साख फर्काउने तयारीमा विराटनगर

साख फर्काउने तयारीमा विराटनगर

सामरिक रूपमा नेपाली राजनीति र औद्योगिक क्रान्तिको थालनी भएको विराटनगरलाई अहिले त्यो विरासत जोगाउन हम्मेहम्मे भएको छ । विराटनगरमा उम्मेदवार बनेका राजनीतिक दलका प्रतिनिधि अहिले गुमेको पहिचानलाई पुन:प्राप्तिदेखि पछिल्लो एक दशकमा निकै पछाडि परेको महानगरलाई विकास र समृद्धि बाटोमा फेरि फर्काउने भन्दै चुनावमा होमिएका छन् । विराटनगरको समग्र वस्तुस्थिति समेट्न अन्नपूर्ण पोस्टले बुधबार 'स्थानीय चुनाव र स्थानीय नेतृत्व' विषयक राउन्ड टेबल गरेको छ, जसमा स्थानीय अगुवाले आफ्ना विचार व्यक्त गरे ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनले प्रदेश नं १ मा चुनावी सरगर्मी बढाएको छ । यो प्रदेशको केन्द्रका रूपमा परिचित राजनीतिक तथा औद्योगिक नगर विराटनगरमा चुनावी प्रचारप्रसारले निकै गति लिइसकेको छ । उम्मेदवारहरू आफ्ना दलको एजेन्डा बोकेर घरदैलो, मतदाता भेटघाट र चुनावी अभियानमा व्यस्त छन् । सामरिक रूपमा नेपाली राजनीति र औद्योगिक क्रान्तिको थालनी भएको विराटनगरलाई अहिले त्यो विरासत जोगाउन हम्मेहम्मे भएको छ । विराटनगरमा उम्मेदवार बनेका राजनीतिक दलका प्रतिनिधि अहिले गुमेको पहिचानलाई पुनप्र्राप्तिदेखि पछिल्लो एक दसकमा निकै पछाडि परेको महानगरलाई विकास र समृद्धि बाटोमा फेरि फर्काउने भन्दै चुनावमा होमिएका छन् । कांग्रेस विराटनगरको चुनावमा एक्लै चुनावी दौडमा छ । अन्य दलले तालमेल गरेका छन् । एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन भई मेयर र उपमेयरमा एक आपसमा सहयोग गर्ने सहमति भएको छ । एमालेलाई मेयर र लोकतान्त्रिकको भागमा उपमेयर परेको छ ।

माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच पनि चुनावी एकता भएको छ । फोरमले मेयर र केन्द्रले उपमेयर बाँडेर लिएका छन् । कांग्रेस एक्लै र अन्य दल तालमेल गरेर मैदानमा उत्रँदा यहाँको चुनावी चर्चा चुलिएको छ । त्रिपक्षीय चुनावी भिडन्त हुने अपेक्षा गरिएको विराटनगर महानगरको चुनावलाई राष्ट्रिय रूपमै निकै महत्वका साथ पनि हेरिएको छ । यही मेसोमा विराटनगरको समग्र वस्तुस्थिति समेट्न अन्नपूर्ण पोस्टले बुधबार 'स्थानीय चुनाव र स्थानीय नेतृत्व' विषयक राउन्ड टेबल सम्पन्न गरेको छ । राउन्ड टेबलमा महानगरका मेयर तथा उपमेयरका उम्मेदवारले आफ्ना एजेन्डा एवं भावी कार्ययोजना यसरी प्रस्तुत गरे :

चुनाव जित्छौं भनेर तालमेल गरिएन

विकासमा पछौटेपन भोगिरहेको विराटनगर महानगरमा नगरवासीको अपनत्व घट्दै गएको छ । महानगरले जुन किसिमले विकासमा गति लिनुपथ्र्यो, त्यो हुन सकेको छैन । विगतमा नेतृत्वमा आएका दलका कारण महानगर पछाडि पर्‍यो । दुईपटक पार्टी नगर सभापति चलाइसकेको मैले विराटनगरलाई नजिकबाट नियालिरहेको छु । यो सहरलाई राजनीतिक, सामाजिक र आर्थिक रूपमा अघि बढाउने मेरो कार्ययोजना छ । कांग्रेसले हारे समृद्धिले हार्छ । कांग्रेस आफै सक्षम छ । सजिलै चुनाव जित्छ, त्यही भएर अरूसँग तालमेल नगरेका हौं।

