एमाले कार्यकर्ताले उम्मेदवारको हत्या गरेको माओवादीको आरोप
काठमाडौ :नेकपा माओवादी केन्द्रले सङ्खुवासभा जिल्ला भोटखोला गाउँपालिका–२ का आफनो पार्टीका उम्मेदवार छिनाङ भोटेलाई उम्मेदवारी दर्ता गर्न हटिया केन्द्रतर्फ आउँदै गर्दा एमालेका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ । भोटेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै माओवादी केन्द्रले उहाँलाई सहिद घोषणा गरी परिवारमा यथाशिग्र प्रचलित राहतको माग गरेको छ ।
माओवादी केन्द्रले निर्वाचन विथोल्न हत्या आतंकमा उत्रनेहरुलाई कडा कार्वाहीको माग गरेको छ । असार ४ गते घटेको सो घटनामा केन्द्र सरकार र जिल्ला प्रशासनको मौनताको प्रति सो पार्टीले घोर भत्र्सना गरेको छ ।
माओवादी केन्द्रको एक नम्बर प्रदेशका इन्चार्ज गोपाल किरातीले जारी गर्नु भएको बिज्ञप्तिमा भनिएकोछ ‘असार १४ गते पूर्वी नेपाल (१ नं. प्रदेश) मा हुने निर्वाचन संघीय गणतन्त्र संस्थागत एवं जनसमुदायलाई अधिकार सम्पन्न तुल्याउने प्रथम ऐतिहाँसिक निर्वाचन हो । आठ सय जिल्लाको विचार, स्थानीय तह कार्यान्वयनमा प्रचण्ड सरकारको नेतृव र करोडौं बजेट विनियोजन माओवादी केन्द्रका ठोस उपलब्धी हुन् ।’ एक नम्बर प्रदेशमा एक सय ३७ तह र एक हजार एक सय ५७ वडा छन् ।
‘प्रथम चरणको निर्वाचनमा एमाले र कांग्रेसद्वारा भएका खरिदविक्रिका जघन्य अपराधहरु लोकतन्त्रमा कलंक हुन् । इतिहासको निर्माता मतदातालाई खसीबोका तुल्याउने एमाले–कांग्रेसको जंगली हर्कत र त्यसैमा रमाउने मतदाता–प्रवृतिको कारण प्राप्त उपलब्धीको संस्थागत विकास एवं शान्तिपूर्ण रुपमा क्रान्तिकारी परिवर्तनलाई ठाडो चुनौति खडा गर्छ’ किराँतीले बिज्ञप्तिमा भन्नु भएको छ ‘०४८ को संसद निर्वाचनमा माओवादी समर्थित संयुक्त जनमोर्चालाई पराजित गराउँदा ०५२ मा सशस्त्र विद्रोहको झण्डा उठाउनु परेको ऐतिहाँसिक तथ्य विशेष स्मरणीय छ ।’
शन्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट बहुमत हाँसिल गरी क्रान्तिकारी परिर्वतन गर्नु माओवादी केन्द्रको घोषित कार्यदिशा रहेको किराँतीले बताउनु भएको छ । ‘तर, शन्तिपूर्ण राजनीतिमा अनेक हथकण्डा प्रयोग गरि उत्पीडित वर्ग, जाति, क्षेत्र र महिलालाई निरन्तर कमजोर तुल्याइन्छ भने महान लेनिनले जस्तै रक्तपातपूर्ण विद्रोहको झण्डा उठाउन सर्वहारावर्गलाई इतिहासको वाध्यता हुनेछ । त्यस्तो रक्तपातपूर्ण राजनीतिक परिस्थितिको जिम्मेवार एमाले–कांग्रेस नै हुनेछन् भन्ने कुरा बेलैमा स्मरण गराउन चाहान्छौं’ किराँतीले बिज्ञप्तिमा भन्नु भएको छ ‘फेरि पनि गणतन्त्र, संघीयताको सिद्धान्त, समानुपातिक समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्र पराराष्ट्र नीति निर्धारण, शिक्षा, स्वास्थ्य, रोजगारीको मौलिक अधिकार र ऐतिहासिक स्थानीय तह सरकार कार्यान्वयनमा नेतृत्वदायी भुमिका खेलेको नेकपा (माओवादी केन्द्र) लाई पूर्वी नेपालका जनताले अवश्य न्याय गर्ने छन् ।’