मोरङमा कांग्रेस उम्मेदवारको निधन
विराटनगर : मोरङको लेटाङ नगरपालिकाका कांग्रेस वडा सदस्य उम्मेदवार मात्रिकाप्रसाद भण्डारीको बिहीबार बिहान निधन भएको छ । कांग्रेसका अनुसार वडा नम्बर ६ मा खुल्ला सदस्यका उम्मेदवार रहनु भएका ५६ वर्षीय भण्डारी लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको बिहीबार विहान ११ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
चुनावी अभियान र घरदैलोमा हिंड्ने क्रममा भण्डारी चार÷पाँच दिनदेखि बिरामी पर्नु भएको थियो । बिरामी परेका भण्डारी झापाको दमकबाट उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको कांग्रेसका सोही वडाअध्यक्षका उम्मेदवार जंग तामाङले जानकारी दिनुभयो । २०४६ सालदेखि नै नेपाली कांग्रेसमा सक्रीय भण्डारीसामाजिक संघ संस्थामा आवद्ध हुनुहन्थ्यो ।
उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेलले उम्मेदवारको निधन भएमा सोही वडा र सोही पदका लागि पुनः मनोनयन दर्ता गर्न सकिने व्यवस्था रहेको बताउनुभयो ।