महिला अधिकारका कुरा उठिरहँदा कांग्रेसमा रहेर लामो समय योगदान दिने महिलालाई नै उपमेयरमा अवसर दिइएको हो । अरूजस्तो तालमेलका नाममा पार्टीका महिलालाई अवसरबाट वञ्चित गरिएन । पाँच वर्षभित्र शान्त, स्वच्छ र हराभरा नगर बनाउने कांग्रेसको कार्ययोजना छ । कालोपत्रे सडक, नाला तथा ड्रेन निर्माण, सिंघिया र केसलिया नदीलाई ग्रिनबेल्ट बनाएर पर्यटकीय स्थलमा रूपमा विकास गर्ने हाम्रो प्राथमिकता छ ।
विराटनगर विमानस्थललाई क्षेत्रीय हुँदै १० वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्दै शिक्षा, स्वास्थ्य, औद्योगिक विकास र खेलकुद क्षेत्रको हब बनाइनेछ । विराट राजाको दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, न्यून आयस्तर भएकाहरूमा शिक्षाको पहुँच पुर्‍याउने, दुई नमुना विद्यालय स्थापना गर्ने, बैजनाथपुरको स्टेडियमलाई अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डसहितको पूर्वाधार विकास गर्ने, कोसी अञ्चल अस्पताललाई क्षेत्रीय रूपमा विकास गरेर १० वर्षभित्रमा मेडिकल कलेजका रूपमा अघि बढाउने योजना छ ।

यो अस्पताललाई विपन्नले नि:शुल्क स्वास्थ्य सेवा पाउने केन्द्रका रूपमा विकास गरिनेछ । खानेपानीलगायत ठूला आयोजना सञ्चालन गर्ने, विराटनगर जुटमिल र रुग्ण उद्योग सञ्चालन गर्दै स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गरेर युवा विदेश पलायन हुने अवस्था रोक्ने कांग्रेसले सोचेको छ । औद्योगिक नगरलाई अब सही रूपमा आफ्नोपनमा फर्काउनु पनि हाम्रो प्राथमिकता हो ।
भीम पराजुली, मेयर, कांग्रेस

चार देशको ट्रान्जिट बनाउँछौं

एमालेले चुनाव जित्नुपर्छ भन्ने अभियानमा छौं । दलबीचको प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । विकास निर्माणको अगुवाइ गर्दै विराटनगरलाई समृद्ध सहर बनाउने योजना एमालेसँग छ । ऐतिहासिक नगर, मजदुर आन्दोलन, विराटकालीन सभ्यता यहाँको पहिचान हो । औद्योगिक क्रान्ति यहींबाट भयो । विराटनगरले ठूला नेता पनि पाए तर विकासमा भने पछि पर्‍यो । त्यसैले अब राजनीतिक मुद्दाबाट दलहरू पनि अघि बढिसकेकाले आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । विराटनगर नेपाल, भारत, बंगलादेश र चीनको ट्रान्जिट बन्न सक्छ । भारतलाई चीनसँग जोड्ने नाका जोगबनी–किमाथांका सडकलाई यसको प्रमुख आधार बनाउन सकिन्छ ।

एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच तालमेलको विषय पार्टीभित्र र बाहिर पनि निकै चर्चामा छ । तालमेल चुनावी परिणामका लागि मात्र भएको होइन । यो राजनीतिक महत्वका लागि पनि हो । दलबहरूबीच मुलुकमा एकता र सहकार्यको आवश्यकता रहेका कारण नयाँ सन्देश प्रवाह गर्न पनि यो तालमेल गरिएको हो । हामीले अल्पकालीन र दीर्घकालीन योजना नीतिगत रूपमा सार्वजनिक गरेका छौं । विराटनगरको पहिचान भनेकै उद्योग हो । यहाँको औद्योगिक विकासलाई हेरिनुपर्छ । नयाँनयाँ उद्योगधन्दा कलकारखाना स्थापना गर्न सकिन्छ ।

