भलिबलका गुरु-चेली सम्मानित
काठमाडौं : राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई बुधबार सम्मानित भएका छन् । उनीहरूलाई महिला भलिबलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नगद पुरस्कारसहित सम्मान गरेको हो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तीन दशमलव पाँच जीपीए ल्याएर उत्तीर्ण भएकाले उनलाई सम्मान गरिएको हो ।
खेलकुदसँगै पढाइमा पनि अब्बल नतिजा ल्याएप्छि प्रतिष्ठानले प्रतिभालाई ५० हजार रुपैयाँसहित सम्मान गर्यो । यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका कुमार २५ हजार रुपैयाँबाट सम्मानित भए । उनीहरूलाई बहुराष्ट्रिय रङ कम्पनी केएनपी जापानका कन्ट्री डाइरेक्टर मनोज मि श्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्र गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का र प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सम्मान गरे ।
गत जेठमा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा केएनपीले मुख्य प्रायोजन गरेको थियो भने शिवम् सिमेन्टले सहप्रायोजन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष रञ्जनले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाइलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए ।
यसैगरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका कुमारलाई महिला भलिबलको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मान गरिएको जानकारी रञ्जनले दिए । ‘खेलकुदसँगै अध्ययनमा पनि आफूलाई अब्बल साबित गरेकी प्रतिभालाई सम्मान गर्न पाउँदा खुसी लागेको छ’, उनले भने । कार्यक्रममा राष्ट्रिय खेलाडी प्रतिभाले खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
यसैगरी प्रशिक्षक कुमारले आफू बाँचुन्जेल प्रतिभावान् खेलाडी उत्पादन कार्यमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । तत्कालीन बालकोट गाउँ पञ्चायतको प्रधानपञ्चदेखि भक्तपुर किसान संगठनको सभापतिसमेत रहेका शेरबहादुर खड्काको स्मृतिमा उनको परिवारले २०७० सालमा प्रतिष्ठान स्थापना गरेको हो । प्रतिष्ठानले राष्ट्रिय महिला भलिबल प्रतियोगिताका साथै खेलाडी, ज्येष्ठ नागरिकको सम्मानजस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।