राष्ट्रियतामा ठट्टा

 राष्ट्रियतामा  ठट्टा

राष्ट्रको ‘समृद्धि र स्वाभिमान' नै अहिले जनताले पटक-पटक अभिव्यक्त गरिरहेको चाहना हो, भलै सबैले यस्तै सूत्रबद्ध ढंगले राखिरहेका नहोलान् । २००७ सालबाट सात दशक भइसक्यो, नेपाल आधुनिक राजनीति र आधुनिक अर्थतन्त्रको युगमा प्रवेश गरेको । २०४६ सालबाट गणना गर्ने हो भने तीन दशक पुग्न लाग्यो र २०६३ सालको गणतन्त्रलाई आधार बनाउने हो भने पनि एक दशक भइसक्यो । तर यथार्थ के देखिन्छ भने समृद्ध र स्वाभिमान दुवै पहिलाभन्दा अहिले स्खलित भएका छन्, भलै प्रत्येक मानिसका हातमा मोबाइल होला, महिलाको अस्मिता लुट्ने मनोरञ्जनका उद्योग बढेको होलान् र सुन तस्करी, भारतीय व्यापारीका कालो धन, सिमानाबाट हुने कालोबजारीसमेतको माफियातन्त्रको जगमा काठमाडौं र अन्य सहरका अश्लील आधुनिकता खडा भएका किन नहोऊन् ।

२०४६ सालदेखि नेपालका राजनीतिक दलहरूले प्राप्त गरेको आर्थिक रूपान्तरण के हो ? हो, पश्चिमी विकृत पुँजीवादी अर्थतन्त्र पढेकाहरू भन्ने गर्छन् २००७ सालमा एक प्रतिशत रहेको साक्षरता अहिले लगभग ७० प्रतिशतको हाराहारीमा छ । मेरो उहाँ महोदयहरूलाई प्रश्न छ, जुन शिक्षाको प्रतिशत देखाएर ‘मेलेनियम डेभलपमेन्ट गोल' नेपालले प्राप्त गर्‍यो भनी डंका पिट्नुभएको छ, के त्यो शिक्षा उत्पादनमूलक छ ? के त्यसले रोजगार सिर्जना गर्छ ? के त्यसले जीवनयापनलाई सहज बनाएको छ ? विल्कुल छैन ।

२०१६ सालदेखि अहिलेसम्म त्रिविविले उत्पादन गरेको जनशक्ति ‘उत्पादकत्वहीन' बेरोजगारको जमातमा रूपान्तरण भएको छ । नेपालमा ‘आर्थिक समृद्धि' को जग निर्माण हुन नसक्नु र आज देशको स्वाभिमान नै खतरामा पर्ने गरी अवाञ्छित तत्वहरूले ताण्डव गर्न सक्नुको पछाडि ‘देशमा सञ्चालित शिक्षाले उत्पादन गरेको ‘अल्प-ज्ञानी' (स्युडो बौद्धिकता) हो भन्दा अत्युक्ति हुँदैन । प्रश्न राखौं, नेताजीहरू तपाईंले के गर्नुभयो यस स्तरहीन, उत्पादकत्वहीन एवं स्वाभिमान निर्माण गर्न नसक्ने शिक्षाको परिवर्तनको लागि ?

देशका अर्थशास्त्रीहरूले बताएका अर्को झूट हो ‘गरिबी' को रेखामुनि रहेका जनताको जीवनस्तर बढेको कुरा । अहिले १८ प्रतिशत जनता मात्र गरिब छन् भन्ने तपाईंहरूको भनाइ राष्ट्रमाथिको बेइमानी हो भन्ने कुरा तपाईंहरूलाई थाहा छ । तपाईंहरूले एक डलर २५ सेन्ट वा त्योभन्दा माथि कमाउनेलाई गरिबीको रेखामाथि राख्नुभएको छैन । १२६ रुपैयाँले दिनमा खान पुग्छ ? अनि १२६ रुपैयाँ र १२८ रुपैयाँमा के फरक छ ?