यसले रोजगारी बढाउँछ । आर्थिक गतिविधि बढ्छन् । त्यहाँबाट हुने आर्जनले स्थानीय विकासमा टेवा पुग्छ । राज्यले छुट्ट्याएको बजेटबाट मात्र विकास सम्भव छैन । आर्थिक स्रोत यहीँ सिर्जना गरेर विकासमा अघि बढ्ने हो । सरकारी शिक्षालाई निजीजस्तै प्रतिस्पर्धी बनाउनुपर्छ । यसमा सर्वसाधारणको पहुँच पुर्‍याइनुपर्छ । फोहोर व्यवस्थापन यहाँको मुख्य चुनौती हो । नजिकका अन्य नगरसँग समन्वय गरी यहाँको फोहोरलाई मोहरमा परिणत गर्न सकिन्छ । वैकल्पिक ऊर्जा र मल उत्पादन गरेर आयआर्जन पनि बढाउन सकिन्छ । एक नं अखण्ड प्रदेशको एक नम्बर राजधानी विराटनगर बनाउन मानव संशाधन विकासमा पनि ध्यान दिइनुपर्छ । यसमा नयाँनयाँ टेक्नोलोजी अपनाई दीर्घकालीन रूपमा यो सहरलाई मेगासिटीका रूपमा विकास गर्ने हाम्रो पार्टीको योजना छ ।
विनोद ढकाल, मेयर एमाले

सुकुमबासीमुक्त सहर बनाइनेछ

म कुनै सपना बाँड्न यसअघि जितेका दलले जस्तो झुटो आश्वासन दिन्नँ । स्थानीय निर्वाचनमा हाम्रो पार्टीको पहिलो सहभागिता हो । विराटनगरलाई बनाउनुपर्छ भनेर लागेको छु । विस्थापित भएको औद्योगिक क्षेत्र स्थापित गर्ने योजना मसँग छ । योजनाअनुसारको काम गरेर विराटनलाई समृद्ध र मुलुककै दोस्रो ठूलो सहर बनाइनेछ । म सपनामा विश्वास गर्दिनँ, विपनामै विश्वास छ । अहिले विराटनगरका बाटो हिलोधुलो छ ।

साधन र स्रोतको सदुपयोग हुन सकेको छैन । सरकारी र निजी शिक्षामा ठूलो विभेद छ । स्वास्थ्य सेवाको नाममा गरिबलाई झन् गरिब बनाउने काम भइरहेको छ । औद्योगिक क्षेत्रका रूपमा चिनिएको विराटनगरमा घरघरमा रोजगारी सिर्जना गर्दै सुकुमबासीमुक्त सहर बनाइनेछ । मसँग कुनै काल्पनिक योजना छैन । विराटनगरको पार्किङ समस्याको समाधान गर्दै सक्षम, शक्तिशाली र विकासशील विराटनगर बनाउने योजना छ । औद्योगिक कोरिडोर बनाउन सहयोग गर्ने, क्षेत्रीय विमानस्थल बनाउने हाम्रो पार्टीको योजना छ । यहीअनुसारको प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
उमेश यादव, मेयर, समाजवादी फोरम

नयाँ पुस्ताले नालीका कुरा गर्नु नपरोस

विराटनगर बहुभाषिक एवं बहुसांस्कृतिक सहर हो । यहाँ सबै दलको समान हैसियत छ । स्थानीय निर्वाचनमा हाम्रो पार्टीको पहिलो सहभागिता हो । पुराना पार्टीले काम गर्न सकेनन् । त्यही भएर स्थानीय चुनावमा नयाँ पार्टीका रूपमा हामी आएका छौं । संघीयता, समावेशिता, धर्मनिरपेक्षता र मत मिल्ने परिवर्तनकारी शक्तिबीच तालमेल भएको छ । पुराना पार्टीको रवैया तोड्न हाम्रो तालमेल हो । बीसदेखि २५ प्रतिशतसम्म जनसंख्या विराटनगरमा अशिक्षित छ । मनोविज्ञान दुई भागमा विभाजित छ । अबको दस वर्षभित्रमा पूर्वाधार निर्माण गरेर साक्षर विराटनगर बनाउने योजना छ ।

