टिकट नपाएपछि तीर्थालु  अलपत्र

 टिकट नपाएपछि तीर्थालु  अलपत्र

सिमकोट : मौसम परिवर्तनका कारण जहाज नचलेपछि कैलाश दर्शन गर्न गएका सयौं भारतीय तीर्थयात्रु सिमकोटमा अलपत्र परेका छन् । मनसुन सक्रिय भएसँगै सिमकोटमा वर्षा भएपछि नेपालगन्ज सुर्खेतदेखि हरेक दिन ३५ भन्दा बढी उडान भर्ने विमान कम्पनीले हाल प्रतिदिन ४/५ उडान मात्रै भर्न थालेपछि भारतीय तीर्थयात्रु सिमकोटमा अलपत्र परेका हुन् ।

निश्चित समय लिएर आएका भारतीय तीर्थयात्रुले समयमै हुम्लाबाट उड्न नपाएपछि आफूले नियमित खाने औषधिसमेत सकिएको र खर्च गर्ने रकम पनि सकिएपछि थप समस्यामा परेको भारतको गुजरातका अनिल कुमारले जानकारी दिनुभयो । ४६ जनाको टोलीमा कैलाश दर्शन गरेका अनिलले अन्नर्पूणसँग भन्नुभयो, ‘हामी कैलाश दर्शन गरेर आएको चार दिन भयो तर उडान नभएको भन्दै हामीलाई हवाई टिक नदिँदा हाम्रो समूहमा भएका ६० वर्षमाथिका ४० जनालाई स्वास्थ्य समस्या आएको छ ।' आफ्ना समूहका अधिकांश तीर्थालु पाको उमेरका भएको र औषधिसमेत सकिएपछि थप समस्या परेको उहाँले जानकारी दिनुभयो । बिरामी तीर्थयात्रुले प्रयोग गर्ने औषधि सिमकोटका स्थानीय मेडिकल पसलमा नपाइनाले बिरामी महिला डाको छाडेरै रुन थालेको उहाँले जानकारी दिनुभयो ।

चीनको कैलाश मानसरोवरको दर्शन गरेर सयौंको संख्यामा भारतीय तीर्थ यात्रु सिमकोट विमानस्थलमा आए पनि नेपालगन्ज र सुर्खेत झर्ने हवाई टिकट नपाएपछि विमानस्थलमा रोइकराइ गरिरहेको सिमकोट विमानस्थलका प्रमुख भीमदत्त पन्तले जानकारी दिनुभयो । गएको साता मौसम सफा भएको बेला विभिन्न कम्पनीका १० वटा हवाई जहाजले दैनिक तीन दर्जन बढी उडान गर्दा समस्या नभए पनि अहिले मौसमका कारण थोरै उडान भएपछि भारतीय यात्रुलाई समस्या भएको पन्तले बताउनुभयो ।

कैलाश दर्शन गरेर फर्किएका यात्रु गएको चार दिनदेखि हवाई टिकट नपाएर हुम्लामा अलपत्र परेका छन् ।

गएको चार दिनदेखि राम्रोसँग उडान नभएपछि ऋचा ट्राभल्सअन्तर्गतका ९३ जना, द ट्रेकर सोसाइटीका ४३ जना, सनी ट्राभल्सका ६५ जना, रुद्र ट्राभल्सका ३७ जना भारतीय तीर्थयात्रु सिमकोटमा रहेको बताइएको छ ।

आर्मी हेडक्वाटरको ताकेतापछि सेनाको हेलिकोप्टरबाट २३ जनाको उद्धार भएको छ । कैलाश दर्शन गरेर फर्किएका यात्रु गएको चार दिनदेखि हवाई टिकट नपाएर अलपत्र परेपछि भारतीय दूतावासको पहलमा नेपाली सेनाले सिमकोटमा भएको नयाँ भैरवी दललाई तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ । कैलाश दर्शन गरेर आएको एक समूहमा भारतको गुजरातका क्याबिनेट मन्त्रीकी श्रीमतीसमेत रहेकाले भारतीय दूतावासले टिकटका लागि नेपाली सेनाको हेडक्वाटरमा खबर गरेपछि हेडक्वाटरले ताकेता गरेको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जनाएको छ ।

भारतीय दूतावासमार्फत मन्त्रीकी श्रीमतीसहित सिमकोटमा अलपत्र परेका आफ्ना तीर्थयात्रुलाई तत्काल उद्धार गर्न नेपाल सरकारका उच्चस्तर र नेपाल आर्मीमा खबर गरेपछि सिमकोटको नयाँ भैरवी दल गुल्म, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको पहलमा २३ जनालाई नेपाली सेनाको हेलीकोप्टरमार्फत सुर्खेत लगिएको सिमकोट विमानस्थलका सूचना अधिकारी लिला श्रेष्ठले जानकारी दिनुभयो । गुरजरातका मन्त्रीकी श्रीमती भएको टोलीमा संलग्न ४६ जनामध्ये अन्यलाई भोली बिहानको पहिलो उडानमा प्राथमिकता दिने सहमति भएको तारा एयर हुम्लाकी स्टेसन प्रमुख सरस्वती लामाले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.