मधेसमा विखण्डनकारी शक्ति सक्रिय भए : कमल थापा
गाईघाट: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई टुक्राउन खोज्ने तत्व मधेसमा अझै सक्रिय रहेको बताउनु भएको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गरी राप्रपा उदयपरले बिहीबार सदरमुकाम गाईघाटमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले विखण्डनकारी शक्तिलाई संयोजन गर्न नसके राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकता माथि नै खतरा हुने दावी गर्नुभयो ।
‘बिखण्डनकारी तत्वहरु झिल्कोसरी फैलदै गएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘त्यसलाई बेलैमा समाधान नगर्ने हो भने मुलुक विखण्डन हुने निश्चित छ ।’ थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा गलत नीति अवलम्बन गरिएका कारण नेपालमा वाह्य शक्तिको चलखेल, प्रभाव र हस्तक्षेप इतिहासमै अहिले सबैभन्दा बढी भएको बताउनुभयो ।
उहाँले एउटा विदेशी राजदुतले समग्र नेपाली राजनीतिलाई प्रभाव पार्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘वर्तमान समयमा सबै नेपालीले आफुलाई काँग्रेस, एमाले, माओबादी, राप्रपाभन्दा माथि राखेर आमनेपाली हौ भन्ने भावना, सदभाव र एकता कायम राख्न जरुरी छ ।’
अध्यक्ष थापाले केही दलको सिण्डिकेटका कारण परिवर्तनहरु संस्थागत हुन नसकेको बताउनु भयो ।