औद्योगिक नगरीको साख जोगाउने योजना छ । हामीले आकाशको तारा झार्छौं भनेका छैनौं । साइकल कुद्नेसम्मको सडक, ढल र कल्भर्ट बन्नैपर्छ, हाम्रो तर्क हो । सुशासन र भ्रष्टाचारमुक्त समाज महत्वपूर्ण छ । सामाजिक न्यायसहितको शिक्षा र विकास विराटनगरको चाहना पनि हो । पिछडिएका बस्ती र समुदायलाई विकासमा लग्ने हाम्रो योजना छ । विगत तीन महिनादेखि म मतदाताको घरघरमा पुगिरहेकी छु । उनीहरूले विकास नै खोजेका छन्, अरू होइन । स्थानीय रूपमा चिनिएका जनप्रतिनिधि चाहेका छन् । हाम्रो पार्टीको घोषणापत्रमा अब नाली निर्माण र ड्रेनको कुरा नयाँ पुस्ताले सुन्नु नपरोस् भनेर उल्लेख गरेका छौं । नयाँ पुस्तालाई अब हामीलाई जस्तो दु:ख हुनुहुन्न । अब नाली र ड्रेनका कुरामात्र नगरेर धेरै ठूलो विकासमा अघि बढ्ने हाम्रो योजना छ ।
नमिता न्यौपाने, उपमेयर, माओवादी केन्द्र

पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्छु

म समाजसेवी नेत्री हुँ । सक्षम नेतृत्व अबको विराटनगरको चाहना हो । प्रदेश नं १ र यसको मुटु विराटनगरले खोजेको छ । पूर्वाधार निर्माण र भ्रष्टाचार नियन्त्रण मेरो दलको एजेन्डा हो । विराटनगर हराभरा एवं सुन्दर बनाउनुपर्छ । तीन महिनाभित्र कालोपत्रे गरिसक्छु भन्दिनँ । म बीस वर्षदेखि समाजका विभिन्न क्षेत्रसँग जोडिएकी छु । बालबालिका र वृद्धवृद्धाको पीडा छ । नगरभित्रकै सीमान्तकृत र पिछडिएको क्षेत्र शिक्षाबाट वञ्चित छ । यसको एउटा उदाहरण यहाँका मुसहर बालबालिका पनि हुन् । उनीहरूलाई विद्यालयसम्म लैजाने र बीचैमा पढाइ छाड्ने प्रवृत्तिको अन्त्य गर्नु मेरो प्राथमिकता हो । भ्रष्टाचार र चुहावट रोक्न नसक्दा प्रभावकारी रूपमा विकास अघि बढ्न सकेको छैन । नयाँ बनेका सडक किन तीन महिनामा भत्किन्छन् भन्ने मेरो प्रश्न हो ? सक्षम एवं भ्रष्टाचारमुक्त सुन्दर विराटनगर बनाउने मेरो योजना छ । कर तिर्ने जनताले विकासमा सहभागिता महसुस गर्न सक्नुपर्छ । आदिवासी समुदायको प्रतिनिधित्व गरेकी म ती सबै सीमान्कृत तथा पिछडिएको क्षेत्रको प्रतिनिधि पनि हुँ ।
सूची चौधरी, उपमेयर, नेपाल लोकतान्त्रिक फोरम