यो कुरा जनतालाई बताउन सक्नुहुन्छ ? देशको कुल आम्दानीलाई जनसंख्याले भाग गरेर गरिबीमुनिको रेखा निर्धारण गर्नु हुन्छ । अनि प्रत्येक नेपालीको प्रतिव्यक्ति आय ७५० डलर भनी घोषणा गर्नुहुन्छ । देशका धनीको धन गरिबलाई कागजमा बाँडेर प्रत्येक नेपाली बर्सेनि धनी भएको तथ्यांक प्रकाशित गरी जनताका आँखामा धुलो छर्नु हुन्छ, तर यथार्थ पीडादायी छ । एउटी ग्रामीण महिलाको पेटमा भएको बच्चाको हात बाहिर आएछ अनि चार-पाँच दिनदेखि बेहोस ती महिलालाई गाउँका पाँच-छ जना बूढापाकाले तन्नाको झोलुंगे बनाई एक घन्टा तल मोटर बोटामा ल्याउँदै थिए । उनी मरिन् वा बाँचिन्, थाहा छैन । उनका श्रीमान् कतारमा रहेछन् ।

अर्थशास्त्रीहरू बताउनुहोस्, के उनको प्रतिव्यक्ति आय पनि ७५० डलर नै हो ? विनोद चौधरी जस्ताको धन कागजमा जनतालाई बाँड्ने तपाईंको पुँजीवादी अर्थतन्त्र कति मानवीय छ ? देशमा गरिबको स्रोत र साधनप्रति कुनै पहुँच छैन । एक डलर २५ सेन्टबाट मास्तिर आम्दानी पुर्‍याउन किसानलाई सुँगुरको पाठो दिनु हुन्छ । गाउँको एउटा गरिब ‘खोले खाने' किसान घरमा एउटा बत्ती बाल्छ, तर धनी चौधरी र उनी गरिब दुवैले तिर्नुपर्ने बिजुलीको शुल्कको दर एउटै छ ।

एउटा गरिब बाँच्नको लागि एक गाग्रो पानी धाराबाट थाप्छ । धनीहरू फूलबारीमा पानी हाल्न पनि त्यही पानी प्रयोग गर्छन् । उनीहरूले तिर्ने शुल्क एउटै छ । एउटा गरिब वर्षमा तीन महिना खोले खाने जमिनको मालपोत तिर्छ, एउटा मास्टर दिनभरि पढाएको तलबबाट १५ प्रतिशत कर तिर्छ, तर व्यापारीहरू मुनाफामा कर तिर्छन् । बिरामी भई अस्पताल जाँदा बिरामी पाँच प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्छ ।

तर नेताहरू बिरामी हुँदा करोडौंको अनुदान पाउँछन् । नेपालका अर्थशास्त्रीले निर्माण गरेको यस्तो अन्यायपूर्ण समाज हो, हाम्रो ‘नेपाल' । फेरि पनि नेताहरू तपाईंलाई प्रश्न छ- यस त्रासदीपूर्ण गरिबविरोधी समाज बदल्न तपाईंले के गर्नुभयो ? सभासद्ज्यूहरू, यस त्रासदीलाई सम्बोधन गर्न के कानुन बनाउनुभयो ? नेपालका १० प्रतिशत सम्भ्रान्तहरू कुल राष्ट्रिय आयको ५२ प्रतिशत र २० प्रतिशत तन्नम गरिबहरू कुल राष्ट्रिय आयको पाँच प्रतिशत उपभोग गर्छन् । नेताज्यूहरू विगत २७ वर्षमा यस अन्यायपूर्ण घोर शोषणयुक्त अमानवीय व्यवस्थालाई बदल्न अहिलेसम्म के-के गर्नुभयो ? छातीमा हात राखेर सोच्नुहोस्, के तपाईं इमानदार हुनुहन्छ जनताप्रति ?

सिन्धुपाल्चोकको एउटा स्कुलमा एकजना छात्रले भने, ‘तीन घन्टा हिँडेर स्कुल आउनुपर्छ' । तीन घन्टा हिँडेर घर जानुपर्छ । स्कुलमा आई कक्षामा पसेदेखि थकाइले निद्रा लाग्छ । एउटा बस भए त पढ्न सकिन्थ्यो, तर राष्ट्रका ती भविष्यलाई पढ्ने वातावरण दिन सरकरलाई चासो छैन । कुल राष्ट्रिय आयको पुगनपुग पाँच प्रतिशत जति राज्य शिक्षामा खर्च गर्छ । यो राष्ट्रिय आयमा धनीले तिरकेको करभन्दा गरिबले पाइला-पाइलामा तिरेको शुल्कको अंश ज्यादा छ ।

यहाँ सरकारको प्रशासनिक खर्च झन्डै कुल आयको १० प्रतिशत छ । सबै कर्मचारीलाई सरकारी गाडी सरकारले दिएको छ । एउटा मन्त्रीको मासिक १६ लाख खर्च छ, तर गरिबका छोराछोरी पढ्ने स्कुलको हालत प्रयोग गर्न छोडेको फोहोर शौचालय जस्तो छ । फेरि पनि प्रश्न गरौं- नेताज्यूहरू के गर्नुभयो यस अवस्थालाई बदल्न ?

