सरकारलाई 'सहयोग' नगरेको भन्दै निर्वाचन आयोग सचिवको सरुवा
काठमाडौं : आचारसंहिता कार्यान्वयनदेखि भरतपुरको मतपत्र च्यातिने घटनामा सत्तापक्षलाई ‘सहयोग' नगरेको भन्दै सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेको छ ।
मन्त्रीपरिषदको विहीवारको बैठकले दोस्रो चरणको निर्वाचन हुनु एक साता अघि मात्र मैनालीलाई आयोगबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरेको हो । सचिव मैनाली निर्वाचन सम्वन्धी जानकार मानिनुहुन्छ । सरकार पक्षबाट विभिन्न समयमा आयोगमा हुने हस्तक्षेप तथा भरतपुरमा मतपत्र च्यातिएपछि उक्त स्थानमा मतगणना हुनुपर्ने अडानमा सचिव मैनाली रहनुभएकाले सरकारले सरुवा गरेको आयोगका अधिकारीहरु बताउनुहुन्छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सचिव मैनालीको सरुवाका लागि सरकारले आग्रह गरेको र आयोगले सहमति दिएको जानकारी दिनुभयो । ‘सचिवको सरुवाले निर्वाचनलाई असर पर्दैन,' प्रमुख आयुक्त यादवले अन्नपूर्णसँग भन्नुभयो,‘निर्वाचन आफ्नो ट्रयाकमा अघि बढछ । उहाँको सरुवा भए पनि अर्को सचिव आउनु हुन्छ नि ।' सरकारले सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई आयोगको कामु सचिवमा पठाएको छ ।