दुई दसकदेखि विकास शून्य छ

विगतदेखि उद्योगी-व्यवसायीले आर्थिक मुद्दा उठाइरहेका छन् । दुई दसकदेखि विकास शून्य छ । स्थानीय निर्वाचनबाट चुनिएर आएकाले निजीक्षेत्रलाई सहयोग गर्दै विकासलाई अघि बढाउनुपर्छ । यहाँ औद्योगिक कोरिडोरको इज्जत नै छैन । रिङरोड विगत दुई दसकदेखि अलपत्र छ । अब विशेष आर्थिक क्षेत्र निर्माणमा जनप्रतिनिधिले चासो दिनुपर्छ । भारतलाई चीनसँग जोड्ने जोगबनी किमाथांका सडक, क्षेत्रीय विमानस्थल र आर्थिक उन्नयन यहाँका आधारस्तम्भ हुन् । यसले नै विराटनगरलाई नयाँ ढंगबाट समृद्ध बनाउन सक्छ र विकासका लागि स्रोत जुटाउने आधार तय हुन्छ । जनप्रतिनिधिले यसमा चासो दिनुपर्छ । अबको नेतृत्वले राजनीतिक र आर्थिक इतिहास बोकेको विराटनगरलाई नयाँ पहिचान दिलाउनुपर्छ । उद्योग क्षेत्रले रोजगारी दिएको छ । यही क्षेत्रलाई मात्र व्यवस्थित रूपमा विकास गर्न सके विराटनगरले ठूलो फड्को मार्न सक्छ ।
पवनकुमार शारडा, सांसद, अध्यक्ष, मोरङ व्यापार संघ

सेज निर्माणको जिम्मा जनप्रतिनिधिलाई

लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनसरोकारका विषय कर्मचारी र उद्योगी व्यवसायीसँग ठोकिन्थे । ढलनाला निर्माणले मात्र यहाँको विकास हुँदैन । औद्योगिक ग्राम बनाइनुपर्छ । मेट्रोसिटी अबको प्रस्थान बिन्दु हो । पहिलो स्थानमा रहेको यो औद्योगिक नगर अहिले पछि पर्दै गएको छ । सरकारले पछिल्लो समय विराटनगरलाई ध्यान नदिएझैं लाग्छ । विशेष आर्थिक क्षेत्र (सेज)का लागि सरकारले जग्गा हेरिसकेको अवस्थामा अब यसको निर्माणमा ढिलाइ गर्नुहुन्न । जनप्रतिनिधिले यसको निर्माणमा चासो लिनुपर्छ । उद्योग क्षेत्रमा आगलागी हुँदा आधुनिक दमकलसमेत नहुँदा ठूलो समस्या छ । विकासलाई अघि बढाउन सबैबीच सहकार्य जरुरी छ । विराटनगर नगरभित्रका खाली सरकारी जग्गालाई व्यापारिक कम्प्लेक्सभन्दा पनि गार्डेनका रूपमा विकास गरिनुपर्छ । विराटनगरलाई बन्दमुक्त क्षेत्र घोषणा गरिनुपर्छ । यसको कार्यान्वयनका लागि सबैले चासो दिन जरुरी छ ।मुकेश उपाध्याय, अध्यक्ष, उद्योग संगठन मोरङ

जनप्रतिनिधि इमानदार हुनुपर्छ

जनप्रतिनिधिमा इमानदारी, नैतिकता र स्वाभिमान हुनुपर्छ । महानगरको अनुभूति गर्ने सुविधा दिइनुपर्छ । निष्ठापूर्वक काम गर्ने जनप्रतिनिधि विराटनगरले खोजेको छ । यहाँको प्रतिष्ठा जोगाउन प्रदेशको राजधानी यही ठाउँलाई बनाउनुपर्छ । विराटनगर विकासका लागि गुरुयोजना नै बनेको छैन । अव्यवस्थित बसोवास यहाँको समस्या हो । रिङरोड लथालिंग छ । जनप्रतिनिधिसँग जनताले ठूलो अपेक्षा राखेका छन् । त्यो पूरा गर्न सक्नु जनप्रतिनिधिका लागि पनि चुनौती छ । आफ्नो प्रतिष्ठा कायम गर्न विराटनगरलाई समृद्ध र प्रधान नगर बनाउन जनप्रतिनिधिले मुख्य भूमिका निर्वाह गर्नुपर्छ । विराटनगरबाट ट्रान्जिट लिएर अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्ने गरी विमानस्थलको पूर्वाधार विकास गरिनुपर्छ । यहाँबाट ट्रान्जिट उडान गर्न सके खाडी मुलुक पुग्ने युवालाई सहज हुने थियो ।
रामबाबु दाहाल, नागरिक समाजका अगुवा

