नितिश कुमार र आदित्यनाथ नेपाल आउन इच्छुक
काठमाडौं : बिहारका मुख्यमन्त्री नितिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसंग हालै भएका भिन्दा-भिन्दै भेटमा कुमार र योगीले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। भारतका यी दुई नेताको भ्रमणको यकिन मिति चाहिँ तय भइसकेको छैन।
भारतीय विदेश मन्त्रालयमार्फत् उहाँहरुको भ्रमणबारे टुंगो लाग्ने दूतावासका अधिकारीहरुले बताए। ‘कुमार र योगीको भ्रमण जुनकुनै समयमा गराउन नेपाल तयार रहेको राजदूत उपाध्यायले उहाँहरुलाई बताउनुभएको छ। कुटनीतिक च्यानलबाट यसबारे टुंगो लाग्ला’, दूतावासका एक अधिकारीले अन्नपूर्णसंग भन्नुभयो। कुमार र योगीले राजदूत उपाध्यायसंग नेपालसंगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताउनुभएको थियो।
आदित्यनाथले नेपाल राजतन्त्र सहितको हिन्दू राज्य बन्नुपर्ने अभिव्यक्ति विगतमा दिनुभएको थियो। उहाँले वाराणसी र नेपालको जनकपुर जोडेर हिन्दू सर्किट निर्माण गर्न समेत लविङ् गर्नुभएको थियो। बिहार र उत्तर प्रदेश नेपालसंग सीमा जोडिएका उत्तरी भारतीय राज्य हुन्।