मधेसी जनताको अधिकार खोसियोः नेता खनाल
इलाम : एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ।
इलाम नगरपालिका- ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं-२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो। राजपाले मधेसी जनताको भावनामाथि खेलबाड गर्यो, जनताको निर्वाचनको अधिकार कुण्ठित गर्यो। ”
निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो।
वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो। रासस