कोहली थप विवादित, फाइनल खेलमै उल्ट्याएका थिए प्रशिक्षकको निर्णय
एजेन्सीः आफूलाई क्रिकेटको बादशाहको रुपमा अर्थ्याउने भारतमा क्रिकेटको हारजितलाई ठूलै मुद्दा बनाइने चलन छ । भारतको चीर प्रतिद्वन्दीको रुपमा चिनिने पाकिस्तानसँग च्याम्पियन्स ट्रफीको फाइनलमा लज्जास्पद हार बेहोरेपछि यति बेला भारतीय टिमका कप्तान विराट कोहलीको चर्को आलोचना भइरहेको छ । हालै प्रशिक्षक र विराटको मतभेद सार्वजनिक भएपछि विराटमाथि एकपछि अर्को आरोप लाग्न थालेको छ ।
फाइनल खेलमा विराट कोहलीले प्रशिक्षक र टोलीको निर्णय नमानी आफू खुसी निर्णय लिएको बताइएको छ । उक्त खेलमा भारतले टस जितेर बलिङ रोजेको थियो । फाइनलमा जानुअघि भएको टोलीको मिटिङमा आफूले टस जिते व्याटिङ रोज्ने सहमति भएको थियो । विराट कोहलीले प्रशिक्षक र टोलीको निर्णय नमानी आफूखुसी बलिङ रोज्ने निर्णय गरेका थिए । विराटले आफ्नो निर्णय विरुद्ध आफूखुसी बलिङ रोजेपछि यसबारे प्रशिक्षक अनिल कुम्बलेले ड्रेसिङ रुममा प्रश्न गर्दा विराटले कुरा अन्तै मोडेर टारेको बताइएको छ ।
उनको यस्तो निर्णयप्रति टोलीका अन्य सदस्य पनि निकै असन्तुष्ट भएका थिए । मिटिङमा पहिले व्याटिङ गरी ठूलो स्कोर खडा गर्न सकेको खण्डमा पाकिस्तानका व्याट्सम्याहरु कमजोर भएकाले उनीहरूले उच्च स्कोरको दवावमा खेल्न नसक्ने आँकलन गरिएको थियो । त्यसैले टस जिते पहिले व्याटिङ गर्ने निर्णय भएको थियो ।
समूह चरणको खेलमा टस हारी पहिले व्याटिङ गरेको भारतले ३१९ रन बनाएको थियो । उक्त रन पछ्याउँने क्रममा पाकिस्तानले कमजोर प्रदर्शन गर्दा १२४ रनको हार व्यहोरेको थियो । यसैका आधारमा फाइनलमा टस जिते पहिले व्याटिङ गर्ने निर्णय भएको थियो । विराट कोहलीले सुरुमै खेलको रणनीति भत्काएका कारण माहौल विग्रेको र यति ठूलो हार व्यहोर्नु परेको भन्दै कोहलीको व्यापक आलोचना भइरहेको छ । भारतीय टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले राजीनामा समेत दिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआइए) ले भारतीय टोलीका प्रशासनिक मेनेजर कपिल मल्होत्रालार्इ प्रशिक्षक कुम्बले र कप्तान कोहली बीचको विवादबारे विस्तृत रिपोर्ट पेस गर्न निर्दशन दिएको छ ।