जहाज भाडामा लिन प्रक्रिया सुरु
काठमाडौं : राष्ट्रिय ध्वाजवाहक नेपाल वायु सेवा निगमले तासी गु्रप अन्र्तगतको भुटान एयरलाइन्ससँग विमान भाडामा लिने प्रक्रिया सुरु गरेको छ । जहाज भाडाका लागि निगमले गरेको टेन्डरमा भुटान एयरलाइन्स (तासी ग्रुप) र युक्रेनको स्टार एभिएनसले प्रस्ताव पेस गरेका थिए ।
भुटान एयरले नेपाललाई सस्तोमा जहाज भाडामा दिने प्रस्ताव पेसका कारण टेन्डर मूल्यांकन कमिटिले यसैलाई सिफारिस गरेको हो । कमिटिले पेस गरेको सुझावअनुसार भुटान एयरलाइन्सलाई छलफलका निम्ती आउन पत्रचार गरिएको निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । टेन्डरमा युक्रेनको स्टार स्भिएसनभन्दा भुटान एयरलाइन्सले झन्डै १५ प्रतिशत सस्तोका नेपाललाई जहाज दिने प्रस्ताव गरेको कंसाकारले जानकारी दिनुभयो ।
‘छलफलका लागि एयरलाइन्सका प्रतिनिधि छिट्टै नेपाल आउने सूचना भएको छ', कंसकारले भने, ‘दुई पक्षीय सहमति भएको अवस्थामा भुटान एयरलाइन्ससँग धेरैमा ६० दिनका लागि जहाज भाडामा लिइनेछ ।' सन् २०११ मा स्थापना भएको तासी ग्रुप अफ कम्पनी अन्तर्गतको भुटान एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान छन् ।
यसमा एक सय ५० सिट भएको ए ३२० एयरबस र एक सय २२ सिट क्षमताको ए ३१९ छ । निगमले वैशाख २५ गतेसम्मको अवधि तोकेर गरेको पहिलो टेन्डरमा भने कुनै पनि एयरलाइन्स कम्पनीले प्रस्ताव पेस गरेको थिएन् । दोस्रो पटकको टेन्डरका भुटान एयरलाइन्स र स्टार एभिएसनले जहाज भाडामा दिन इच्छुक रहेको प्रस्ताव पेस गरेको थिए ।
निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको पुरानो एउटा बोइङ लिलामी प्रक्रिया र अर्को मर्मत गर्नुपर्ने समय आएको भन्दै जहाज भाडाका लागि टेन्डर गरेको थियो । जहाज भाडामा लिएर निगमले क्वालालाम्पुर, दोहा, दिल्ली, बैंगलोर जस्ता गन्तव्यमा उडाउने गर्ने योजना बनाइसकेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले दुईवटा न्यारोबढी विमान र एउटा बोइङ मात्रै छ ।