थारु र पहाडी बीचको एकता अटुट हुनुपर्छ : प्रचण्ड
धनगढी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकासका लागि थारु र पहाडी समुदाय बीचको एकता अटुट हुनुपर्ने बताउनु भएको छ। बिहीबार टीकापुरमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो।
‘टीकापुरमा प्रतिक्रियावादीले साम्प्रदायिकता फैलाउने कुचेष्टा गरे,’ उहाँले भन्नुभयो। ‘अब प्रदेश नम्बर ७ को समृद्धि र विकासका लागि थारु र पहाडी समुदायबीचको एकता आवश्यक छ।’
‘मेरै नेतृत्वमा टीकापुर घटनामा सम्पत्ती क्षति भएकालेलाई क्षतिपूर्ति दिने निर्णय भएको हो,’ प्रचण्डले भन्नुभयो। अहिले जनताले आफ्नो अधिकार संस्थागत गर्ने बेला आएकाले गणतन्त्र संस्थागत गर्ने पार्टीलाई जिताउन आह्वान पनि गर्नुभयो।
अध्यक्ष दाहालले राजनीतिमा आफुले इमान्दारिता देखाएको दाबी गर्नुभयो। केपी ओलीले राजनीतिमा इमान्दारिता देखाउन नसकेकै कारण एमाले संगको समीकरण टुटेको प्रसंग उल्लेख गर्दै दाहालले आफूले राजीनामा दिएर राजनीतिक इमान्दारिता देखाएको दाबी गर्नुभयो।
प्रचण्डले आफूले १० महिने कार्यकालमा उत्तरी छिमेकी चीन र भारतसँग समदुरी कायम गर्दै दुबै देशसँगको सम्बन्ध सुधार गरेको दाबी गर्नु भएको छ।