अर्को एउटा रोचक तथ्य हेरौं । नेपाल भारतलाई सबैभन्दा बढी रेमिट्यान्स पठाउने सातौं देश हो । गतवर्ष नेपालले भारतलाई तीन खर्ब ३४ अर्ब रेमिट्यान्स पठायो, तर भारत नेपालमा रेमिट्यान्स पठाउने १५ देशभित्र पर्दैन । नेपालमा रोजगार छैन भनी नेपालीहरू अरब, मलेसिया र कोरिया गई रगत सुकाउँछन् । दिनैपिच्छे कफिनहरू नेपाल भित्रिन्छन् । नेपालमा रोजगारको अवसर नभए भारतमा तीन खर्ब ३४ अर्ब रुपैयाँ कहाँबाट गयो त ? अवसर रोजगारको नभएको होइन । नभएको चाहिँ रोजगारको लागि सीपको हो । विगत २७ वर्षसम्म यो परिस्थिति बदल्न राजनीतिक नेताहरूले के गर्नुभयो ?

जब हामी भारतलाई तीन खर्ब आम्दानी दिइरहेका छौं, भारत किन हामीलाई सहयोग दिएको दाबी गर्छ र नेताहरू ताली बनाउँछन् । हामी भारतको बजारमा रूपान्तरण भएका छौं । ठीकै छ भारत हाम्रो नजिक छ र उससँगै व्यापर गर्न हामीलाई सुगम पनि हुन्छ । तर के भारतसँगको व्यापार भनेको ‘नेपालले भारतसँग मात्र किन्नुपर्ने र भारतलाई बेच्न नपाइने' व्यापार हो ? अर्बौंको व्यापार घाटा भारतसँग छ । क्रमशः नेपाल भारतको व्यापारिक तथा वित्तीय उपनिवेश बनिरहेको छ । नेपालको धान भारत गई चामल बनेर नेपाल आउँछ ।

नेपालको जडिबुटी भारतमा जान्छ र ‘पतञ्जली' औषधी बनेर आउँछ । नेपालबाट वार्षिक चालीस अर्ब त शिक्षामा जान्छ । दस अर्बभन्दा बढी मठमन्दिरबाट जान्छ । तीन खर्बभन्दा बढी भारतीय नागरिकले काम गरेर लैजान्छन् । तर भारत नेपालबाट असुरक्षा देख्छ । तराईमा बेरोजगार छ जसरी पहाडमा छ । तर बेरोजगार किन छ ? के आफूलाई कथित मधेसी नेता भन्नेहरूलाई यो थाहा छ ? दुर्भाग्य यी र यस्ता यथार्थ बुझेर देशलाई ‘समृद्धिको बाटो र स्वाभिमान' को संरक्षणतर्फ डोर्‍याउन होइन नेताहरू लम्पसार पर्न प्रतिस्पर्धा गर्ने गर्छन् ।

नेपालमा रोजगार छैन भनी नेपालीहरू अरब, मलेसिया र कोरिया गई रगत सुकाउँछन् । दिनैपिच्छे कफिनहरू नेपाल भित्रिन्छन् । नेपालमा रोजगारको अवसर नभए भारतमा तीन खर्ब ३४ अर्ब रुपैयाँ कहाँबाट गयो त ? अवसर रोजगारको नभएको होइन । नभएको चाहिँ रोजगारको लागि सीपको हो ।

समस्या नेपालका राजनीतिक दलहरूको वैचारिक स्खलन, देशभक्तिप्रतिको स्खलित जुझारूपन र जनताप्रतिको घट्दो उत्तरदायित्वको बोधमा रहेका छन् । नेपाली जनता नेपाली नेताका आँखामा एउटा कारणले मात्र देखिन्छन् वा एउटा कारणले मात्र नेपाली नेता नेपाली जनताको महत्त्व देख्छन्, त्यो हो जनता सत्तामा जाने भर्‍याङ हुन् र सत्ताको लागि उनीहरूको मत आवश्यक पर्छ । दुर्भाग्य हो देश र जनताको सन् १७८९ मा बनेको देश अमेरिका अहिले संसारको एक नम्बर अर्थतन्त्र र विश्वको प्रथम शक्ति बनेको छ ।

