निर्वाचनमा खटिएका सुरक्षाकर्मीद्वारा उम्मेदवारलाई धम्की
डोटी : स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारलाई धम्काउने सुरक्षाकर्मीका कमाण्डरहरु फिर्ता भएका छन् । डोटीको बड्डीकेदार गाउँपालिकामा स्थानीय निर्वाचनको लागि सुरक्षार्थ खटिएका नेपाली सेनाका क्याप्टेन ध्रुब बहादुर राणा र शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक धन सिंह महरा फिर्ता भएका हुन् ।
उनिहरुले माओवादी केन्द्रबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जंग बिक ‘शैलेन्द्र’ लाई धम्काएका थिए । मंगरबार साँझ नेपाली सेनाका क्याप्टेन राणा र शसस्त्र प्रहरी बलका प्रहरी निरीक्षक महराले उम्मेदवार जंग बिक ‘शैलेन्द्र’ लाई भेटेर धम्की दिएका हुन् । सो क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले अति सम्बेदनशील क्षेत्र मानिएको छ ।
मंगलबार राति साबिकको बर्छैन गाविसमा रहेको राजु गेष्ट हाउसमा बसिरहेका उम्मेदवार शैलेन्दलाई सोही होटलमा धम्काएको हो । ‘म गेष्ट हाउसमा बसिरहेको थिए, सेना र सशस्त्र प्रहरीका कमाण्डरहरुले सोही गेष्ट हाउसको माथिल्लो तलामा बोलाए,’ अध्यक्षका उम्मेदवार बिकले भन्नुभयो, ‘अन्य सिपाहीहरुलाई पनि बोलाएर सबैको सामुन्नेमा मलाई धम्काए ।’
पटक–पटक उनीहरुले होच्याउँदै कुरा गरेको बिकले बताउनुभयो । जनयुद्धकालमा आफुले धेरै माओवादी मारेको प्रसंग निकाल्दै अहिले पनि चाहे त्यस्तै गर्न सक्ने धम्की दिएको विकको भनाई छ । सेनाका क्याप्टेन र शसस्त्र प्रहरी निरीक्षकले दिएको धम्की योजनाबद्ध भएकाले माओवादीले यसलाई गम्भीर रुपमा लिएको उहाँले बताउनुभयो ।
शसस्त्र प्रहरी बलबाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दिपक कुँवरले आफुलाई उक्त घटनाका बारेमा प्रारम्भिक जानकारी प्राप्त भएको र अनुसन्धानका लागि डिएसपी केशब प्याकुरेलको नेतृत्वमा टोली खटिएको जानकारी दिनुभयो । ‘घटना भएको हामीलाई पनि जानकारी प्राप्त भएको छ, सत्य तथ्य बुझ्न र छानविनका लागी डिएसपी सापको नेतृत्वमा बडिमालिका गण अत्तरिया, कैलालीबाट टोली आईसकेको छ’ उहाँले भन्नुभयो, ‘पहिलेको सशस्त्र प्रहरी निरीक्षकको ठाउँमा अर्का सशस्त्र प्रहरी निरीक्षक शंकरदत्त तिवारीलाई पठाइसकिएको छ ।’
सो गाउँपालिकामा खटाइएका निर्वाचन अधिकृत धनराज शर्माले धम्की दिने भनिएका दुबै सुरक्षा निकायका अधिकृतहरु फिर्ता भएर अर्का अधिकृत आईसकेको बताउनु भयो ।
उक्त घटनाले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा आशंका रहेको माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्टले बताउनु भयो । भट्टले भन्नुभयो, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारवाही हुनुपर्छ ।’ निर्वाचनको सुरक्षार्थ खटिएका सुरक्षा अधिकृतले माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवारलाई धम्कि दिएपछि चुनाबी प्रचारप्रसारमा संलग्न माओबादी कार्यकर्ताहरु अहिले आक्रोशित भएका छन् ।