उपभोक्ता अधिकार जनप्रनिधिको काँधमा

सेवाप्रदायकका नाममा विराटनगरमा पनि उपभोक्ता ठगिने क्रम बढेको छ । विद्युत्, खानेपानी र टेलिफोनबाट पनि उपभोक्ता ठगिएका छन् । उपभोक्ता अधिकार रक्षा गर्ने जनप्रतिनिधि जनताले चाहेका छन् । कानुनमा व्यवस्था भएअनुसार जनता ठग्नेलाई कारबाही हुनुपर्छ । अब जनतामाझबाट चुनिएर जाने प्रतिनिधिले उपभोक्ता अधिकारलाई केन्द्रमा राखेर आफ्नो रणनीति र योजना अघि सार्नुपर्छ । विराटनगरमा व्यवस्थित वधशाला व्यवस्थापन गरिनुपर्छ । उपभोक्तालाई प्रत्यक्ष असर पुग्ने गतिविधि हुनुहुँदैन । उपभोक्ता अधिकारको विषयमा सरकारले नयाँ कार्यविधि संसदमा पेस गरेको छ । यसलाई व्यवहारत: कानुनको रूप दिएपछि कार्यान्वयनमा ठोस कदम चाल्नुपर्छ । बजार नियमित अनुगमन हुनुपर्छ, खाद्यान्न परीक्षणको व्यवस्था गर्न महानगरले चासो दिनुपर्छ । अब उपभोक्ता अधिकार संरक्षण गर्ने जिम्मा जनप्रतिनिधिले आफ्नै काँधमा उठाउनुपर्छ।
कृष्ण भण्डारी
उपाध्यक्ष, 'मार्सेली', उपभोक्ता हित संरक्षण मञ्च

युवाका साथमा विकास सम्भव छ

युवा परिवर्तनका संवाहक हुन् । तर तिनै युवा विदेसिएका छन् । युवालाई साथ लिएर अघि बढे विराटनगरको विकास सम्भव छ । अहिले स्थानीय तह नेतृत्व चुन्ने क्रममा छ । मतदाता आफ्नो अधिकारका लागि मत हाल्न आतुर छन् । तर कस्तो उम्मेदवार छान्ने भन्ने हाम्रो प्रमुख चासो पनि हो । हाम्राभन्दा पनि राम्रा उम्मेदवारलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । जनप्रतिनिधि नहुँदा विकासमा निकै पछौटेपन भोगेको विराटनगर अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था आएको छ । रेमिट्यान्सको मात्र अपेक्षा गर्नुको साटो युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी स्थानीय रूपमै अड्याउन सक्ने योजना जनप्रतिनिधिले ल्याउनुपर्छ । यसका लागि स्थानीय तहका आर्थिक गतिविधि र आर्जनका कार्यक्रम सञ्चालन गरिनुपर्छ, जसले आर्थिक रूपमा टेवा पुगोस् । आर्थिक एजेन्डामा जनप्रतिनिधि चनाखो हुनुपर्छ ।
मिलन पौडेल, अध्यक्ष विराटनगर जेसिज

राजनीतिक नेतृत्वमा इच्छाशक्ति अभाव

राजनीतिक नेतृत्वमा इच्छाशक्तिको अभावका कारण विराटनगरले दुर्दशा भोग्नुपरिरहेको छ । राजनीतिक नेतृत्वकै कारण समृद्धि एवं आर्थिक उन्नयनमा पछि परेको हो । दलका प्रतिबद्धता हेर्दा विकासलाई जबर्जस्त व्याख्या गरिएको पाइन्छ । दलित बालबालिका अहिले पनि नगरभित्रै पढाइबाट वञ्चित छन् । अहिले पनि विराटनगरभित्रकै बासिन्दाले मेरो राज्य हो भनेर अनुभूति गर्न पाएको अवस्था छैन । यहाँको समृद्धिसँगै मानवीय एवं चेतनाको विकास पनि सँगै लैजानुपर्छ । विकासलाई केन्द्रमा राख्दै अब नयाँ विराटनगरको कल्पना नै नगरवासीको चाहना हो ।
उमेश विश्वकर्मा, मानव अधिकारकर्मी
प्रस्तुति : कुमार लुइँटेल/किशोर बुढाथोकी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.