मेरियट होटलमा आईएफसीको लगानी
काठमाडौं : विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको हस्पिटालिटी बिजनेसमा ऋण लगानी गरेको छ । ठमेलमा सञ्चालनमा आएको फेयरफिल्ड मेरियट काठमाडौं होटलमा आईएफसीले २७ लाख ५० हजार अमेरिकी डलर (२७ करोड ५० लाख रुपैयाँ) लगानी गरेको हो । बहुराष्ट्रिय कम्पनी मेरियटको फेयरफिल्ड ब्रान्डले होटलको व्यवस्थापन सम्हालेको छ ।
व्यावसायिक घराना एमएस समूहले ठमेलमा तीनतारे बिजनेस होटल सञ्चालनमा ल्याएको हो । नेपालको हस्पिटालिटी बिजनेसमा आईएफसीले पहिलो पटक लगानी गरेको मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले बताउनुभयो । हालै मात्र सञ्चालनमा आएको होटलमा एक सय १५ वटा कोठा रहेका छन् । आईएफसीले गरेको लगानीबाट होटलमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्राउन थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
एमएस समूहले नक्सालको नागपोखरी नजिकै धमाधम पाँचतारे होटल निर्माण गरिरहेको छ । करिब साढे तीन अर्ब लगानी रहने पाँचतारे होटलमा दुई सय कोठा रहने बताइएको छ । काठमाडौंमा दुई होटलमा लगानी गरिसकेको यो समूहले उपत्यकाबाहिर पनि मेरियट ब्रान्डमै होटल खोल्ने भएको छ । उपत्यकाबाहिर होटल खोल्न नेदरल्यान्डको डच डेभलपमेन्ट बैंकले लगानी गर्ने सहमति गरिसकेको छ ।
उपत्यकाबाहिर तीनतारे होटल खोल्न डच बैंकले २७ लाख ५० हजार अमेरिकी डलर (२७ करोड ५० लाख रुपैयाँ) लगानी गर्ने सहमति गरेको छ । ‘नयाँ खुल्ने होटलमा पनि एक सय १५ कोठा रहनेछन्' एमएस समूहका प्रबन्ध-निर्देशक शशिकान्त अग्रवालले भन्नुभयो, ‘छिट्टै ठाउँ पहिचान गरेर होटल निर्माण सुरु गर्छौं, तीन वर्षभित्र उपत्यकाबाहिर पनि होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ ।' तीनतारे मेरियट होटलमा करिब एक अर्ब लगानी हुनेछ ।
नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको औंल्याउँदै आईएफसीले मेरियट होटल विदेशी मुद्रा आर्जनको माध्यम हुने विश्वास गरेको छ । यो होटलले मध्यम तथा उच्च वर्गका पर्यटक भित्र्ययाउन सहयोग पुर्याउने आईएफसी नेपालकी प्रमुख वेन्डी वार्नरले बताउनुभयो । नेपालको आर्थिक वृद्धिमा पर्यटनको महत्र्यवपूर्ण भूमिका रहन सक्ने बताउँदै उहाँले यस क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको जानकारी दिनुभयो । नेपाल ट्राभल र लगानीका लागि उत्कृष्ट गन्तव्य भएको उहाँको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मेरियट होटल र आईएफसीको सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो । ‘नेपाल पर्यटनको पोटेन्सियल मार्केट हो, स्वदेशी तथा विदेशी लगानीका लागि नेपालको पर्यटन उद्योग उपयुक्त छ', उहाँले भन्नुभयो, ‘नेपालमा पर्यटन उद्योग खोल्न कुनै समस्या छैन, राष्ट्र बैंकले पनि डलर सटहीलगायत सेवा चुस्त बनाउनेछ ।'
नेपालमा माउन्टेनियरिङ, बञ्जी, प्याराग्लाइडिङ, ट्रेकिङ, रिभर र्याफ्टिङ लगायतमा ठूलो सम्भावना रहेको श्रेष्ठले बताउनुभयो । यसमध्ये लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र होटल बनेको छ । पर्यटन उद्योगले नेपालमा रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुर्याउँदै आएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी विस्तार भइरहेको बताउनुभयो । पछिल्लो समय होटलमा ठूलो लगानी भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘२०२० सम्म नेपालका तारे होटल २० लाख पर्यटकलाई सेवा पुर्याउन सक्षम भइसक्नेछन् ।' अहिले भइरहेको लगानीबाट तार होटलमा मात्रै चार हजार कोठा थपिँदै छन् ।
नक्सालमा निर्माण भइरहेको पाँचतारे होटल पनि अन्तर्राष्ट्रिय चेन ब्रान्ड मेरियटले नै व्यवस्थापन गर्ने प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो । छिट्टै सञ्चालनमा आउन लागेको पाँचतारे मेरियटमा करिब साढे तीन लाख रुपैयाँ लगानी हुनेछ । फेयरफिल्ड मेरियट काठमाडौंका महाप्रबन्धक प्रकाश जयदेवानले नक्सालमा सञ्चालनमा आउन लागेको होटल पाँचतारे डिलक्स हुने बताउनुभयो । यो होटलमा दुई सय कोठा हुनेछन् । यो होटलको उद्देश्य मुलुकमा मध्यम तथा उच्च वर्गका पर्यटक भित्र्ययाउनु रहेको छ ।