राजपाका केन्द्रीय उपाध्यक्ष चौधरीसहित ६ जना पक्राउ
नवलपरासी: निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । उनीहरुलाई परासी सदरमुकामको मञ्जरीया चोकबाट पक्राउ गरिएको हो । गाडी र मोटरसाईकलमा कालोझण्डा राखेर स्थानीयलाई डर धम्कीदिदैं निर्वाचन विरोधी कृयाकलाप सञ्चालन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
राजपाले निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको छ । राजपाको विरोधका कारण सरकारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गतेका लागि तोकेको छ ।