चार गाउँपालिका सम्पर्कविहीन,सुरक्षा व्यवस्था कडा
बाजुरा : स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन्। हिमाली गाउँपालिका, पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सञ्चारको पहुचबाट टाढा रहेका छन्।सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो।
चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकेको उहाँले बताउनुभयो। “फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर छौँ,” सेनले भन्नुभयो। गौमुल गाउँपालिका चार घन्टाको पैदल दूरीमा रहेको छ।तर मनोनयन दर्ता भएको चार दिन बित्दासमेत कुनै जानकारी पाउन नसकेको उहाँले बताउनुभयो।
स्वामीकार्तिक, हिमाली र पाण्डवगुफा गाउँपालिका मार्तडीबाट दुई दिनको पैदल दूरीमा रहेका छन्। त्यहाँ संवेदनशील ठाउँ भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य सङ्ख्यामा खटाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । रासस