको रूपमा लिएको छैन,' गोल्छाले भने ।
आर्मीका उपरथी सुवेदीले पल्सरसँगको सम्झौताले त्रिभुवन आर्मीको फुटबल खेलले थप उचाइ लिने विश्वास गरे । ‘हामी पल्सरलाई विशेष धन्यवाद दिन चाहन्छौं । यस सहयोगले आर्मीको फुटबल टोलीले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गर्नेछ । जसले नेपालको फुटबल विकासमा समेत सहयोग हुनेछ,' सुवेदीले भने । कार्यक्रममा आर्मीले लगाउने जर्सी पुरुष र महिला टोलीका कप्तानलाई प्रदान गरिएको थियो । गोल्छा समूहले यसअघि जाउलाखेल युथ क्लबलाई पनि प्रायोजन गरेको थियो ।