नेपाल सन् १७६५ मा एकीकरण भइसकेको थियो । त्यसताका देशका शासक पृथ्वीनाराण शाहले भने- घुष दिन्या र खान्या दुवै राष्ट्रका अपराधी हुन् । तर अहिले घूस दिने महान् र घुसा खाने झन् महान् भएका छन् । त्यस बेला पृथ्वीनारायण शाहले भने, ‘यो देश मेरो एक्लो दुःखले आज्र्याको देश होइन, ४ जान ३६ वर्णको फुलबारी हो ।' उनले निर्देश गरेका थिए, ‘सबैले मिलेर राज्य चलाउनू ।' तर अहिले राज्य चलाउने होइन राज्य लुट्ने प्रतिस्पर्धा चलिरहेको छ । टीकापुरमा नौजना प्रहरीको हत्या भयो । तीन वर्षको बालकको हत्या भयो । त्यसको अभियोग लागेका व्यक्तिले पौने दुई करोड पाएछन् । ती मर्ने प्रहरीका सन्तानले के पाए ? यी देशमा भइरहेका घटनाले राज्यको सर्वनास गर्ने खेल नै राजनीति हो भन्ने देखिन्छ ।

प्रतिवर्ष भारतले नेपालबाट लगभग ६ खर्ब पाइराखेको छ । नेपालको अर्थतन्त्र भारतसँग पराधीन रहेको छ । नेपाल भारतलाई सहयोग गर्ने देशमा गनिएको छ । हुलाकी बाटो बनाइदिने सम्झौता भयो, त्यो बनेको छैन । तराईका उद्योगमा नेपाली होइन, भारतीयहरू काम गर्छन् । तराईदेखि काठमाडौंसम्मको व्यवसाय र व्यापार भारतीयको हातमा छ ।

उनीहरूलाई नेपालमा पोस्दै लाभ आर्जन गर्ने मानिस काठमाडौंका सम्भ्रान्त र तराईका अंगीकृतहरू छन् । उनीहरू नै अहिले देशमा क्षेत्रीय द्वन्द्वको निर्माण गरिरहेका छन् । अनि तराईका जनताको एकलौटी मालिक बन्ने सपना र षड्यन्त्र बुनिरहेका छन् । जनताको दैनिक समस्यासँग सम्बन्धित र जनताको अभिभावकत्व बहन गर्ने स्थानीय निर्वाचन गर्न पनि हिंसाद्वारा रोक्ने प्रयास गर्छन् ।

तर जनताको संरक्षण सरकार गर्न सक्तैन वा चाहँदैन । कथित आन्दोलनबाट विस्थापित गरिएका खेदिएका, मारिएका र लुटिएका जनता नेताहरूको जानकारीमा कहिल्यै आएनन् । हिंसाको बलमा बाँचेको आन्दोलनमा लड्नेहरू भने सरकारको जानकारीमा तत्काल आउँछन् । के राज्यले संस्थागत भेदभाव गर्न मिल्छ ? २०६३ को आन्दोलनताका तराईको अन्दोलन दमन गर्दै अहिलेका कतिपय कथित नेताहरू राजा ज्ञानेन्द्रको सरकारमा थिए । उनीहरू सधैं शक्तिको उपयोगमा तल्लीन थिए, तर भारतको भीमकाय अर्थतन्त्रले सोसिरहेको तराई र सम्पूर्ण देशको अर्थतन्त्रका सिकार भएका नेपाली जनताको पक्षमा होइन, भारतको पक्षमा आफ्नै देशका गरिब जनताको विरुद्धमा सक्रिय हुँदा र राज्यको मानमर्दन गर्दा पनि राज्ययन्त्र उनीहरूकै चाकरी गरिरहेको छ, किन ?

किनभने लोकतन्त्र भीडतन्त्र र मनपरीतन्त्रमा परिणत भइसकेको छ । राष्ट्रियता अपमान र ठट्टाको विषयवस्तु भएको छ । देशमा राष्ट्रवादी हुँ भन्ने भन्दा राष्ट्रवाद खोक्रो कुरा हो भन्नेको आवाज ठूलो छ । कथित बौद्धिकता अवसरवादी राजनीतिको सेवामा लिप्त रहेको छ । यस्तो अवस्थामा जनता प्रतिनिधित्वहीन अवस्थामा छन् । अरबमा रगत सुकाइरहेका जनताले पठाएको रेमिट्यान्सबाट कृत्रिम रूपमा सास फेरिरहेको अर्थतन्त्र, अरबबाट रेमिट्यान्स रोकिनेबित्तिकै अवसान हुनेछ । विश्वबैंकको पुँजीवादी आर्थिक सिद्धान्तको पट्टी लगाएका अर्थशास्त्रीहरूलाई देशको भविष्यप्रति कुनै चिन्ता छैन । भविष्यमा देशले भोग्ने आर्थिक समस्या डरलाग्दो हुनछ । त्यसैले अब यस देशमा २७ वर्षदेखि शासन गरिरहेका नेताहरूलाई प्रश्न सोध्ने बेला भयो- यो २७ वर्ष नेपाली जनताको जीवनमा खेलबाड किन गर्‍यौ ? साथसाथै जनताले पनि आँखाको पट्टी खोल्ने समय आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.