जिम्मेवार भएर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विहीबार विहान विभिन्न कर्मचारी संगठनहरुसंगको भेटमा प्रधानमन्त्री देउवाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले बजेट खर्च न्यून भएको भन्दै खर्च बढाउन सरकार वा मन्त्री भन्दा कर्मचारीको भूमीका महत्वपूर्ण हुने बताउनुभयो ।
प्रधानमन्त्रीसंग विभिन्न कर्मचारी सङ्घ-सङ्गठनले आफ्ना माग प्रस्तुत गरेका थिए । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टेड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँलगायतका सङ्घ÷सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग गरेका छन् । रासस