नेपाली राजनीतिमा इमानको खडेरी: प्रचण्ड
बर्दिया : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा इमानको खडेरी रहेको बताउनु भएको छ। बर्दियाको बाह्रबर्दिया नगरपालिका अन्र्तगत मगरागाडीको जयनगर बजारमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो।
सत्ता लिप्साको खेलमा रहने नेपाली राजनीतिमा आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिई सहज रुपमा सत्ता हस्तान्तरण गर्ने संस्कारको सुरुवात गरेको बताउँदै उहाँले भन्नुभयो, ‘दश महिना प्रधानमन्त्रीका रुपमा रहँदा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न धेरै संघर्ष र जटिलता आइपर्यो। तर नेपाली राजनीतिमा अहिले पनि इमानको ठूलो खडेरी छ।’
दोश्रो चरणको निर्वाचन सम्पन्न भइसकेपछि तेश्रो चरणको निर्वाचन पनि सुनिश्चित हुनेमा उहाँले विश्वास दिलाउनुभयो। स्थानीय तहको निर्वाचनले तराई, मधेस र पहाडलाई एक बनाएको उहाँको भनाइ छ। आफू सत्तासिन हुँदा स्थानीय तह निर्वाचनको वातावरण बनाउन लागेपनि छिमेकी चीन र भारतसँगको सम्बन्ध सुदृढ पार्दै नेपालको विकास लगायत पुर्ननिर्माण सम्बन्धमा ठूलो उपलब्धी हासिल गरेको उहाँको दाबी थियो।
लोडसेडिङ अन्त्य गर्न आफूले गरेको पहल स्मरण गराउँदै सवै लागे १÷२ बर्षमै प्रचुर जलविद्युत उत्पादन गरी वेच्न सकिन्छ। उहाँले थप्नुभयो, ‘म प्रधानमन्त्री भएपछि विगत २५ वर्षमा नभएको नेपालको आर्थिक वृद्धि दर ७ प्रतिशत भन्दा धेरै पुगेको छ।’
बर्दिया जिल्ला द्वन्दकालमा देशकै सबैन्दा बढी व्यक्ति वेपत्ता तथा अपाङ्ग भएको जिल्ला रहेकाले नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा अग्र स्थानमा रहेको उहाँको भनाइ छ । बर्दियाले जनयुद्धमा गरेको त्याग र तपस्या प्रति कृतज्ञता प्रकट गर्दै माओवादी केन्द्र पार्टी एकता गर्दै अघि बढेको जानकारी गराउनुभयो।
आमसभामा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पोलिट व्युरो इन्चार्ज तिलक शर्मालगायत प्रदेश र जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।